Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रमाणपत्रप्रति समवेदना

प्रमाणपत्रप्रति समवेदना

  • 2.1K
    SHARES

  • प्रमाणपत्रप्रति समवेदना

    छविलाल विश्वकर्मा 

    ३४ सालको जाडो बिदामा घर आउन मनलाग्यो । मलगायत साथीहरू प्रकाश, महेन्द्र, वसन्त तीनैजना महेन्द्र हाइस्कुलबाट गण्डकी पुगेका थियौं । वसन्त र महेन्द्र पेमा गएका थिए । प्रकाशजी र म पुर्णछात्रवृत्तिमा गएका थियौं । सम्भवत एउटै स्कुलबाट यति धेरै विध्यार्थी गण्डकी पुग्नु अनौठो थियो । गुरु ज्ञानहरि आचार्यको सुझबुझको परिणाम थियो त्यो ।
    जाडो विदामा म घर आएको थिएँ । किरण पुस्तकालयले हरेकवर्ष राजाको जन्मोत्सवको उपलक्ष्यमा प्रतियोगितात्मक साहित्य गोष्टिको आयोजना गथ्र्यो । त्यो वर्ष पनि आयोजना गरेको सूचना पाएँ मैले ।

    मेरो मनको भित्रिभागमा एउटा बहुत पेचिलो घटनाले अघिल्लो वर्षदेखि घोचिरहेको थियो । भएको के थियो भने म गण्डकीमा जानेमा छानिएपछि कुरो एककान दुईकान मैदान भएछ । सो बेला गाउँ छोडेर बाहिर पढ्न जाने भन्नेकुरो हाम्रोसमुदायका केटाहरूलाई असम्भवप्रायः थियो । बाहुनका सन्तान त्यसमा पनि उपाध्यायका छोराहरू बनारस गएर पढ्थे । हाम्रो समुदायलाई भने भर्खर भर्खर शिक्षाको ढोका खुलेको थियो ।
    गण्डकीको लागि छानिएको भएपनि म नियमित स्कुल जान्थे । उहीँ क्लास दोहोराउन जाने हो, पढ्न नगएपनि हुनेथियो । तर साथीहरूको संगत, स्कुलको रमाइलो, किरणपुस्तकालयको लगाव आदि कारणले स्कुल गइरन्थेँ । एकदिन स्कुल जानेक्रममा गाउँका मुखिया गणेशबहादुर बस्नेतकि धर्मपत्नी झिरबासे) तथा सो समयका गुल्मेली नामुद फुटबलर दाजु ठगबहादुर बस्नेतकि आमासँग सँगै परियो । आमा बिहान खानपिन गरेर तम्घास लाग्नुहुन्थ्यो र दिनभर उतै बसेर बेलुकी घर फर्किनुहुन्थ्यो । त्यो प्रक्रिया नियमित प्रक्रिया भित्र पथ्र्यो उहाँको । सँगै यात्रा गरेपछि सोधपुछ हुने नै भयो । म कसको छोरा हुँ भन्ने कुरो उहाँलाई थाहा नहुने कुरो भएन । त्यसैगरि गण्डकीमा पढ्न जानको लागि  छानिएको कुरो उहाँको कानले नसुन्ने पनि थिएन ।
    कुरैकुरोको मेलोमा मुख्खेनीआमाले भन्नुभएक थियो–तिमोरुले पढ्यौभने गाउँका हैसा कोदाला कस्ले बनाम्च हँ केटा ? खेतीपाती गर्न कुटो, कोदालो, फाली, बन्चरो चाहिन्च । आरना बासित बसेर काम सिक । भाडा पिट्न सिक ।
    मुख्खेनी आमाको त्यही कुरोलाई तन्काएर मैले लामो कथा लेँखे र गुरु शशि पन्थीज्युको हातमा थमाइदिएँ । महेन्द्र हाइस्कुलको प्राङ्गणमा आयोजित खुल्ला प्रतियोगतात्मक कार्यक्रममा मैले बहुत धकमान्दै त्यो कथा पढें । त्यसरी विशाल पब्लिकको  अगाडि उभिएर कथा पढ्ने हिम्मत ममा कहाँबाट पलायो ? आज पनि म आफै अचम्मित हुन्छु । किनकि म माससँग बहुत डराउँछु । मलाई मासफोबिया छ भन्दा हुन्छ ।

    गोष्ठी जिल्लास्तरीय थियोे । किंकर्तव्यविमुढ नामको मेरो कथाले तेस्रो स्थान पायो । पुरस्कार वितरण समारोह विशाल जनसागरको बीचमा भएको थियो । फुटबल, भलिबल लगायत प्रतियोगिताको पुरस्कार प्रदान गर्ने बेलामै साहित्यतर्फको पुरस्कार पनि बाँडिएको थियो र मैले पुरस्कारमा थुप्रै किताब पुरस्कारस्वरुप पाएको थिएँ । पुरस्कारमा नगदनारायण थियो थिएन सम्झना छैन । तर प्रमाणपत्र भने थियो । जसलाई बोकेर जाडो बिदा सकिएपछि म गण्डकी फर्किएको थिएँ । कालान्तरमा त्यो प्रमाणपत्र बुर्जुवाशिक्षा बहिष्कारको चपेटामा प¥यो । भूमिगतकालमा मलाई खुब माया गर्ने एकजना कमरेड हुनुहुन्थ्यो स्याङ्जा नाकढुङ्गा निवासी धर्मदत्त देवकोटा । उहाँ भाकपा मालेमा काम गरेर पार्टीको निर्देशन अनुसार नेपाल आउनु भएको थियो । क. शेखर थियो उहाँको नाम । पोखरा बिन्दवासिनी मन्दिरको पछाडि एकजना गिरि थरका किसानको घरमा पार्टीले कोठा भाडा लिएको थियो । क.शेखरको बसोबास त्यहीँ हुन्थ्यो ।  मेरो राखनधरान पनि सँगै थियो । एकदिन कागजात नियाल्ने क्रममा प्रमाणपत्रको थाक हात लाग्यो । क. शेखरको दृष्टि परेछ ती प्रमाणपत्र उपर र भन्नुभएको थियो– यी सब बुर्जुवाशिक्षाका प्रमाणहरु हुन् हेमन्त कमरेड । नराक्नुस् यिनलाई ।
    टुक्रा टुक्रा पारिएको थियो दर्जन प्रमाणपत्रहरु । बास्तबमा त्यो कार्य मुर्खताको पराकाष्ठा थियो । शिक्षा शिक्षा नै हो । शिक्षा कहिल्यै बुर्जुवा हुँदैन । क्रान्तिमा लाग्नु पर्छ । तर क्रान्तिकारी पुर्ण शिक्षित हुनु त्यत्तिकै जरुरत हुँदोरहेछ ।
    समयमा चेतिएन । आज चेतेर के गर्नु ।
    ........................................................
    बाह्र वर्षमा खोलो फर्कियो
    आत्मपरक कथा किंकर्तब्यबिमुढको अर्थ गतिलोसँग आज पनि लगाउन सक्दिन । सो बेला उक्त शब्दको प्रचलन भने ब्यापक थियो । कथा पुरस्कृत भएपछि ममा साहित्यप्रतिको चाप खाँदिन थाल्यो । कोर्सबुकभन्दा बाहिरी किताब बढी पढ्न थालेँ । पढाइ खस्कियो । तर पनि पकेटमा पैसा आयोकी किताब किनिहाल्थेँ ।

    सोही समय सिन्धु नामको साहित्यिक मासिक पत्रिकाले राष्ट्रब्यापी कविता प्रतियोगिताको आयोजना ग¥यो । कविता लेखेर काठमाडौ पठाउनु पर्ने रहेछ । छानिएको खण्डमा वाचन गर्न काठमाडौ पनि जान पाइने अवसर जुर्दोरहेछ । 
    मेरो नेपाली औसतमा राम्रो थियो । सोहीकारणले नेपाली गुरु स्व. कृतिराज बरालले अलिबढी ख्याल गर्नुहुन्थ्यो । आफुले पढाउने विषयमा विध्यार्थी अब्बलहुँदा गुरुलाई खुसी लाग्ने नै भयो । गुरुले नै मसम्म खबर ल्याउनु भएको थियो– एउटो कविता लेख छवि । शीर्षक आएको छ उतैबाट । राम्रो लेखिस् भने पठाइदिन्छु ।
    होस्टले जिन्दगी भएकाले यावत दुःखबाट मुक्त थिएँ म । कसैको सहारामा पालिनुको मज्जा मैलेजस्तो कसले भोग्यो होला । अर्नी अर्कैको, खाना अर्कैको, बास अर्कैको, किताब अर्कैको, लुगाफाटा अर्कैको । त्यो अर्कैको महानताको कदर गर्न नसकेर बिग्रेको हुँ म । जे उद्देश्यले घर छोडिएको थियो, सो उद्देश्यमा अटल रहेकोभए जिन्दगीको नौका नै अर्कै हुनेथियो ।
    चारबजेको स्कुल छुट्टीपछि नीलगिरी होस्टेलमा ससाना भाइहरुको रेखदेख गर्नु पथ्र्यो । मुल होस्टेलबाट हामी चार वसन्त, महेन्द्र, रामकृष्ण पासा र म नीलगिरीमा सरेका थियौं । सरको हातबाट कविताको शीर्षक पाएपछि म होस्टेलको केही तल पहरोमा पुगेँ । पुङ्दीभुङ्दी खोलो, पश्चिम देखिने विशाल पहाडलाई नियाल्दै कविता कोर्न थाले । देशको माटोको सुवास महसुस गर्दै ।
    दुईढाई पेज कविता बसिबसि कोरेँ । सफाइ गरेँ र होस्टेल उक्लिए । तबसम्म बेलुकीको भोजनको बेला भइसकेको थियो । म होस्टेल पुग्नु घण्टी पनि बज्नु एकैसाथ भयो । भोजन गरियो । तर कविता लेखेको कुरो पासाहरुलाई सुनाइन । छनोटमा पर्ने हो होइन, सुनाएर के गर्नु ?

    अर्को दिन सो कविता नेपाली सरलाई दिएँ । भोजराज सर हेडसर हुनुहुन्थ्यो । हाल न्यु होराइजन स्कुलका प्रीन्सिपल रहनुहुने लोकनाथ उपाध्याय सरले पाँच छ क्लासलाई अंग्रेजी पढाउनु हुन्थ्यो ।
    मलाई थाहै नदिइ स्कुलले कविता काठमाडौ पठाइ दिएछ । एकाध महिनापछि एकसाथ दसबजेको रोलकलको बेला भोजराज सरले मेरो कविता हाइस्कुल स्तरमा नेपाल तेस्रो भएको घोषणा गर्नु भयो । र वाचनको लागि काठमाडौ जानुपर्ने कुरो सुनाउनु भयो ।
    काठमाडौ जाने बन्दोबस्ती सबै स्कुलले मिलाइदियो । कुनै समारोह परेर वा पर्वको मेसोमा भएको चारपाँच दिनको विदामा एकजना सिनियर डंगोल(सायद महर्जन, नाम बिर्से)थरका दाजुको साथमा मलाई काठमाडौ पठाइयो ।
    काठमाडौ पुर्याउनु भयो डंगोल दाजुले । बस्नेखाने व्यवस्थापन गर्नुभयो । कुनै मिसिनरी बस्नेगरेको कोठाजस्तो थियो त्यो । यत्रतत्र महिलाले लगाउने बस्त्रहरु झुन्डिएका थिए । मेरो पैसा खर्च भएको थिएन । सायद स्कुलले सबै जिम्मा दाजुलाई  दिएको थियो ।
    अर्को दिन कविता वाचनको लागि दरबार हाइस्कुल पु¥याउनु भयो दाजुले । साँच्चै भन्नेहो भने मसँग समारोहमा लगाएर जानेजस्ता लुगाफाटा थिएनन् । “ला छवि मेरो यो पेन्ट लगा ।“ दाजुले आफ्नो जिन्स पेन्ट लगाउन दिनुभयो । मेरोभन्दा कदकाठी ठूलो थियो डंगोल दाजुको । पेन्ट मिलेन, होलोहोलो भयो ।

    त्यो देखेर दाजुले भन्नुभएको थियो– तैंले लगाएकै पेन्ट माथि लगा छवि, ठिक्क  हुन्छ । पेन्टमाथि पेन्ट लगाएँ । जसरी तसरी मल्यिो । तैयार भएर दाजुसँगै दरबार स्कुल पुगियो । स्कुलको अफिसबाट सिन्धुको सम्पादकलाई फोन गरेँ । पहिलोपटक फोनको माउथपिस समाएर हेलो हेलो भन्दा ज्यान कामेको आजपनि सम्झना छ । 
    कविताको मुल्याङ्कन भैसकेकोले फर्मालिटी र वाचनको लागि मात्र बोलाइएको थियो मलाई । गोर्खाका देवकोटा यस्तै थरका कवि प्रथम भएका थिए । दोस्रोको त्यति सम्झना छैन । स्कुलको कोठामा कार्यक्रम थियो ।
    पुरस्कारको रूपमा एउटा प्रमाणपत्र र बजारमा पाइने सबैभन्दा सानो आकारको कप थियो । आउनेजाने, खानेबस्ने कुनै बन्दोबस्तीको रकम दिइएन । त्यतिबेला  भने मेरो मन खिन्न भएको थियो । दसबीस रुपैयाँ हातमा थमाइदिएको भएपनि त हुने ! त्यसैमा अर्को चमत्कारी घोषण गरे आयोजकले । त्यो थियो एकवर्षसम्म सिन्धु पत्रिका फ्रीमा उपलब्ध गराउने । त्यो घोषणाले भने मन प्रफुल्ल भएको थियो ।
    एकदिन जान, एकदिन कविता पढ्न, एकदिन फर्किन कुल तीन दिनमा म एकथान सिन्धु, एकथान प्रमाणपत्र र एकथान गोजीमा अटाउने कप बोकेर पोखरा स्कुल फर्केर आएँ र सिन्धु साहित्यिक पत्रिका स्कुल लाइब्रेरीमा दाखिला गरें ।
    सिन्धु पत्रीकाले आफ्नो बाचा पूरा गरेन । एकदुई अंक पत्रीका पठाएर अरु पठाएन ।
    बुर्जुवा शिक्षा बहिष्कारको चक्करमा विचरो त्यो प्रमाणपत्र पनि परेको थियो । मैले सानैबाट कविता लेख्थे भन्ने सबुत नै धुजाधुजा भएपछि दाबी गर्ने हैसियत नै रहेन अब ।

    स्कुल बिदाको कुनै दिन भाडगाउँ घर आउँदा त्यो कपलाई साथमा बोकेर ल्याएको थिएँ । जितेर ल्याएको भन्दै आमालाई पनि देखाएको थिएँ । कविता कथाका कुरा आमाले के बुझ्नु ! नाम्रै गरिचस् ठुला भनेकी थिइन् आमाले ।
    म जन्मिएको घर खोल्सोतिर थियो । मैले नमस्तेको पोजसहितको ग्राफिटी आर्ट गरेको थिएँ त्यो घरको भित्तामा । सो घर सहिसलामत हुँदासम्म कप पनि जिवित थियो । पछि पुरानो घर भत्काइछ । घर भत्काउँदा  मेरो कपको पनि देहान्त हुन पुगेछ ।
    यसरी एकातिर  प्रमाणपत्र च्यातियो, अर्को तिर कपको दफन भयो ।

    स्कुलमा सिन्धु आउन छोड्यो । साथमा रहेकोे कविता छापिएको पत्रिका गुम भयो । घर भत्काउँदा कपको दफन भयो । यिनै दुखका भारी बोकेर  म आसाम पसे । उतै बाह्र वर्ष जेनतेन गुजारे । २०५२ सालमा नेपाल फर्के । पुनः कलम चलाउन थालेँ । यति रफ्तारमा लेख्न थालेकि बुटवलमा प्रकाशित हुने सबै पत्रीकाहरुलाई कथा, कविता, संस्मरण, लेख पु¥याउन भ्याउँथेँ । लेखनले मलाई सामाजिक पहिचान दियो । बिस्तारै नयाँ बसाइ सहज बन्दै गयो ।

    बौद्धिक सर्कलमा उठबस हुनथाल्यो । दिल साहनी, कर्ण कार्की, ऋृषि भुसाल, मदन पौडेल, अर्जुन ज्ञवाली, गुरुदत्त ज्ञवाली, लेखनाथ ज्ञवाली, वसन्त पोख्रेल, बाबुराम भट्टराई लगायत  दाजुहरु र विद्वान भाइहरु गिरि श्रीस, माधव नेपाल, मोहन चापागाईं, दिपक ज्ञवाली,  विनोद पहाडीसहित पत्रकार डिआर घिमिरे, हरि लम्साल लगायत तमाम लेखनबादशाहहरुसँग उठबस जु¥यो ।
    २०४० सालमा मैले पोखरा छोडेर आसाम पसे । त्यहाँ २०४० सालदेखि २०५२ सम्म बाह्रै वर्ष  सुखदुःख का साथ अनमोल वर्ष बिताएँ ।  कहावत छ—बाह्र वर्षमा खोलो पनि फर्किन्छ । लेख्न छोडेको बाह्रै वर्ष पछि पुनः कविता, कथा लेख्न थाले । मेरो लेखन यात्राको खोलो पनि फर्कियो ।
    २०८० चैत १
    बुटवल ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology