-शम्भु खनाल
पृष्ठभूमि :
चिकित्सा पेशामा नजिकबाट अनुभव सङाल्न लागेको धेरै वर्ष बितिसक्यो । स्वास्थ्य सम्बन्धी जानकारीमा पनि धेरै परिवर्तन भएको छ । एउटा जमाना रेडियोको थियो । जसमा बि बि सि समाचार सुन्न राती पौने ९ बजे कुर्न पर्थ्यो । त्यो धुन सुन्न निकै मन पर्थ्यो । अचेल हात हातमा मोबाइल छन् । कुनै पनि समयमा मन लागेको समाग्री सुन्न र हेर्न पाइन्छ । सायद सजिलै प्राप्त हुने ज्ञान खँदिलो हुन्न रहेछ कि ।
सूचना सम्प्रेषण द्रुत गतिमा हुनु आफैमा एउटा विकासको खुड्किलो मान्न सकिन्छ । हरेक विकाससँग केही विकार पनि साथमा हुनु स्वभाविक हुन्छ। सुचना सामाग्री कतिपय प्रचार प्रसारका लागि हुन्छन् , कति केवल भियुज बढाउनको लागि हुन्छन् । थोरैमात्र ज्ञान सम्प्रेषणका उद्देश्यले हुने गर्दछन्।
अचेल स्वास्थ्य सम्बन्धी सामाग्री सामाजिक संजालमा मनग्गै भेटिने गर्छ । स्वास्थ्य सम्बन्धी सामान्य जानकारी निकै नै सरल भाषामा सूचना प्रवाह गर्नु उचित हुन्छ । उदाहरणका लागि खुट्टा सुन्निने, बिहान उठ्दा आँखा वरपर सुन्निने भएमा किड्नीको समस्या हुन सक्छ भनेको सुनेर चेकजाँच गर्न अस्पताल जानु मुनासिव नै हुन्छ । केही निर्धारित लक्षणहरु रोग पहिचानको निम्ती निकै उपयोगी हुन्छन् । तर कुनै सामान्य लक्षणलाई धेरै नै बढाइचढाइ अर्धज्ञानको कारण यु ट्युबमा जानकारी पस्किनुले धेरै व्यक्तिहरुमा डर र चिन्ताको समस्या पनि बढाइरहेको हुन्छ । आफ्नो शरीरमा के भएहोला भन्ने शंकाको घेराले व्यक्तिलाई निकै शंकालु बनाउने गर्छ ।
सामाजिक संजालमा सम्प्रेषण हुने सबै जानकारी सत्य नहुन सक्छन्। व्यक्तिले एउटा चिकित्सकसँग सल्लाह नगरी सबै जानकारी पत्याउनाले मनोरोग उत्पन्न हुनलाई समय लाग्दैन ।
लक्षणहरुको सङालोले एउटा कुनै रोगको निदान गर्न सकिन्छ । ल्याब टेस्टले त्यसको यथार्थता पुष्टि गर्न सकिन्छ । एउटै लक्षण धेरै रोगहरुसँग मेल खान्छ । जस्तो कि थकान महसुस हुने लक्षण शरीरमा रगत कम हुनु, थाइराइड हर्मोन कमी हुनु, भिटामिन डि कमी हुनु, मुटुको पम्प गर्ने शक्ति क्षीण हुनु, कलेजोको समस्या हुनु आदि देखि क्यान्सरको लक्षणसम्म हुन सक्छ । तर त्यही एउटा लक्षणलाई आधार मानेर गुगल , यु ट्युबमा खोजीनीति गर्दा सामान्य रोग भन्दा पनि जटिल रोगको बारेमा मात्रै ध्यान केन्द्रित हुने गर्दछ । स्वभावतः नकारात्मक समाचार र सूचना मस्तिष्कले छिटो समात्ने गर्दछ । र धेरै जना व्यक्तिहरु थकान हुनुलाई क्यान्सरसँग छिटो जोड्ने गर्दछन् र अनावश्यक चिन्ताको भुमरीमा फस्ने गर्दछन्। तर क्यानसरभन्दा त रक्तअल्पता बढी भेटिने समस्यामा पर्छ नि । होइन र ?
नेपाली जनमानसमा हरेक जोर्नी दुखाइ र जिउ दुखाइ युरिक एसिडले गर्दा भनेर भन्ने गरिन्छ । जटिल किसिमका बाथहरु पनि युरिक एसिड भन्दै त्यसकै औषधी प्रयोग गरेर वर्षौं बिरामीहरु बसिरहेका हुन्छन् । यस सन्दर्भमा महिलाहरु अझै बढी यो भ्रमित रोगहरुको भुमरीमा हुन्छन् । जस्तो जिउ दुखाइ पनि युरिक एसिड भन्दै दिग्भ्रमित छन् बिरामीहरु र रोगहरु पनि । साथमा त्यसको उपचार पनि उस्तै बाटो बिराएका छन् । तर धेरैलाई यो तथ्य थाह छैन कि रजस्वला भइरहेका महिलाहरुमा यो युरिक एसिडको बाथ निकै कम देखिने गर्छ ।
समाजिक सन्जालमा प्राप्त हुने जानकारीलाई विश्लेषण गरेर सही सूचना चयन गर्नु निकै कठिन हुन्छ । विगत केही वर्षहरुदेखि सबैलाई Whole body check up को रोग लागेको छ । त्यो निकै अस्पस्ट र आधार विनाको व्यापार हो । लक्षणअनुसारको ल्याब टेस्ट गर्नु र उमेर अनुसारको सामान्य चेक जाँच गर्नु पर्याप्त हुन्छ । Whole body check up को लहैलहैमा CT scan , रगत जाँच गर्न खोज्नु पैसाको बर्बादी बाहेक अरु हुन सक्दैन ।
प्रसङ्ग :
कोठा न. २०७ मेरो कर्मस्थल हो । भिड हुनु त्यो स्थानको नियती हो । बिरामी अनुशासनमा नबस्नु त्यही नियतीको पोषक हो। बिरामी एक पछि अर्को प्रवेश गर्नुहुन्छ । कहिले एक हुल बाँधेर आउनुहुन्छ ।
फ्याट्ट तेर्साउनुहुन्छ । र भन्नुहुन्छ" औषधि सार्दिनुस् न । "
म पनि जस्ताको तस्तै हुबहु औषधि सार्दिन्छु । कतै औषधि नमिलेजस्तो लाग्छ । अनि मनले नमानेर सोध्छु " कुनै औषधि छुट्यो कि ? के रोगको लागि औषधि होला ? " धेरैसँग उत्तर भने हुँदैन । पुराना कागजपत्रहरुको प्रमाण एकाधले मात्रै फाइलबद्द गरेर राख्ने गर्छन् । अरुले त कागजपत्र पनि बिर्सिन्छन् कि वास्ता गर्दैनन् । कच्याक्कुचुक नै पारेर ल्याउने गर्छन् । शरिरको लालपुर्जा कति सजिलै हराउन र बिर्सिन सकेको होला ?
Whole body check up एउटा भ्रम हो र अनावश्यक व्यापारमात्रै हो भनेर जति बुझाउन खोजेपनि पहिलेदेखि नै त्यसको अठोट र सन्कल्प गरेका बिरामीलाई बुझाउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हुन पुग्छ। सो बिरामीसँग कि त झगडा पर्छ कि आफ्नै मनको शान्ति खलबल हुन्छ । र बिरामीको मनमा कस्तो अटेरी चिकित्सक भनेर चस्को पर्छ । अब भन्नुहोस् म अटेरी डाक्टर हुने कि एकदम आँखामा राख्दा पनि नबिझाउने डाक्टर हुने ?
राज्यको स्वास्थ्य प्रणालीमा हुनुपर्ने कुरा चाहिँ सबै बिरामीको रेकर्ड हस्पिटलमा Electronic record प्रणालीमा आवद्ध हुनुपर्ने हो । जसमा व्यक्तिको परिचय नम्बर वा नाम दाखिला गर्नासाथ रेकर्ड देखिन्छ । त्यस्तो प्रणाली नभए पनि कागजपत्र त सुरक्षित राख्नुपर्ने हो । राज्यको कमजोरीको सिकार हामी चिकित्सक सधैं हुनुपर्ने हो र ?
औषधि सार्नु त ठिकै छ । एक थरी बिरामी आउँछन् ।
बस्ने टुल सार्छन् । टुचुक्क बस्छन् । अनि भट्याउन थाल्छन् - मलाई थाइराइड सुगर खोलेस्त्रेल जाँच गराइदिनु । विस्मयमा म टाउको उठाएर हेर्छु । अनि सोच्छु २०८२ को पक्का पक्की सारनदासको उपाधि भने प्राप्त गरिन्छ । कहिलेकाहीँ रिस पनि उठ्छ । आवेगमा आउँछु । केही सम्झाउने प्रयास गर्छु ।
थाइराइडको जाँच किन गर्न चाहनुहुन्छ ?
उत्तर १.: जिउ दुख्ने भएको छ । कतै थाइराइड पो हो कि
उत्तर २: टाउको दुखेको छ । कतै थाइराइडले हो कि ।
उत्तर ३: खान मन नलाग्ने, जागर नलाग्ने भएको छ । थाइराइडले हो कि भनेर ।
आदि ....
ती ल्याब टेस्टहरु नसारेर बुझाउन खोज्दा म जत्तिको अटेरी डाक्टर नै कोही छैन भन्ने प्रचार हुन्छ । हरेक लक्षणलाई थाइराइडसँग जोडेर हेर्ने गरिन्छ । एक किसिमले थाइराइडको आतंक चलिरहेको छ । कुनै समय थाइराइड चेक जाँच गर्न निकै कठिन थियो । अचेल त्यो चेक गर्ने आफ्नै डिमान्ड हुन्छ । यसको यति धेरै प्रचार प्रसार भएको छ कि सबैजनालाई थाइराइड बहेक अरु समस्या सानो लाग्ने गर्छन् । थाइराइडको टेस्ट गर्न बिरामीको स्वतस्फूर्त डिमान्डले गर्दा थाइराइडको व्यापार राम्रो फस्टाएको छ । निकै साधारण जाँचमा थाइराइडलाई लिइन्छ । त्यो जथाभावी जाँच त गरिन्छ । तर त्यो रिपोर्टलाई कसरी विश्लेषण गर्ने भन्ने ज्ञानको भने खडेरी नै छ । रिपोर्टमा कालो अक्षरले हाइलाइट गरेको रिपोर्ट देखियो भने अनेक प्रस्नहरु तेर्सिने गर्छन् । त्यसलाई सामान्य लिने र औषधि सेवन गर्नुपर्दैन भनेर भनेपनि चिकित्सकलाई नै नपत्याउने बानी देखिन्छ । र चाहार्दै हिँड्ने गर्छन् विभिन्न चिकित्सक खोज्दै ।
थाइराइडमा यति धेरै विशेषज्ञता हासिल गरेका जनतामा बिडम्बनाको कुरा के छ भन्दा पिसाब जाँच गरेर किड्नीको समस्या थाह हुन्छ भनेर चाहिँ वास्ता नै गर्दैनन् । यी सबै भ्रम र यथार्थको मिश्रण हुनुमा whole body check up भन्ने भ्रामक शब्दको खेती र ख्याति व्याप्त हुनुले गर्दा हो ।
सबैले आफूलाई मन लागेको कुरा अध्ययन गर्न मज्जाले पाँउछन् । यु टुब आदिमा बताइने रोगको लक्षण्हरुलाई मात्रै आधार मान्ने हो भने रोगको निदान हुने बाटो बिग्रिन्छ । आफ्नो लक्षणहरु प्रस्तुत गर्नुभन्दा पहिले नै टेस्टहरुको डिमान्ड गर्दा बिरामी हेर्ने चिकित्सकलाई पनि जाँगर लाग्दैन । रोग छुट्टिन पनि कठिन हुन्छ । कुनै पनि रोगको एउटै लक्षण हुँदैन । लक्षणहरुको विश्लेषणले रोगको निदान गर्न टेस्ट पठाउनु राम्रो हुन्छ । र एउटै लक्षणले कुनै पनि रोगको निष्कर्षमा पुग्नु फिटिक्कै उचित हुँदैन । थाइराइड त एउटा उदाहरणमात्रै हो । त्यस्ता अनेक उदाहरण छन् बाटो बिराएका रोग र टेस्टहरु । कुनै दिन यी सबै रोगहरु, टेस्टहरु , बिरामीहरु र चिकित्सकहरु सहि बाटोमा आउने छन् भनेर कामना गर्दै बस्नुपर्ने त होला ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)