-रमिला
सेतो कोट लगाउने रहरले बिरामीको सेवामा होम्मिएकी छन् रमिला । उनलाई बिरामीको सेवा गर्न कत्ति दु:ख लाग्दैन । रहरले भने पनि भाग्यले भने पनि स्वास्थ्य सेवाको युद्धक्षेत्रमा होम्मिएकी रमिलालाई अचेल कहिलेकाँही कुन्ठा जाग्ने गरेको छ । नजागोस पनि किन !! स्वास्थ्यसेवा हालको अवस्थामा युद्धक्षेत्र भएको छ ।
जहाँ सेवा गरेर मेवा पाउने आशा दुर्लभ त छ । सुरक्षाको प्रत्याभूती पनि कठिन छ । बिना बन्दुकका योद्धा भएर युद्ध लड्नुपरेको छ । बिना बन्दुक त युद्धमा सिपाही जाँदैनन् भने कमजोर सुरक्षा, न्यून प्रोत्साहन, अनुचित पारिश्रमिक र अत्याधिक श्रमको भार बोकाएर बिरामीको सेवामा खटाउने राज्यलाई ति सेता कोटले सालीन देखिने रमिला जस्ता कर्मशील नर्सहरुको कुण्ठित हृदयको सराप त अवस्य लाग्नुपर्छ ।
स्वास्थ्यको पेशा सदैब जोखिममा हुन्छ । त्यस्तै रमिला पनि सेतो कोट, मिठो बोली, धैर्यता र आफ्नो सीपले झिनो सुरक्षामा बिरामीको सेवामा तल्लिन छन् । ड्युटी त चक्रिय आधारमा बिहान दिउँसो राती गर्दै बित्दै जान्छन् । अस्पताल बाहिरको दुनियाँलाई त नर्सिङ भनेको अस्पतालमा सुइ लगाइदिने काम गर्छन् भन्ने लाग्छ ।
सुइ लगाउनु मात्रै काम होला र ! ड्युटी बुझ्दा बखतमा सम्पूर्ण भर्ना भएका बिरामीको अवस्था परीक्षण र उपचारका योजना जान्नुपर्ने हुन्छ । औषधी पाएको नपाएको र परिवर्तन गरिएको अर्डर आदिको हेक्का राख्नुपर्ने हुन्छ । सबै रिपोर्ट देखी औषधीको जोहो गर्ने काम हुन्छ । सम्पूर्ण भर्ना र डिस्चार्ज भएका बिरामीको रेकर्ड राख्ने देखि त्यसलाई रिपोर्ट गर्ने सम्म काम हुन्छन्। । जे होस् कामको कमी भने पक्कै छैन भन्दा अतिसयोक्ती नहोला । ।
आज किन हो धेरै भिड्भाड छ अस्पातल । शायद आइतबार परेर होला । र बन्द खुलेको भएर पनि होला। हुन सक्छ यातायातको सुबिधा गाउँ गाउँसम्म बाटो खोस्रिए लगत्तै पुगेर होला । जे होस् आईतवारले होअोस् वा यतायातले होस् ,ब्यस्त छिन् रमिला । यस्तैमा एउटा प्रसुती गराउन भनी महिला आइपुग्छिन् । उनको चेकजाँच गरिसकेपछि रेकर्ड कार्य पुन: सुरु गर्छिन् । यस्तैमा औषधी दिने समय आउँछ । वार्डमा बिरामी भरिभराउ छ ।
जम्मा जम्मी ४० जना मात्र । ति महिलाको सकेसम्म छिटो प्रसुती गराउनुपर्ने हुन्छ । किनभने स्वास्थ्यसंस्थाबाट २ घण्टा सम्म पनि पूरा बाटो खुल्दा पनि बच्चा नजन्मिएको कारण प्रेषण गरिएको रहेछ । फोन बिग्रेको पनि ४ दिन भइसकेछ । तत्पस्चात डाक्टरलाई बोलाउन सहयोगी दिदीलाई पठाउँछिन् । डाक्टर आएर जाँचेर हेर्दा अपेरेसन गर्नुपर्ने निर्णय गरी तयारी गर्न भन्छन् । उता भर्ना भएका बिरामीलाई औषधी दिन लागेकी रिमालाई पनि बोलाउँछिन् । औषधी दिंदै गरेका बिरामीलाई छोडेर गएकोमा अल्ल्मल्ल पर्छ्न् बिरामी ।
बिरामीको औषधी दिने समय १ घण्टाजतिले ढिलो हुन पुग्छ । शायद अलिकति अहम भरिएको थियो होला । त्यसैले एक घण्टा ढिलो भएकोमा आपत्ति जनाउँछन् बिरामीको कुरुवा । सिस्टरले ढिला गरेकोमा आपत्ति जनाउँदै डाक्टरसँग गुनासो गर्छन् । डाक्टरले यमर्जेन्सी काम परेर ढिला भएको भनेर बुझाउन खोज्छन् । तर शायद चित्त बुझ्दैन होला तिनीलाइ । सबैलाई एउटा नर्स र डाक्टर हरेक पल उपलब्ध हुनुपर्ने सोच ! ! तर बिडम्बनाको कुरा ।
दुई जना नर्स र ३५ -४० जना बिरामी यथार्थमा । बिरामीलाई भने आफ्नै कुरो बढी महत्वपूर्ण । सलामी पानी झुन्ड्याएको बिरामी छ भने नशाबाट रगत सोस्यो भन्दै अाइपुग्छन । सकियो भन्दै आइपुग्छन् । औषधी के होला भनेर सोध्न आउने नै भए । डाक्टर बोलाइदिन भन्दै आइपुग्छन्। सबैका आफ्नै समस्या । केन्द्रबिन्दु भनेको वार्डको स्टेसन । सेतो कोट लगाएर स्टेसनमा काम गर्न लाग्यो भने सूचना अधिकारीको काम गर्नु त पर्छ नै । फलानो बिरामी कता फलानो बेड कता । त्यसमा बिरामीको कुनै गल्ती छैन । उनिहरुलाई आफ्नै चिन्ता लागेको मात्र हो । नयाँ ठाउँका स्वाभाबिक लक्षण हुन् ।
जे होस् सूचना अधिकारी देखि सुइ लगाउने औषधी दिने सम्पूर्ण काममा निपुण छिन् रमिला। नारी मस्तिस्क एकै समयमा धेरै काम गर्न सक्ने क्षमता राख्दछ । त्यसैले होला अस्पतालका वार्डमा सुसज्जित तरिकाले बिरामीका फाइलहरु राखिएका हुन्छन् । मिलाएर राम्रो सँग राखिएका हुन्छन् । त्यही मिलाएका फाइलहरु कसैले हेरेर भताभुंग पार्दा झिँझो लाग्छ रमिलालाई कहिलेकसो ।
सेवामा संलग्न ओझेलमा परेका पात्रहरुको सानो कथा लेख्ने प्रयासमा शब्दहरु समेत मौन बसेका छन् । ईतिहास पनि मौन बसेको छ । शब्द कोर्दिनेको कमी भएको जस्तो लाग्छ मलाई । स्वास्थ्य सेवाको तुलना देशको सुरक्षा गरिरहेका आर्मिसँग मात्र गर्न सकिन्छ । सुङौली सन्धीपछि शायद आर्मिलाई खटिनुपरेको छैन युद्धमा । तर चीकित्सा क्षत्रको युद्ध मैदानमा पौराणिक कालका सुसेनदेखि आजसम्म कैयौँ चिकित्सासम्बन्धी योद्धाहरु खटिएका छन् । सुसेनलाई सुतेको खाट्सहित उठाएर लक्षमणको उपचारको लागि हनुमानले लगेका थिए ।
आजपनि हरेक समय कोही न कोही आफ्नो मिठो निद्राबाट उठेका छन् । कसैले न कसैले दसैं तिहारको टीका छोडेका छन् । कोही न कोही आफ्नो महत्वपूर्ण काम सारेका छन् । कोही न कोही हरेक समय नित्यकर्म पूरा गर्न नपाउँदै दौडेका छन् । कोही न कोही मुखमा हाल्नै लागेको गास छोडेर बिरामी बचाउन दौडेका छन् । कोही न कोही ड्युटिमा खटिएर साथीभाइसंगको रमाइलो त्यागेका छन् । र त यो स्वास्थ्य सेवा टिकेको छ । तर यो पलपल चलिरहेको स्वास्थ्यसेवामा खटिएका ज्ञात अज्ञात ब्यक्तिहरुको बारेमा न सरकारले चासो राख्छ न त जनताले ।
चासो राख्दो हो त राष्ट्रको स्वास्थ्य सेवालाई सेवाको साथै सुबिधा सहित फड्को मार्ने थियो होला । यहाँ त केबल कुर्सीमा बसेर स्वास्थ्य सेवा मुल्याङ्कन गर्नेको थिचोमिचो बड्दो छ। त्यसैले नैरास्यता छाएको छ । पलायन मनोबिज्ञान बढ्दो छ । बिडम्बनाको कुरा भन्नुपर्दा यो सबै पीडा बुझ्ने सामर्थ्य कसैले पनि राख्दैनन् । अचानाको पिडा खुकुरीले जानोस् पनि कसरी !
उही प्रतिनिधि पात्र रमिला ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)