Logo मंगलवार, श्रावण १२ गते २०८३
images

परिशिष्ट—१ : आरनदेखि आसामसम्म

परिशिष्ट—१ : आरनदेखि आसामसम्म

  • 2.4K
    SHARES

  • परिशिष्ट—१ : आरनदेखि आसामसम्म

    दीपक विश्वकर्मा(छविलाल)

    बोक्सेखोलाबाट रेसुङ्गाको शिरको ठीक आधाआधीमा पदेंलपोखरा पर्छ । त्यसको सिधै पारी पश्चिम दिशामा कामीटोल रहेकोछ । पोखराकोचौरमा उभिएर छर्लङ्ग देखिने भनेकै हाम्रो टोल हो । पुगनपुग १० हात मोहडा, १५ हातजति पिछाडको एकतले खरको घर थियो हाम्रा बाको अंशमा परेको । आमैले हमेशा भन्नेगर्थिन्— तँ करेसाँ जन्मेओ होस् ठूला । सप्रेओ थिइनस् । एत्रिको सानो थिइस् । रहरको छोरो, ठूली छोरीपछिको । तँ जन्मेसी घरै उज्यालो भाथ्यो हेर ।

    गरिखान पुग्ने पाखोबारी थियौ भन्थे बाले । खेत थिएन, अंशको पाखोवारी र ख¥यान थियो । तर तल्लो भाडगाउँदेखि अर्खलेसम्म फैलिएका थुपै्र बिष्टहरू थिए । कामीदमाईका सम्पत्ति भनेकै बालीघरेबिष्टहरू हुने जमाना थियो । बालीघरे काम गर्नेभएकाले बाको हात खाली रहन्थेन । यो पनि बाको कथन हो । हातखाली बस्न नपरेपछि उरिममा मकै र डालाभरि कोदो थुप्रिने नै भयो । खेत हुने बिष्टहरूको खलोबाट धान पनि आउने नै भयो । एक भारी पराल, दाइँ र झाँटेको मिसाएर चारपाथी धान, एकभारी पराल हाम्रा बाको हकभित्र पथ्र्यो । अन्नलाई जाँडपासमा खेर नफाल्ने र लुगाफाटोको ऋण तिर्ने निहुमा बिक्री नगर्ने हो भने बेसाहा नलाग्ने परिवारमा जन्मे म । फेरि परिवार पनि त कत्रो थियो र म जन्मदा ? बा र आबोई भइहाले । मभन्दा तीन वर्ष जेठी एउटी दिदी । जम्मा ४ जनाकोमात्र सानो परिवार थियो । 
    “पुनेमाइलाले छोरो पायो” टोलछिमेकमा मात्र होइन गाउँमै हल्ला फैलियो । आबोईले भनिरहन्थिन्— बेथालागेको थाहा पाइचन् सबैले । तँ जन्मेओ छिनमै साइलदमाई बाजागाजा बोकेर, दाजुभाइला लेर आइहाले । पछि नरान्मा(न्वारन)बजाम्ला भन्दा नी मानेनन् । आगना बसेर हर्कबढाई अर्न थालिहाले । बेथा अप्ठेरो नलागेको कुरो गर्छिन् आबोईले । सन्तानप्राप्तिको सुख कसैले भुल्दैन । मेरी आमैले पनि म जन्मेको खुशीको कुरो बेलाबेलामा भनिरहन्थिन् । 
    सालनाल र सरसफाइपछि आबोइले मलाई भित्र अगेनाछेउको मझेरीमा लगेको, सुत्केरी पोस्नेनाममा पालेर राखेको भाले काटेको, घरकै ढिकीले कुटेको चामलको भात पकाएको, पाकिसकेपछि घ्यू र झोलमा मुछेर स्वाम्म खाएको कुरो जबआबोईले मुख रसाउँदै भन्थिन्, मेरो मुखमापनि आफैआफै मिठास चढ्थ्यो । बाले भन्थे— रात भर सुतिनम् । जाडरक्सी खुव खाइयो । दाजुभाइ जम्मा भए । बिष्टबराजुपनि आका थे रमाइलो हेर्न । जाडरक्सी घरमै थ्यो । दमाईहरूला भोलिपल्ट विदा गरियो । आज जस्तो मोलमोलाइ थेन । फेरि साइलोदमाई त घरकै दमाई परे । धेरै पैसा नदेनी चित्त बुझाथे ।

    छैटीको दिनमापनि बाजा बजेको कुरा गर्थे बाले । सायद भावीसँग मेरो राम्रो भाग्य लेखाउन खुशामद गरे होलान्—जाडपास, रक्सी र मासुको भतेर खाएर । बाजाको तालमा नाचेर गाएर । आज म कल्पना गर्छु बा—आमाले मेरो लागि के मागे होलान भावीसंग ? निष्पट अन्धकार त्यो युग । कल्पनाको पनि त परिधि हुन्छ । आयतन हुन्छ । त्यसलाई फैलाउन केही न केही चेतना अवश्य चाहिन्छ । “छोराले धेरै पढोस्, हाकिम बनोस्, सबैले मान्यगुन्ने होस् ।” यति ठूलो कुरो हाम्रा बाले भावीसंग माग्नसक्ने कुरो हुन्थेन, त्यो समयको समाजव्यवस्थाको सेरोफेरोमा बाआमाको दिलदिमागमा यतिबिघ्न उपल्लो माग गर्नसक्ने हिम्मत जर्नुे कुराको सम्भावना रहँदैन थियो । किनकी यी यावत इच्छाआकाक्षाहरू त्यो बेलामा हाम्रो समुदायको पहुँचभन्दा निकै परका कुरा थिए । हँ हाम्रा बाले जानेको एउटा थियो— लाहुर । आफुपनि एकपटक गाजियाबादमा पुगि फर्किआएको हुनाले— “लाहुर गएर पैसा कमाउन सकोस्” जस्ता सुशामद भावीसंग पक्कै गरे होलान् । 
    ११ दिनमा न्वारन भएको थियो रे मेरो । छोरी भएको भए ९ दिनमै मेरो नाम राखिने थियो । न्वारनमा सिंगो पाडो ढालिएको कुरो आबोईले गरिरहन्थिन् । बाले भन्ने गर्थे— जाडरक्सी त कति हो कति छेलबेल । बिहेको भतेरभन्दा कम्ता थिएन खानपिन । मेरो न्वारन कस्ले ग¥यो, त्यो कुरो बाआमालाई सोधिएन । अब त जान्नसकिने कुरो पनि रहेन । चिना भने पारी उप्रेतबाले बनाएको कुरो गर्थिन् आबोईले । तर त्यो चिना मसँग छैन आज । रुकबहादुर मेरो राशीको नाम हो । त्यसउसले आज पनि नामको उद्गम तुला राशीको फन्दामा परेर कहिलेकाहीँ राशीफल हेर्ने र सुन्ने गर्दछु मैले ।

    मेरा नाम अनेक भए सानो छँदा । आमाले म ठूलो हुँदासम्मपनि सेते भन्थिन् । बाले सेतेउते केही भन्थेनन् । सानामा केटा भनेर भन्थे । म जेठो हुँ । यस हिसावले ठूल्केटो भन्नु पर्नेहो बाले । तर, त्यसको मेलो जुरेन । म पछाडि २ बहिनी अरु जन्मिए । त्यतिबेलासम्म म ९ वर्षको भइसकेको थिएँ । केटोमै बाको बानी प¥यो । त्यसैले बाको बोलीमा केटो नै भएँ—सुहाउदाँसम्म । पछि उमेर छिप्पिदै गएपछि केटो भनिरहन सुहाउने कुरो भएन । सायद बालाई नै अफ्ठ्यारो लाग्न थाल्यो होला । ठूल्केटा भन्दाभन्दै ठूलामात्र भन्न थाले ।

    मावलीगोता गएकोहुनाले म गोलमटोल हुन पुँगे । अलिकती आबोईको रंग मिसिनाले गहुँगोरो भएँ । निख्खर आमाजस्तो सेतो हुन पाएको भए म कत्ति छाटको हुँदो हुँ ? आबोईले सेते भन्थिन् ठूलो भएसम्म । तर सेते सबैले भन्दनैनथे । सेते त बुढाघर गणेशदाइलाई भन्थे । बुढाघरतिरका सबैले मलाई पुड्के भन्थे । किनकी म त्यति सल्बलाउँदो थिइन । केही गठरिएको थिएँ । त्यस हिसावले पुड्के नामसँग मेरो साइनो र साइज ठ्याक्कै मिलेको थियो । तर यो नामसँग मेरो घोरआपत्ति रहन्थ्यो । विशेषगरि साथीभाइको अगाडि कसैले मलाई पुड्के भन्यो भने म लाजसरमले पानीपानी हुन्थे र सकेसम्म जजस्ले पुड्के भनेर बोलाउँथे उनीहरूको अगाडि पर्दैपर्दिनथेँ । मेरो नाम छविलाल होभन्नै कसैलाई थाहै नभएजस्तो गाउँका मान्छे धेरैजसोले केटामात्र भन्थे । गाउँघरको केटो हुनुमा सामाजिक सोँचले पनि मनग्ये काम गरेको थियो । कामीको छाउरोलाई नामले बोलाएर कस्ले सम्मान दिने ? नामले बोलाउनु सामाजिक मान्यताको बर्खिलाफ हुन्थ्यो ।

    मेरी दीले मलाई भाइ भन्थिन् । आजकाल ठूला भन्छिन् । सुन्कली दीले पल्तिरभाइ भन्थिन् । बुढार माइल्बाकी छोरी फुस्रीदीले पल्टोलाभाइ भन्थिन् नजिक रहँदा । तर आफ्नो टोलमा मेरो बारेमा कुरो काट्दा उही पुड्के नै भन्थिन् भन्ने मलाई राम्ररी थाहा थियो । 
    यसरी नाम रहन गयो ११ औ दिनको न्वारनमा मेरो नाम रुकबहादुर सुनार । यद्यपि कर्मले हिसावले म सुनारको छोरो होइन । मेरा बा लोहार हुन् । फलामका औजार बनाउने । उनी टोवटा पनि हुन्ं—तामा, पित्तल र सिल्टीका भाडा बनाउँथे बाले । थर के हो त मेरो— त्यसको हेक्का निकैपछि मात्र जानकारीमा आएको हो मेरो । हँ गोत्र कौसिल्या र कैरन चाँहि दुधराज भनेर बाले म सानो छँदै सुनाउ“थे । दुधराजको अर्थ के होला ? पक्कै कुनै रियासत थियो होला हाम्रो वंशको दुध, दुन वा दुज यस्तै कुनै क्षेत्रको । कालान्तरमा हाम्रा पुर्खा कुनै राज्यसँग लडाईमा पराजित हुन पुगे । पराजित हुँदापनि हाम्रा पुर्खाले सो क्षेत्रको राजत्वलाई बिर्सन सकेनन् र आफ्नो कैरन दुधराज कायम गरे । गोत्र कौसिल्या, कैरन दुधराज हो भने थरभनेको के हो ? आजपनि बुझ्दिन म । तर मेरो नामको पछाडि विश्वकर्मा जोडिन पुग्यो । मानौ संसार मैले नै बनाएको हुँ । बाहरूले भन्थे हामीहरू कामीहरूमा सबैभन्दा ठूलाकामी पाँचकामी हौं । श्री ३ र श्री ५ को मानको सानोठूलोको नक्कल थियो होला सायद त्यो सोँच ।

    यसरी पुने कामीको घरमा छोरो जन्मियो । जन्मेकै दिनमा बाजा बज्यो । छैटीको दिनमा ठूलो रामरमाइलो भयो । न्वारनको दिन पाडो ढालियो । नाम राखियो रुकबहादुर । तर रुकबहादुर मेरा ठूला मामाको नाम पनि हो । पण्डितले बिना झण्झट सोही नाम मलाई थमाई दिए । तर, यस नामले मलाई कसैले चिनेन सानोमा । यी नामहरूको घनचक्करमा म आजसम्म परिरहेको छु । रुकबहादुर, सेते, पुड्के, ठुला, केटो, ठुल्केटो, छविलाल, छवि, छवे, रविन्द्र, दीपक र क. हेमन्त । आज पनि राख्ने र फार्ने दुईटा नाम छन् मेरा । एउटा आसामदेखि मेघालयसम्म चिनेजतिकाले चिन्ने दीपक र अर्को प्रशासनलेमात्र चिन्ने छविलाल । अहो ! यो नाममो विरासत, यसको महिमा बडो गज्जब रहेको छ ।    

    पँदेलपोखराबाट देखिने पाल्तिरका लस्करै तिन घरमध्ये कुनामा हाम्रो घर थियो । घर अगाडि उरिम, जहाँ आफ्ना बारीमा फलेका र बिष्टहरूका घरबाट बाली उठाएर ल्याइएका मकै राखिन्थ्यो । त्यसको अझै पल्तिर कुनामा सानो गोठ थियो । एकदुईओटा भैसी र दुईचार गोटा बाख्रा पाल्न मिल्ने । आगन ठिक्कको थियो । ढुंगाको छप्पनीसहितको पर्खाल लगाएको । उरिमको तल ढिकी थियो । धान कुट्ने, गहुँजौं फल्ने मकैका डाठ राख्ने । घरमा दक्षिणतिर सानो पाली थियो । पालीमा एउटा खाट बिच्छाइएको थियो । बाको काख नछोड्दासम्म गर्मीयाम भरि बासँगै त्यही खाटमा सुत्थेँे म । जाडो याममा भने घरभित्र अगेनाको क्षेउमा नसुति जाडो जान्थेन । खाटको खुट्टातिर घरको ढोका थियो उत्तरदक्षिण निकास भएको । खास भन्नेहो भने हाम्रो घर सानो थियो तर बहुतै चिटिक्कको थियो, दुईवोटा ढोका थिए । मुलीढोकाको संघारमा नागबेलीको लहरो रहन्थ्यो हमेशा । दक्षिणी ढोकाको बाँयातिर राम्रो मिलेका जाँतो थियो । बारीको कुनाबाट गारो उठाइएको थियो । अलि हुर्किएपछि, उपद्रो गर्नसक्ने भएपछि, साउनेसक्रान्तिको दिनमा त्यही पालीकोडिलमा उभिएर हातैभरको भर्भराउँदो दियालोको मुठो हुत्याउँदै मैले भन्ने गर्दथे— मेरो लुतो लैजावो हे तल्लाभाडगाउँलेहरू ! मेरो घरको तल कहाँ टोल छ र ? तल्लो भाडगाउँ त निकै टाढापो पर्छ ।

    मान्छे चिन्नेभएपछि मैले सर्वप्रथम आमा बालाई चिने । बालाई बा नै भनेपनि आमालाई मैले कहिल्यै आमा भनिन । आबोई भन्थे । या भनौ मलाई आबोई भन्न सिकाईएको हुनुपर्छ । दिदीले पनि आबोई नै भन्थिन् । दिदीलाई दी भन्थे मैले । हजुरआमालाई बुढीआँ भन्थे । जेठी आमालाई जेठीआमा नभनेर दिदीआमै भन्थे । उनकी एउटी छोरी छन् । उनलाई ठुल्दी भन्दथेँ । मेरी दिदीभन्दा जेठी भएकोहुँदा उनलाई नै जेठी मानेर ठुल्दी भनिएको मलाई विश्वास छ । दिदीकी आमा भएको कारणले जेठीआमा पनि दिदीआमै भनियो सायद । ठुल्दीको बिहे मैले मान्छे चिन्ने हुनुभन्दा पहिले नै रातामाटा तिर भएको थियो । सो कारणले उनको बिहेको बारेमा मलाई जानकारी छैन । हाम्रो उरिमभन्दा माथि सानो सुर्केपाटोमा दिदीआमैको घर थियो । एउटा भैसी पालेकी थिइन्, दिदीआमैले । औधी माया गर्थिन् मलाई । मलाई नचखाइ केही खाँदैनथिन आफुले । सबैको छोरो मै त थिएँ, तीन भाइबाहरूमा लामो समयसम्म । भिनाजु पल्टनीया भएको हुँदा दिदी धेरैजसो माइतमै बस्थिन् । जेठाबा पहिले नै बितेका र अरु सन्तान नभएका हुनाले दिदी माइतमा बस्नाले दिदीआमैलाई मुखबोलो हुँदोहो सायद । मैले जेठाबालाई देखिन । म नजन्मदै मुटुको बेथाले बितेका हुन् भनेर बाआमाले भन्ने गर्दथे । उनको नामपनि मलाई थाहा भएन । बाले भनेनन् । मैले सोधिन । विश्वकर्मा दुधराज ऐतिहासिक वंशावलीमा उल्लेखभएअनुसार जेठाबाको नाम खड्के थियो ।(गणेश विश्वकर्मा)
    मेरा बुढाबा निकै पौरखी थिए रे । हातका औधी सिपालु । बाले भन्दथे— हाताँ लोहोरो बेलेर सिकाका हुन् काम बाले हाम्ला हेरकेटा । फलाम, तामा, सिल्टी, पित्तल, काँसकस्कुट सबैको काम गर्दथे । थुप्रै पाखोवारी र ख¥यान जोडिदिएका थिए, छोराहरूलाई । हाम्रो गाउँको पाखोबारी बुढाबाको पौरख हो भन्दा मलाई कत्ति पनि दहकिस लाग्दैन । तर उनको पनि मेरो जन्म हुनुभन्दापहिले नै मृत्यु भयो ।

    बुढाबाको बारेमा आबोईको कथन थियो—मेरो बिहे सानैमा सात वर्षकी मात्रै छदाँ भओ । ससुराले नै मनपरार मागेयाहुन् । कानैभरी लटरम्मै सुन लाइदिनु भाथ्यो । सात वर्षकी बुहारीले कसरी घर गर्नु ? तर उहा“ले मलाई साह्रै माया गर्ने । ठूलो काम नलगाउने गर्नुहुन्थो । मन लागेयो खाना दिने । कसैले नराम्रो गरोभने उसैलाई गाली गर्ने गर्नुहुन्थो । त्यसैले घर माइत एकै भओ । उहा“कै मायाले मेरो घर भयो । 
    मेरा मनकारी बुढाबाका २ ओटी बुढियाँहरू थिए भन्ने मैले सुने । तर पहिलीलाई मैले देखिन । दुवैबाट थुप्रै सन्तान रहेको भने मैले जाने । जेठाबालाई मैले देखिन । जेठी फुपु, उनलाई मैले कहिल्यै फुपु भनिन । लुम्पेकमा उनको बिहे भएको हुँदा उनलाई लुम्पेकीठुल्दी भनिन्थ्यो । माहिली पुफुको बैवाहिक जीवन सुखमय रहेन । पुर्कोटतिर उनको बिहे भएको थियो । पुसैलाई हामीहरू भिनाजु भन्थ्यौ । माहिला पुसै लाटा थिए । भान्दाइ पनि लाटै जन्मिए । हाम्रोमा आइरहन्थे । मलाई औधी माया गर्थे  लाटाभान्दाइले । पछि उनको भारततिर गाडीको ठक्करबाट मृत्यु भयो भन्ने खबर सुनियो ।
    साहिली फुपु अर्की बुढियाँतिरकी हुन् भन्ने सुन्थँे । सायद सौतेनी हाँगो भएर होला उनको माइतमा आइजाइ त्यति हुन्थेन । म सानोमा रात्माटा ठुल्दीको घरमा जाँदा फुपुको घरमा पनि गएको थिएँ एकपटक । एक बटुको भैसीको दुध खान दिएकी थिइन् साइल्दीले । 
    कान्छी फुपुको चेहरा काटिकुटी हाम्रा बासंग मिल्दथ्यो । उनको बिहे साकिन्धारा तिर भएको थियो । दशैमा आफुखुशी र तिहारमा पालो गरेर फुपुहरू आउँथे बालाई टिका लगाइदिन । मैले दिदीबहिनीको हातबाट कहिल्यै टिका लगाइन, फुपुहरूले बालाई टिका लगाइदिँदासम्म । साहिली फुपुको आवतजावत भने निकै पालतो हुन्थ्यो । भिनाजु(पुसै) लाई त हाम्रो घरमा आएको मैले कहिल्यै देखिन । कान्छी फुपुलाई पनि म त्यति आएको देख्दिनथे । 
    बुढाबा(हजुरबा) लाई देखिन । जेठाबालाई देखिन । बुढाबालाई देख्न नसक्नु मेरो दुर्भाग्य हो ।  उनको कल्पना गर्दापनि म भावविभोर हुन्छ । कस्ता थिए होलान् ती फौलादी मान्छे । यत्रा छोराछोरी हुर्काइबढाइ गर्दै सबैको बन्दोवस्ती गर्न सकेका । खेत नभएपनि प्रसस्त पाखोवारी, मनग्ये ख¥यान जोडिदिएका । गर्व यसैमा छ, आज कागजपत्र बनाउँदा, कतै बायोडाटा तयारगरी पेश गर्दा नाति कस्को हस्तवीरको भन्न सकिएको छ । उनको थर बाको नागरिकतामा पनि लेखिएको छैन । मैले पनि कागज बनाउँदा बाजे हस्तवीर मात्र लेख्ने गरेको छु । जात(थर) उल्लेख गर्ने गरेको छैन ।

    हजुरबा(बाजे)हरू तीन भाइ थिए । मेरा बाजे हस्तवीर, माहिलाको नाम चिबे थियो । (गणेश विश्वकर्मा, विश्वकर्मा दुधराज ऐतिहासिक वंशावली) । माहिला बाजे र बजैलाई कुष्टरोग लागेको कुरो आमबोईले सुनाउँथिन् । उनीहरूलाई घरबाट निकालेर माथि पाटाको कुनामा छाप्रो हालेर राखिएको थियो । खानापिना उतै लगेर दिन्थे दाजुभाइहरूले । विशेषगरी हाम्री आबोईको मन खुव कमलो, “मैले लुकाइलुकाइ लगेर खानेकुरा दिन्थेँ । खुव आशिष दिनुहुन्थ्यो, बाजेबजैले ।” आबोईले सुनाउँथिन् । उनीहरूको शेषपछि छोराहरू मधेश पसेछन् । फुपुहरूको बारेमा थाहा छैन । आफ्नो भागको जग्गा बिक्रीगर्न कान्छाबा गाउँ गएको देखिन्थ्यो । जग्गा बिक्रीको पैसा उठाउन उनी दुईचार पटक गाउँमा आएका थिए । मलाई त्यति हेक्का छैन, तर हाम्रा बाहरूमध्ये कसैले न कसैले उनको पैसा तिरेका थिएनन् । पछि उनी पैसा उठाउन भनेर बटौलीबाट जान छोडे । कान्छा बा हुनन् नहुनन् तर उनका सन्तान बटौली मै अवश्यै छन् । तर खोज्नु कहाँ ? 
    म जन्मिएको घरको पछाडितिर हाम्रै कान्छाबाको घर थियो । मेरो र कान्छाबा दुबैको नाम छविलाल । कान्छाबा छविलाल स्ुनार । म छविलाल विश्वकर्मा । कान्छाबा पल्टनीया थिए । उनको पहिलो बिहेबाट घरजम भएन । अर्घाखाँचीको कुनै गाउँमा उनको बिहे भएको थियो रे । तर कान्छाबा भर्ती भएपछि उनी अरुसँगनै घरजम गर्न गइछन् । छोराछोरी थिए रे उनीबाट । कान्छाबा आफ्ना छोराछोरी लिन कैयौं पटक गएको सुनिन्थ्यो । तर कान्छी आमाले दिइनछन् । झड्केला छोराछोरी भएपनि बाबुले आफ्नो नामथर दिएछन् । यसरी दाजुभाइ दिदी बहिनीको एउटा लर्को हामीबाट छुट्टिएर गयो ।

    कान्छाबा औधी रिसाहा थिए । हामी साना केटाकेटीहरूले उनले हामीलाई माया गरेको या सताएको के हो ? केही चाल पाउँदैनथ्यौं । काखमा लिने । खुव खेलाउने । तर गालामा टोकेर हैरान पार्ने । रोइकराई गरेर उनीबाट फुत्किएर भाग्नु पर्ने । बडो गजवको बानी थियो । पहिली कान्छीआमा हिँडेपछि छापटोलामा उनको दोस्रो बिहे भयो । कदकाठीमा हाम्री आबोई भन्दा केही सरस ठूली थिइन् उनी । कान्छाबाको बिहेमा म जन्त गएजस्तो र नगएजस्तो दुबै लाग्ने गर्छ । तर रछानरछान जग्गेको रमझम टाउकोमा घुम्ने गर्छ कहिलेकाहिँ । 
    माहिली फुपु एकदुईवटा तिहारमा बालाई टिका लगाइदिएको बाहेक उनीबारे जानकारी छैन त्यती । भान्जादाइ र पुसैको मृत्यु पछि कान्छा भान्दाइलाई छोडेर उनले दोस्रो गरेको सुन्नमा आउँथ्यो । बाआमा, दाजुभाइ जीवित रहेसम्म आउने हो माइत । आमाबाको शेषपछि भदैहरूको खेदो गर्दै को आओस् ? फुपुहरू पनि आउन छोडे । साकिन्धाराबाट साइली फुपु पुसै  मलाई खोज्दै बुटवलमा आएका थिए । हाम्रो घरबास देखेर कम्ती खुशी भएका थिएनन् । हामीले पनि सकेको मान राखेर अर्घाखाँची घर पठाएका थियौं ।
    कान्छा बुढाबालाई रने कामी भनेर चिन्दथे गाउँमा सबैले । कान्छाबाको घर पछाडि दक्षिण मोहडमा उनको घर छ, आज पनि । बुढाबा लम्बाचौडा छातीसितका निकै खाइलाग्दा थिए । म जान्ने हुँदा टोलमा राम्रो बन्दोबस्ती तिनै कान्छा बुढाबाको थियो । तीनभाइ छोरा हुन् उनका । जेठाको घर बाटो माथि थियो । त्यो घरमा जेठीआ र सुन्कलीदी रहेको म अलिअलि सम्झन्छु । तर जेठाबा हामी नजन्मदै शिलाङको जोवाईतिर लागेका थिए । पछि जेठीआ पनि उतै लागिन । सुन्कलीदीलाई बुढा बाआमासँग छोडेका थिए । गानेदाइ(ओमबहादुर) सबभन्दा जेठा हुन्, सुन्कलीदी भन्दा माथिका । उनी बाआमासँग जोवाई मै बस्थे । तर कान्छाबा जोवाई पुगेर स्कुल पढाउनेनाममा भाडगाउँ ल्याएछन् र आरनमा खलाती चलाउन, घनपिट्न लगाएछन् । कान्छाबासँग उनको पटक्कै मतो मिल्थेन । कहिलेकाँहि दुबैजना एकआपसमा पछारापछार गर्थे । 

    गानेदाइ(ओम)को बिहेको रमाइलो कुरो मलाई आजसम्म सम्झना छ । उनको पहिलो बिहे उपल्लोतम्घास बज्यानातिर भएको थियो । बिहेको कुरो चलेपछि बाहरूले दाइलाई खुब जिस्काउँदै भन्थे —घुँडाको छाला फाल्ने भयो मोराले । बिहे चलेन । दाइ भाउजुलाई भाडगाउँमै छोडेर बाआमा खोज्दै शिलाङतिर लागे । उनी धेरै वर्ष घर फर्केर नआएपछि भाउजुले पनि अर्कै बाटो रोजिन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology