Logo मंगलवार, श्रावण १२ गते २०८३
images

समापन परिशिष्ट : आरनदेखि आसामसम्म

समापन परिशिष्ट : आरनदेखि आसामसम्म

  • 1.6K
    SHARES

  • समापन परिशिष्ट : आरनदेखि आसामसम्म

    दीपक विश्वकर्मा(छविलाल)

    ओमदाइ बाआमाको खोजी गर्दै पुनः शिलाङ हानिए । भाउजु लामोसमय दाइलाई पर्खेर बसिन् । दाइ भाउजुलाई सम्झेर फर्केर आउन त जहाँसुकै जाओस् एक आखार लिखतपनि पठाएनन् । जीवन हो, सबैलाई जीउने अधिकार छ । फलतः भाउजुले कठोर निर्णय लिन बाध्य भइन् । त्यो निर्णय थियो अर्को घरजम । यसरी हाम्रो वंशको एउटा सदस्य हामीबाट चुडिन पुग्यो । 
    यसरी नेपाली समाजमा नाताको बिखण्डनको पीडादायक परम्परा जुगौंदेखि निरन्तर चलिआएको छ । कान्छा बुढाबाका माहिला छोरालाई देखिन मैले, तर माहिलीआमालाई भने देखेँ । उनी सधै विमार परिरहन्थिन् । बुढाबाले असल ससुराको जिम्मेवारी बहन गरेका थिए । सिंगो बिरामी ज्यानलाई डोकोमा बोकेर पाल्पा अस्पतालसम्म पु¥याउँथे र दवाइ गराएर बोकेरै घर फर्काउँथे । तम्घासबाट तानसेनसम्म हिँडेरै जानु पथ्र्यो । माहिलाबा घरमा नभएपछि छोराछोरी हुनेकुरा पनि भएन । म प्रदेश नलाग्दासम्म(पोखरा) माहिलीआँ घरमै थिइन् । पछि अर्को घरजम गरिन् वा कालगतिले बितिन् थाहा लागेन । सगोलको पाखोबारीको आयस्ता र अंशलाग्ने बिष्टहरूबाट आउने दुईचार पाथी अनाजले खान नपुग्ने कारणले पनि हुर्केका छोराहरू प्रदेश लाग्ने चलन थियो टोलमा । सो घरका जेठाबा शिलाङ पुगे र उतैका भए । माइलाबा टेके भारततिर नै बिलाए वा घरमै कालगतिले बिते थाहा लागेन ।  जेठाबा चिन्तेको सिंगो परिवार शिलाङ्गे भयो । यो पनि एक बिडम्बना नै हो । युगौंदेखि नेपाली समाजले भोग्दै आएको बिखण्डनको पीडादायी अभिषाप थियो त्यो ।   
    कान्छाबा हँसिला फुर्तिला थिए । औधी तास खेल्थे । भनिन्थ्यो बुंकेशहरूको जात हुँदैन । सुन्नमा आउँथ्यो कान्छाबा जुनसुकै जातको आँटीमा भ¥याङ्ग चढेर भएपनि उक्लिन्थे ।

    भला मझेरीबाट नगएर घरको झ्यालबाट छिरेर पो किन नहोस् । बा खलकहरूमा उनी एकमात्र पढेलेखमा गनिन्थे । उनलाई सबैले रामान(रामायण) पढेको भनेर प्रशंसा गर्थे । आरनको काम सकेर बेलुकी हातमुख धोइवोरी उनी अगेनाको डिलमा बसेर भट्टमकै र जाँडकोझोल पिउँदै दैनिकजसो रामायण पढ्थे । जब भट्याएर “एकदिन नारद सत्यलोक पुगिगया लोककोगरुँ हित्भनि” प्रथमसर्ग अलाप्थे, उनको पठनशैली सुनेर म चकित पर्थेँ । मनमनै कल्पिन्थे मैले पनि यसरी नै पढ्न कैले सकुँला ? बुढीयाँ अगेनाको पारीपट्टी बसेर आटो ओडल्थिन् । कान्छीयाँ र सुन्कलीदी मकैभट्ट खाँदै कान्छाबाले पढेको सुन्थे । बुढाबाको अगाडि बटुकोभरि जाँड हुन्थ्यो । साथमा तम्बाखु भरिएको हुँक्कापनि । हुँक्का सम्पन्नताको प्रतीक मानिथ्यो सो समय । हुँक्कामा आगो भर्न मलाई लगाउँथे बुढाबाले । रामायण सुन्ने लोभले मात्र होइन, मकैभट्ट र कहिलेकसो एकबटुको जाँड खानपाइने लोभलेपनि अक्सर म बुढाबाकाँ जान्थेँ । जेठी फुपुतिरका घरका अर्का सदस्य गोर्खेदाइ तलामा बनेको कोठामा बसेर स्कुलका किताब पढिरहेका हुन्थे । 
    एउटा कुरो नढाटी भन्नु पर्दछ । हाम्रो टोलमा उनी सबभन्दा हुने खानेमा पर्थे, बुढाघरको हाराहारीका । उरिम भरी मकै, धान, कोदो, जौंगौं छेलवेल हुन्थ्यो त्यो घरमा । पोस्करैसितको मकैको झाँतो बनाएर घरको छानाको तल लहरै झुन्ड्याएका हुन्थे । आगनमा मकैको ठूलो सूलि हुन्थ्यो । हाम्रोमा पनि अनाज जम्मा नहुने होइन । मंसीर लाग्दै छोडाएर राखेको बोराकाबोरा मकै खानीगाउँका मगर्नीहरू आएर बोकेर लैजान्थे । मगर्नीहरूले बोराकाबोरा मकै बोकेर लगेको राति बा र आबोईको बीचमा ठूलो झगडा हुन्थ्यो । म जान्नेभएपछि सो बारेमा आबोईलाई सोध्दा भन्थिन्— सप्पै रक्सी घिचेर सक्थे अन्नबाली । काँ गतिला थेर ठुल्केटा तेरा बा । घरको अन्न रक्सीखार सक्नी । अनिकाल लागेसी बेसा’र खानी । सम्पत्ति भएर के गर्नु ? त्यसलाई सहि सदुपयोग गर्न सकिएन भने जिन्दगी बेहाल हुँदोरहेछ भन्ने उदाहरण हाम्रा बा र हामै परिवार थियो ।

    हाम्रा बाले बेसाहा गर्दा कान्छाबुढाबाहरू नयाँ पुरानो अन्न मिलाएर खान्थे । गोठमा सधैभरी लैना बकेर्ना भैसी हुन्थे । एकहल गोरु गोठमा सधै बाँधिएकै हुन्थ्यो । बाउछोराको जम्को थियो, त्यो घरमा । नक्कासीसहितको २ तलेघर, पालीमा बनाइएका खोपीहरू । म सानोछँदै कल्पन्थे—हाम्रा बाले पनि यस्तै घर बनाइदे कस्तो नाम्रो हुँदो हो ? कान्छीबुढीआँ थिइन् मुठ्ठीभरकी । हैन कति सानो कदकाठी भयो होला उनको ? म जान्ने भएपछि अलिबढी जानथालेको थिएँ सो घरमा । त्यहाँ जाँदा दुइटा कुराको फाइदा हुन्थ्यो । पहिलो थियो कान्छाबाको रामायणपाठको श्रवण । दोस्रो थियो भट्टमकैको साथमा जाँडको झोलको स्वादको मेलो । बुढीआँलाई जहिल्यै अगेनाको डिलमा बसेको देखिन्थ्यो । मलाई खुब माया गर्थिन् बुढीआँले । बटुकोमा भराएर जाँड दिन्थिन् । थालमा कमैभट्ट दिन्थिन् । तर कान्छीआँलाई कान्छाबाको जुठोथालमा पातलो चाइटो आटो पस्केर दिएको देख्दा मलाई निकैनै नराम्रो लाग्थ्यो । त्यसमा पनि उनको आटो पस्किने कला देखेर सो उमेरमा पनि म चकित पर्थे ।

    पातलो पनियोले कसौडीबाट पापडजस्तो पातलो आटोको चाम्री लिकालेर कान्छाबाको जुठोथालमा थुपार्थिन् । त्यो चाम्री आटो दालतिउनमा मुछेर खाँदा एकदुई गासमै तुर्थिन् कान्छीआँ । ठूलोदारकी मान्छे, मानोले नअघाउने उमेरमा त्यो पातलो चाम्रीले कसरी अघाउँदि हुन् कान्छीआँ ? थपेको थपै गर्न पनि नहुने । खामखाम मनलिएर हात चुठेको देखिन्थ्यो । सो कुरो कान्छीआँले हाम्री आबोईसित गुनासो पोख्थिन् । बुहारीलाई मात्रै आटो पस्किदाँ सुख्खारोटीजस्तो पाप्री बनाएर निकाल्न कसले सिकायो होला बुढीयाँलाई ? धन्य हो उनको त्यो हातको सीप । आमाहरूले भोगेको त्यो नियति सदियौं पुरानो हो हाम्रो समाजमा । आजपनि दमाली दिदीबहिनीहरूसितको भेटमा कान्छीबुढियाँको आटो पस्किनेकलाको बारेमा चर्चा हुन्छ ।  
    कान्छाबाका ससुराली भुजेलखर्कका चुँदाराहरू हुन् । उनको बिहेमा म जन्त गएको कुरो आजसम्म पनि राम्ररी सम्झेको छु । पञ्चेबाजा बजाएर भएको थियो कान्छाबाको बिहे । स्कुल हापेरै जन्त गएको थिएँ म । तम्घासको गुहेखोला तरेर उकालो लागेपछि सबभन्दा पुछारको घर उनैको ससुराली घर थियो । सानोछँदा जन्त जानुको मज्जै अलग हुन्छ, खुव रमाइलो भएको पनि थियो । २०२५ सालभन्दा पहिलेको कुरो हो यो । मैले सम्झनसक्ने सबैभन्दा पुरानो कुरो भनेको नै यही होला । मलाई लाग्छ, मेरो स्मरणशक्तिको विकास पनि सोही समयबाट हुन गयो ।

    फुपुहरू जेठी, माहिली र कान्छी तीनओटी हुन् सायद । माहिली फुपुको सम्झना छैन । जेठीको बिहे माचकोटतिर भएको थियो । उनीतिरका जेठाछोरा गोर्खेदाइ मावलीमै बसेर तम्घास महेन्द्र हाइस्कूलमा पढ्थे । सायद उनले स्कूल पुरा गरेनन् । पढाइ छोडेर माचकोट घरतिरै गए । उनको बिहेमा म पनि जन्त गएको थिएँ । बल्कोटतिर उनको ससुराली हुनुपर्छ । बिवाह गरेर बेहुली भित्राएको अर्को बिहान खुट्टाको जल खानु पर्दोरहेछ । बाटोमा जुठो र अर्कोदिन दाइको गोडाको जलखाँदाको लुकामारी मैले निकैरस मानेर हेरेको थिएँ । त्यस्ता प्रकारका लुकामारीलाई कहिल्यै बिर्सन सकिँदोरहेनछ । जसरी पनि खुट्टाको पानी खानु पर्ने, भाउजुले लजाइलजाइ खाएकी थिइन् । त्यो काम किन सबैलाई देखाएर गर्नु पर्ने होला ? राति सँगैसुतेपछि बिहान उठेर कोठैमा सुरुपसुरुप जतिसुकै घुट्को खाएको भएपनि हुने हो । सबैलाई देखाएर रमाइलो बनाइदिनुपर्ने चलन थियो होला सायद सो प्रचलन । छोराछोरी हुर्केपछि त्यस्ती प्यारी भाउजुमाथि दाइले सौता थपिदिए । ती पछि ल्याइएकी भाउजुको बुटवलतिरै रहस्यमय मृत्युभयो । सो जमानाका स्कुल पढेका मान्छे हुन् गोर्खेदाइ । स्कुल पुरागरेकोभए राज्यको कुनै न कुनै क्षेत्रमा समाहित हुनसक्ने जमाना थियो त्यो बेला । बाउबाजेले गर्ने तामा, फलामको काम छोडेर सुनको काम सिकेर सुनार बने दाजै । अहिले छोराहरूले दाजुको बिँडो थामेका छन् ।

    कान्छी फुपुले लामो पोतेमा तिलहरी उनेर लाउँथिन् । उनको चेहरा बिर्सियो । तर पुसैले झारफुक गरेको आजपनि सम्झन्छु । उनी काठको काममा औधी सिपालु थिए । ससुराली घरका टुडाल र नक्कासीहरू उनैले कुँदेका हुन् । ३ इन्ची काठको फलेकमा वारपार फुलबुट्टा कुँदेर बीचबाट आरीले दुइफाँक पारेर आँखीझ्याल बनाइदो रहेछ । दक्षिण मोहोडाको दुईतले घरको चारैकुनामा राखिएका टुडाल र बीचतलाको अगाडिका झ्यालका बुट्टेदार खापाहरू उनै कान्छापुसैका हातका सिपहरू हुन् । जो आजपनि सम्झना बनेर बाँचिरहेका छन् ।  
    माहिली फुपु पनि हुन् सो घरमा । तर म सानैमा घर छोडेर हिँडेको हुनाले देखभेट पातलो भयो । फलस्वरुप सम्झनाको पेटारो पनि हराएर गयो ।  
    हाम्रो घरमा म जन्मेको तीन वर्षपछि माइली बैनी जन्मिई । सायद बोलाउने नामको अभाव भएर होला, उसलाई सबैले काली भन्थे । तर बैनी त्यती काली होइन, जसरी म नामजस्तै पुड्के होइन । हामी सबै भाइबैनाहरूको उमेरमा ३ वर्षको फरक छ । सम्झनाका तरेलीहरू पनि लगभग त्यहीँबाट शुरु हुन्छ । यहाँसम्मको काल धुलोमाटोमै बित्यो । कान्छा बुढाबाको आगनबाट ओरालो लागेर लगभग ३ मिनेटमा पुगिन्थ्यो बाहरूले काम गर्ने आरनमा ।

    नमिलेको र खोँचपरेको ठाउँलाई खनखान पारेर सम्याइएको थियो, जहाँ बसेर बा, बुढाबाहरूले भाँडाबर्तन बनाउँथे । कहिलेकाहिँ चैतबैसाखको गर्मीमा आरनमा आगो लाग्थ्यो र स्वाहा हुन्थ्यो । सेउलाको छानो भएको त्यो टहरोमा लागेको आगो निभाउन सक्ने कसको ताकत ? अहिले त आरन हरायो ।  किनकि आरनको काम गर्ने भाइहरू नै दिशापासा लागे । आरनमा तीनओटा सुँडहरू थिए । पहिलो सुँड हाम्रा बा र पल्तिर बुढाबाको थियो । बीचमा थियो बुढाघर जेठाबा र कान्छा बाहरूको सुँड । सबभन्दा छेउमा बुढाघर माहिला धने बुढाबाका छोराहरू माहिला र कान्छाबाहरूको सुँड थियो । जेठा रविलाल बा शिलाङतिर नोकरी गर्थे, उतै बसोबास थियो उनकोे । भाइखलकमा मात्रै होइन, टोलमै सबैभन्दा सुन्दर थिए रविलाल जेठाबा । उनका हुर्किएका जेठा छोरा प्रेमबहादुर पल्टनीय भइहाले । कान्छाको सानैमा मृत्यु भयो । उसलाई टाउकाको बिमार थियो । त्यहि बिमारले बित्यो भाइ । बहिनीहरू सबै शिलाङमा जन्मेका थिए । अहिले त पाका भइसके । जेठाबाकी जेठीछोरी मानकोटे ठुल्दी र भान्जाहरू यतै बुटवलतिर घरबनाएर बस्छन् । एकमात्र भान्जी लक्ष्मी भैरहवामा घरबार गरेकी छन् । ठुल्दी मेलापर्बमा मेरो निम्तालु हुन् । भाइ कान्छालाई जेठाबाले तानसेन, पाल्पा मिसन अस्पतालमा उपचार गराउन लगिरहन्थे । माइलोभाइ नेत्र मभन्दा दुईचार वर्ष कान्छो हुँदो हो । शिलाङमा जन्मभइ उतै हुर्किएकाले निकै छाँटकाँटको थियो नेत्र । पुरा जिन्दगी जीउन पाएन भाइले, असमय मृत्यु भयो । बुढाघर कान्छा बुढाबाको नाम मेरोजस्तै छविलाल थियो । उनका दुइभाइ छोरा थिए, जेठाबा (गणेशदाजुका पिताजी) कर्णबहादुर र कान्छा रिखबहादुर । जेठाबा एमान हातगोडासितका खाइलाग्दा थिए । कान्छा बाको घर आरनको नजिक थियो । उनले धेरैजसो तामाका भाँडा बनाएको देखिन्थ्यो ।

    हसियाँ, कोदालो, बञ्चरो आदि औजार अर्जाप्ने काम बिरलै गर्थे उनले । गाग्री ताउला बनाएर धेरैजसो झिर्बास, जुभुङ्ग तथा बलिथुमथिर गइरहन्थे । कक्षा आठमा पढ्दा मपनि एकपटक भाँग्रामा गाग्रीताउला बोकेर उनको साथमा भाँडा बिक्रीगर्न झिरबास गएको थिएँ । पुगनपुग १० बाई २५-३० फूटको घेराभित्र बनेको आरनमा सबै औजारहरू अटेका थिए । ३ ओटा ली(रेलको लिग,पटरी), ३ ओटै पानीको डुँड, सो डुँडमा भरिएकोपानीमा अर्जापेका हँसियाबञ्चरामा पाइन राख्न चोवाइन्थो— झ्वाइङँ.. । पानी खाइखाई डुँड ढाडिएर कहिल्यै पानी नसुक्ने भएको हुन्थ्यो । ३ ओटै खलाती बान्ने सुँड थिए । सुँडको मुख २ ओटा हुन्थे । ठूलो काममा जोरखलाती चलाउनु पर्दा दुईमुखेलाई चलाइन्थ्यो । प्रायः एकमुखेले नै काम चलाउँथे बाहरूले । 
    आरनमा सबै प्रकारका हतियारहरू सनासो, होत्रो, मैरी, कैची, घन आदि हुन्थे र ती औजारहरू आआफ्नै हुन्थे । ठूलो फलामको पातो, गाग्री, ताउला बनाउँदा चाहिने ढालेको तामाको चाकोलाई पिट्नको लागि लीले काम नचल्ने, सो कामको लागि बोक्से खोलामा गएर ठूलो ढुंगा बोकेर ल्याउँथे । लामो घारोमा मोटामोटा रस्सीले बानेर झिनिकुटी पार्दै ल्याउनुपथ्र्यो । कहिलेकाहीँ म पनि बाहरूको पछिलागेर सँगै बोक्से जान्थे । जान त जान्थे, फर्किदाँ हिड्न नसकेर थलापर्थे र बाको कन्धामा बोकिएर आउँथे । ढुङ्गा बोक्न गएका बाले मलाई बोक्नु पथ्र्यो । बाटैभरी बाको गाली खानु पथ्र्यो मैले । मलाई गाली गरेर दाजुभाइको गालबाट जोगिन्थे होला बा सायद ।

    सो ढुङ्गालाई सबैको पायक पर्ने ठाउँमा गाडिन्थ्यो । कहिलेकाहीँ पहिलोचेट बज्र सहन नसकेर त्यति दुःखले बोकेर ल्याएको ढुङ्गा टुक्राटुक्रा हुन्थ्यो । बाहरू टाउको समाएर रन्थनिन्थे । गाग्री ताउला बनाउने तामाको पाता पिट्नेकाममा सबैभाइ लाइमिली गर्थे । बास्तवमा आरन सहकार्यबाट चल्ने व्यवसाय थियो । एक्लै घनपिटेर फलामतामालाई आकार दिन सकिने कुरो हुन्थेन । सोही कारणले पनि बाहरू बेलाबखतमा पैठीजोरी खेलेपनि अलिदिन पछि सँगैबसेर जाँडको झोल खान थालिहाल्थे । झगडाको बीउ पनि कहाँ ठूलो हुन्थ्यो र ? भाडगाउँले कामी मासु खानमा ओस्ताद थिए । गाउँका भैसी थारो हुनै नहुने । हरेक महिनाजसो मार हान्थे बाहरू । मारको बिलो लगाउँदा कतिपय बाहरू आफ्नो अगाडिको भागमा अलि खँदिलो मासु मिसाउँथे । त्यहि भागमा सबैको आँखा परेको हुन्थ्यो । त्यसैबाट शुरुहुन्थ्यो तँ तँ र म म । त्यसमा अझै थोरै थोपो चढेको रहेछ भने झगडाले अलि उग्ररुप नै लिन्थ्यो । कामी र सुनारहरूको आफ्नै सांकेतिक भाषा पनि हुन्छ । बाहरूले बेस्सरी जानेका थिए सुनारे भाषा । त्यो सांकेतिक भाषा एकआपसमा बोलेको देखिन्थ्यो । थोपो भनेको रक्सी, दुताउने भनेको खाने, मसिन्याउने भनेको तौल वा काँटा मार्ने यस्तै यस्तै । यी शब्दहरूको मिठास बाहरूको मुखबाट निस्किदा निकै कर्णप्रिय लाग्थ्यो । 
    कान्छाबुढाबाकै कुरो सकौंं । चिन्ते जेठाबा जोवाईबाट फर्केर आएनन् । गाने(ओम)दाइ पनि उतै लागे र शिलाङमा सरकारी सुरक्षादस्ता होमगार्डमा भर्ति भए । सुन्कलीदीको प्रथमबिहे उर्लेनीतिर भएको थियो । सो बिहे म पढ्नकोलागि पोखरातिर हिँडेपछि भएछ । बिहे बुढाबा र कान्छाबाले गोडधुलाई गरेर गर्दिएका थिए । तर उनको बिहेपनि टिकेन । जेठाबा आएर गाउँ आएर घरजम गर्दैगरेकी छोरीलाई जोवाई आफुसँगै लगेर गएछन् ।

    समयक्रममा उनको बिहे उतै शिलाङतिर हुनगयो । लाग्छ, भारत भनेको हाम्रो सिमारहित छिमेकी हो । भारतीय विशाल समाज र बजारले लाखौंहजारौं नेपालीलाई गास, बास र कपास दिएको छ । भारतीय बजार नहुँदोहोत नेपालीहरूले के गरेर खाँदा हुन् ? सबै जोगी भएर पनि नहुने । सबै जोगी भएभने दानदिने कस्ले ? धनदौलत प्रसस्त थियो कान्छाबुढाहरूको । गोठमा हलगोरु, लैनाबकेर्ना दुधालु भैसी, तालेघर, हिउँदमासमा बोलाइने सोरठी, मारुनी र पुसुङ्गेनाच, नक्कासीदारघर, साँझपरेपछि रामायणको नित्यपाठ । सो घरमा जे जे थिए जे जे क्रियाकलापहरू हुन्थे ती सबै सम्पन्नताका प्रतीक थिए । मिसनको छात्रवृत्ति पाएपछि म पोखरा पढ्न गएपनि छुट्टीको बेलामा घर आइजाइ गरिरहन्थेँ । त्यतिबेलासम्म कान्छाबाको जेठोछोरो रामबहादुर स्कुल पढ्ने भइसकेको थियो । कान्छाबालाई छोरालाई गण्डकी बोर्डिङमा पढाउने ठूलो रहर थियो । मलाई भन्थे—ठूला(त्यतिबेला म केटोबाट ठूलामा परिणत भइसकेको थिएँ) रामे केटालाई तैँले पढ्नी स्कुलाँ पढाम्न परो । सकेसम्म तैँलेजस्तै फ्रीमा मिला । सक्दैनस्भने आधाउधी पैसो तिरेर भएनि मिला । त्यो कुरो मेरो मनमा रहिरह्यो बिदा सकिएर स्कुल पुग्दासम्म । बिदा सकिएपछि स्कुल पुगेर खर्चको बारेमा जानकारी लिएको पनि थिएँ । पैसातिरेर पढ्न नौसयदेखि हजार लाग्दोरहेछ । फ्रीमा मिलाउने मेरो औकात हुने कुरो भएन । पछि कुरो आइल गइल भयो । पढ्दापढ्दैको भाइ पनि दिल्लीतिर लागेछ । म पनि यताउता भएँ । कुरो त्यसै त्यसै हराएर गयोे । 
    कान्छाबाको असमयमै मृत्युभयो । उनको मृत्युसँगै घरको आयस्थापनि कम भयो । बुढाबाको उमेर छिप्दिै गयो । बुढीयाँले असमय बुढाबाको साथ छोडेर हिँडिन् । नातिहरू देशप्रदेश लागे । जेठाबा जोवाईबाट फर्केर आएनन् । ओमदाइले शिलाङमै बसोबास रोजे । जेठाबाका अन्यछोराहरू जोवाईतिर नै घरजम तथा बसोबास गरे । कान्छोभाइको असमय मृत्युभयो । यता बुढाबालाई हेर्ने कान्छीआँ र ससाना नानातिनामात्र भए । भाडगाउँले पौरखी रनेकामीको त्यो सानसौकात र बैभव समयक्रममा सुस्तायो । बुढाबा बिते कालगतिले । कान्छीआँ उमेर नपुग्दै बितिन । एउटी बहिनी पनि असमय बिति । माहिलो भाइ परिवार एवम् वंशबाट अलग भयो । कान्छाबा प्रेमबहादुरका दुइभाइछोराहरू जेठा र कान्छा अहिले तम्घासमै प्रगति गर्दैछन् । 
    हो तिनै कान्छाबुढाबाको घरको ठीक तल्तिर आरन थियो । बोक्सेखोलाबाट बोकेर ल्याएको बडेमाको आडिलो ढुङ्गालाई सबैको पायक पर्ने ठाउँमा गाडिन्थ्यो । गाग्रीताउला बनाउने तामाको पाता पिट्नेकाममा सबैजना लाइमिली गर्थे । विशाल तामाको थाल र लामो स्प्रीङ्गपत्ता पिट्नेकाम एक्लैले ह्ुनेकाम पनि भएन । अलि पाको उमेरका बाहरू वा बुढाबाले आरनको भुंग्रोमा तताएर रातो पारेको तामाको थालजस्तो पातोलाई बडाबडा सनासोले समाएर ढुङ्गाको लिकमा राख्थे । दुई वा तीनजनाले पालैपालो गरी ठुल्ठूला घन सो पातोउपर बजार्थे । अलि सानो पातो रहेछभने एउटै सनासोले समाउथे र अर्को हातमा दुइजनाकोभन्दा सानो होत्रोले तालमाथिताल मिलाएर पिट्थे । बढो सुन्दर तरिकाले घुमाउथे पातोलाई । हेर्दाहेर्दै आधा इन्चको पातो सुक्खारोटीजस्तो पातलो आकारमा बदली हुन्थ्यो ।

    तामालाई पगालेर झोल बनाउने प्रक्रिया पनि बडो गज्जवको हुन्थ्यो । शुरुदेखि अन्त्यसम्म आँखा झिम्म नगरी हेथ्र्यौ हामी । पहिले थोत्रा गाग्री, ताउलाहरूलाई काटकुट, थिचथाच पारेर टुक्रा पार्थे । तामो पगाल्ने पनि सुन पगाल्ने प्रकारकै माटाको भाँडो हुन्थ्यो । मात्र आकारमा ठूलो हुन्थ्यो । कहिलेकाहीँ तामा पगाल्दा पगाल्दै भाँडो फाटेर दुइफ्याक हुन्थ्यो र पग्लेको तामा कोइलाखरानीमा लतपत हुन्थ्यो । त्यसमानेमा बाहरू सचेत हुन्थे । सो भाँडोको चारैतिर तार वा तातोले नगल्ने डोरीजस्तै कुनै बस्तुले लपेटेका हुन्थे । त्यस मिनीभट्टीमा तामा पगाल्न थुप्रै गोल खर्च हुन्थ्यो । एउटा खलातीको हावाले नपुगेर जोरखलातीले हावा दिनु पथ्र्यो । तवमात्र आगो भर्भराउँथ्यो । तामाका टुक्रा पग्लेर पानीजस्तै झोल बन्थ्यो ।

    यहि आरनमा हाम्रो बाल्यकाल बित्यो । आरनले सबैथोक दियो हामीलाई । केहि कैफियत पनि छन् । पारिवारिक विस्तारको साथमा गरिखाने पाखोबारीको कमी तथा विष्टहरूको दाजुभाइमा हुने अंशभागले घरखर्च चलाउन नसक्ने अवस्था आउनु स्वभाविकै थियो । बालीघरे प्रथाको कारणले पनि कामले व्यवसायिकरुप लिन सकेन । व्यवस्थित बजारको अभाव अर्को समस्या थियो सो बेला । जसको कारणले बा, दाइहरू प्रदेशिन थाले । गर्दागर्दैको काम छोडेर बुढाघर डिलबहादुर माइलाबा बोमडिलातिर लागे । उनी तामाको काममा टोलमै सिपालु गनिन्थे । बुढाघर जेठाबा पनि उतै लागे । धुर्कोटे जेठाबा गाउँ छोडेर तम्घासको बाख्रेछेँडामा घरजम गरे । रविलाल जेठाबा पहिल्यै शिलाङे भए । मठारेदाइ सानैमा प्रदेशिएर र उतै नै बिलाए । माइलादाइ मंगलबहादुरको भारत सरकारी नोकरी थियो । अहिले भाउजु पम्फादेवीले पेन्सन थाप्नुहुन्छ । कान्छा मोतिदाइ पनि पल्टनीया हुन् । उनीपनि यो धर्तिबाट बिदा भए । भाउजु तिलकुमारीको माइत भुजेलखर्कको सिरानमा हो । दाइभाउजुको बिहेमा म जन्त गएको सम्झन्छु । अहिले भाउजु परिवारको छानो बनेर बस्नुभएको छ । आरने कान्छाबाआमाको मृत्युभएको पनि जुग बित्यो । आज भाइ बाबुरामले संसार धानेको छ ।   
    यिनै पौरखी बाहरूका सन्तान हौ हामी । बास्तवमा आरन हाम्रो आन, वान र सान थियो र रहनेछ । आरन फलाम तथा तामाको काम खलातीले हावा दिएर तताएर पिट्नुमात्र होइन । आधुनिक सबै कलकारखाना, उद्योगहरूको जननी पनि आरन नै हो । कतिपय भाइहरूले सो पेशालाई नियमितता दिएका छन् । बाहरूको बिरासतलाई कसैले न कसैले थाम्नुपर्ने थियो । मात्र त्यसलाई परिष्किृतरुपमा लैजानभने पर्छ ।

    स्कुल बिदाको धेरैजसो समय आरनमै बित्थ्यो हाम्रो । पित्तलको बेरुवाऔंठी बनाउँथ्यो हामी दुइभाइले । यद्यपि त्थो काम सुनारको काम थियो । तर पित्तलको बेरुवाऔंठी बनाएर चुक वा अमिलोको रसमा पकाएर सुनजस्तै पहेँलो बनाएर आफ्नै अंगुठामा लगाउँथ्यौं । हामीले बनाउने भनेको अर्को बस्तुहुन्थ्यो—मुर्चुङ्गा । त्यो लोकबाजा बनाएर हामी आफैले बजाउँदै हिँड्थ्यौं । जेजस्तो पारिवारिक अवस्था सिर्जिएतापनि मेरो पढाइ जारी रह्यो । गणेशदाजुको परिवार हाम्रोभन्दा सम्पन्न थियो । किनकि सो घर मुलीघर थियो र बुढाबा आफैमा हैकमदार हुनुहुन्थ्यो । त्यसैले पनि दाजुको पढाइले उच्चता पायो । पल्तिर कान्छाबाको रामायणको पाठले पढ्नुपर्दोरहेछ भन्ने मेरो दिमागमा तीर रोपेको थियो । यसैबीचमा मेरो मन स्थिर रहन सकेन । पढ्दापढ्दै “पढ्दिन, गाईचराउनिम्”भन्दै एकवर्ष पढाइ हाँपे । फलस्वरुप दाजुभन्दा एकवर्ष पछाडि परेँ । र जीवनभर हरकाममा पछाडिको पछाडि नै पर्दै गएँ । 
    आरनबाट टपक्क टिपेर तम्घासको महेन्द्र हाइस्कुलमा हामी दुईभाइलाई पु¥याएर कक्षा एकमा दाखिला गराउने ती पौरखी बुढाबा छविलाल सुनार बितेको पनि दशकौ भयो । दाजुले तम्घासमै स्कुलको पढाइ सक्नुभयो । तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसहुँदै काठमाण्डौबाट उच्चशिक्षा पुरा गर्नुभयो ।

    मैले त झन् सुनहरा अवसर पाएको थिएँ । मिसनको छात्रवृत्ति सहितको अवसर थियो त्यो । गण्डकी बोर्डिङजस्तो एक स्तरीय स्कुलमा जान पाउनु निकै ठूलो कुरो मानिने जमाना थियो त्यो । क्याम्पस पढ्दा पनि उही स्कुलपढ्दा गरेको गल्ती ”पढ्दिन, गाईचराउनिम्“ जस्तैजस्तै अर्को महागल्ती बुर्जुवाशिक्षा बहिष्कारको गल्ती दोहोरियो । फलस्वरुप जीवनको सर्बोत्तम उचाइँ, शिक्षाको एक उज्ज्वल नक्षेत्रलाई पैतलामुनी दबाउन पुगियो र जीवनका यावत उज्ज्याला पाटाहरूबाट बिमुख हुन पुगियो । 
    ३०८० मंसीर ८
    बुटवल । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology