Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हजार सहयोगी हातहरू

हजार सहयोगी हातहरू

  • 2.0K
    SHARES

  • हजार सहयोगी हातहरू

    -दीपक विश्वकर्मा

    बहुतै कष्टसाध्य प्रयत्नपछि एउटा बिन्दु वा मुकाम फेलापार्न सफल भएको थिएँ म । सो प्राप्तिबिन्दुका प्रथम अभिषेक थिए अवतारी देवदूतीय लामा बा । जसले मलाई मेरो बेहालीबाट उकास्न बासँग बसेर समय खेर नफाली उमराङ्सो पुगेर काठ कम्पनीमा काम खोज्ने दिलेरी सुझाव दिएका थिए । सोही सुझाव र सल्लाहलाई पछ्याउँदैजाँदा गन्तब्यको अन्तिम बिन्दु प्राप्ति भएकोथियो २९ किलोको न्यू तुङमुङ बस्ती ।

    सेिर्पनीदिदी नेपाल वा दार्जिलिङ्ग कहाँकी उद्गम हुनुहुन्थ्यो, सोधखोज गरिएको थिएन । मेरो साँघुरो दिमागमा सेर्पाहरू नेपालमै मात्र हुन्छन् भन्ने अटेको थियो । परन्तु रहँदाबस्दा दार्जिलिङ्गतिरका पनि सेर्पाहरूसँग मेरो संगत जुरेको थियो । बासको ठेगाना भेटिएको सो राती फेरि अर्को सकुनको नीद जुरेको थियो मलाई । सम्झनामा आउँछ, त्यो दिन, जुनदिन बस्नेत होटेलका साहुको सल्लाह र लिला माड्साबको प्रयत्नबाट जुन बासको जाहो भएको थियो, त्यो दिन शनिबार थियो । थातथलोको जोहो भएपछिको अर्कोदिन म २९ किलोबाट हिँडेपनि हुने, तर माड्साबले हिड्न दिनु भएको थिएन मलाई । “आजलाई बस्नुस् भो, मेरो बिदा पनि छ । एकपटक फेरि दिदीको घरमा ग’र राम्ररी हेरम् । बस्ने खाने कोठा नि हेरम् । दिनमा बसेर कुराकानी पनि गरम्ला । म पनि एक्लै बस्छु । तपैंmला शिलोङ जान गाडीको चिन्ता छैन । ३ किलो जाने गाडी रातभर चल्छन् ।भोली बिहानै उठेर उमराङ्सो जानुहोला । त्यहाँबाट ७ बजे नै शिलोङ जाने बस छुट्छ । बेलुकीसम्म नङ्पो मै पुग्नुहुन्च ।”

    लिला माड्साबको सल्लाह मलाई पनि उचित नै लागेको थियो । उचित लाग्नुका दुई कारण थिएँ, पहिलो थियो, म लिला माड्साबको पारिवारीक सदस्यजस्तै भइसकेको थिएँ । बस्न खान एकपैसा खर्च गर्नु पर्थेन । अर्को थियो एकपटक परिवार लिएर थन्क्याउने बासको पुनरावलोकनको मोह । त्यसैले पनि म हिड्ने तरखर गर्नतिर लागिन र चा, नास्ता, तिउन तरकारी बनाउन माड्साबसँग लाइमेलो गर्न थालेँ । कुनैदिनको कुरैकुरामा मैले लिला माड्साबलाई बोडिङ्ग स्कुलबाट शिक्षा पुरा गरेको र थेरै समयको लागि भएपनि क्याम्पस पढेको फुइँ लगाउन भ्याएको थिएँ । तत्कालिन समयमा भारतमा आवासीय पढाइ हुने स्कुलहरूलाई डन वस्को भनिदो रहेछ । गुगल खोजी गर्ने हो भने इटालीयन एक पादरीको नाम जोन मेल्चीअर वोस्को नाम अंकित फोटो भेटिन्छ । जसले १९ सताब्दीमा बेसहारा तथा सडक बालबालिकाहरूको शिक्षाको अभियान चलाए । मेरो मुखबाट मिसनरी सहयोगबाट बोर्डिङ्गको पढाइ गरेको कुरो फुत्केपछि लिला माड्साबको मनमा मउपर निकै ठूलो भ्रम सिर्जना भएछ । र त्यो भ्रम रहेछ मैले बेस्सरी अंग्रेजी जानेको छु ।

    यथार्थमा लिला माड्साबले सोँचेजस्तो मेरो स्कुले शिक्षा थिएन । हामीले त गाउँकै साधारण स्कुलबाट शिक्षाको शुरुवात गरेका थियौं । ठूलो वर्णमालाको कपुरी क बाट शुरुभएको पढाइ ज्ञानी ज्ञ मा समापन हुन्थ्यो । केही टाठोबाठो र कमजोर पारिवारीक अवस्थाको सानो पेचको कारणले मिसनको छनोटमा परिएको मात्र थिएँ म । जसरी महेन्द्र माविमा पढिँदै थिइयो, त्यसरी नै गण्डकीबाट प्रवेशिका पास गरियो । तर सबैको मनमा भ्रम थियो, गण्डकीमा गएपछि केटाहरूले खुब अंग्रेजी जानेका छन् । यथार्थमा त्यो एक सुखद भ्रमबाहेक केही थिएन ।

    यद्यपि प्रवेशिकाको परीक्षा पछिको चार छ महिनाको खाली समयमा मैले मेरो अंग्रेजीलाई सुधार्ने मौका पाएको थिएँ । पोखरामा खानाबस्नको समस्या थिएन । हरमहिना मिसनले रु पाँचसय हातमा थमाइ दिन्थ्यो । त्यो पाँचसयले पोखरेली चामलको भात खाँदा, डेराभाडा तिर्दापनि बचत हुन्थ्यो । महेन्द्रपुलमा एकजना रुस समर्थक मान्छेको किताब दोकान थियो । सो दोकानमा पेकिङ्ग रिभ्यु भन्ने अंग्रेजी पत्रिका पाइन्थ्यो । मनमा कम्युनिष्टे चस्को यसरी भरिएको थियोकि दिलदिमागमा चीन बाहेक अरु केही थिएन । दिनभर लगाएर सो पेकिङ्ग रिभ्युलाई पानी पारिन्थ्यो । पछि कम्युनिष्टले मफतमा खान हुँदेन । उत्पादनमा भाग लिनु पर्छ भन्ने मान्यताको परिबन्धमा परेर एउटै होस्टेलमा बसेर सँगै पढेको साथी उत्तम शिल्पकारको दाजुको ग्रील उद्योगमा काम गरियो । थोरैधेरै काममा हात बस्न के थालेको थियो, भाउजुले रातीको बासी भात खान दिएको निहुँमा काम छोडेर तम्घासकै रैथाने दाजु ईन्द्र तुलाचनको बैदाम स्थित होटेलमा विदेशी पाहुना खोजेर ल्याउने टुरिष्ट गाइडको काम समाइयो ।

    दाइले बिहान बेलुका खाना र राती बासबस्न दिनुहुन्थ्यो । तलबसलब थिएन । तर एयरपोर्ट पुगेर पोखरा घुम्न आउने विदेशीहरूसँग होटेलले प्रदान गर्ने सुविधा र डिस्काउण्टको कुरो गर्दागर्दै थोरैधेरै अंग्रेजी बोल्न सिकियो । त्यही सिकले मलाई मेघालयको नङ्पोमा आधुनिक कृषि औजार उद्योगको उखर्माउलोको समयमा एङ्गलो इण्डियन बैंक म्यानेजरसँग कुरोकानी गर्न, निवेदन लेख्न सहयोग पुगेको थियो । माड्साबको डन बस्को स्कुलप्रतिको धारणा र आवासीय स्कुलजति डन बस्को स्कुल हुन्भन्ने सोँचले मलाई एउटा भुमरिमा परेको थिएँ । त्यो भुमरि थियो— मेरो अंग्रेजी ज्ञानप्रतिको जाँच । जुन जाँच लिला माड्साबले सो शनिबारको दिनमा पारिलो घाम ताब्दै लिनु भएको थियो । 
    भएको के थियो भने, लिला माड्साबले आफुले पढाउँदै गरेको कुनै कक्षाको एउटा पाठ्यपुस्तक जो हिन्दी भाषामा लेखिएको थियो, सो पुस्तक भित्रको एउटा बालकथालाई अंग्रेजीमा उल्थागरेर उहाँलाई देखाउनु पर्ने थियो । जो काम मेरो लागि त्यति सहजभने पटक्कै थिएन ।

    नेपालीमा जसरीतसरी, अंग्रेजीमा एनीहाउ, हिन्दीमा जैसेतैसे मैले त्यो हिन्दी कथालाई अंग्रेमीमा उल्था गरेर देखाएको थिएँ माड्साबलाई । यद्यपि त्यो कथालाई अंग्रेजीमा रुपान्तरण गर्दा मेरा दाँतबाट पसिना निस्केका थिए । प्रवेशिका पास गरेको पनि ५ वर्ष बितिसकेको थियो । पोखरा एयरपोर्टबाट ईन्द्र दाजुको होटेलसम्म विदेशी ग्राहकलाई पु¥याउँदा बोलिएको आफैले नबुझिने यस नो को लवज पनि ४ वर्ष पाको भइसकेको थियो । धेरै ठाउँमा केरमेट गर्दै लेखन, पुनर्लेखन गरिएको मेरो सो लिखत हेरेर लिला माड्साब मुसु्क्क मुस्कुराउँदै भन्नुभएको थियो— यतिभए चल्छ । तर पढाइसढाइ खाइसकिएछ ।

    २९ किलोको बासको अन्तिम दिन लिला माड्साबले मेरो डन बस्कोवाला अंग्रेजीको जाँच लिनुभएको थियो । कहानीको फेरो मार्दै जाँदा त्यसको अर्थ पनि खुल्दै जाला । तर उहाँले मेरो अंग्रेजी ज्ञानको परीक्ष लिनुको खास मकसद थियो र कालान्तरमा त्यसको उपयोगिता दर्शिएको पनि थियो । शनिबारको दिन (वा आइतबार पनि हुनसक्छ, किनकि भारतमा आइतबार सरकारी बिदा हुने गर्दछ) भएकाले माड्साबका अन्य काम पनि थिए । कोठाको सरसफाइ, लाउने फेर्न कपडाको धुलाइ, नुहाइधुवाइ आदि इत्यादि । मलाई हिन्दीबाट अंग्रेजीमा उल्था गर्ने गहन काम सम्झाएर आफले ती सबै काम सक्नु भएको थियो ।

    माड्साबको अर्को उल्लेखनीय कुरो थियो, उहाँको धार्मिक क्रियाकलाप र पुजापाठवाला दैनिकी । दैनिक थोरै समय उहाँले सो कामको लागि पनि समय खर्च गर्नुहुन्थ्यो । सायद तिनै र तिनै प्रकारका क्रियाकलापको कारणले माड्साबको मारवाडी ब्यापारी तथा गन्यमान्य नेपालीहरूको बीचमा एक स्थान सुरक्षित रहेको थियो ।

    दिनको भातभान्सा सकियो । तत्पश्चात मेरो जाँच पनि सकियो । माड्साबको साप्ताहिक नित्यक्रम पनि सकियो । त्यति काम सकेपछि माड्साब मलाई लगेर पुनः बजार निस्कनु भएको थियो । सो २९ किलोको अन्तिम बसाइको दिन उहाँले मलाई २९ किलोका केही गन्यमान्य व्यक्तिहरूसँग परिचित गराउनु भएको थियो । बाबुराम शर्मा, जसको मिठाइको चल्तीको दोकान थियो । ठाकुर महानको बेग्लै सान रहेछ उन्तीस किलोमा । पर्वततिरको हुनुहुन्थ्यो अधिकारी दाजु र उहाँको महाजनी थियो । उहाँका गाईगोठ भित्र जंगलमा रहेको कुरो सुनाउनुभएको थियो मलाई ।

    अर्का महाजन थिए कलाधर महाजन । उहाँका पनि गाईभैसी भित्री कछारी गाउँमा भएको कुरो गर्नुहुन्थ्यो । चल्तीको पानदोकानमा बसेर मेसिनलेजस्तो काम गर्ने सानोभाइ अर्काएकजना महाजनका कामदार रहेछन् । ती भाइको आसामिज, बंगाली, हिन्दीभाषाउपरको पकड बेमिसाल थियो । सेर्पेनी दिदीको घरमा माड्साबले पुन लगेर जानु भएको थियो । लामोघरको पुनः अवलोकनबाट कहाँ कसरी बसोबास मिलाउनेभन्ने निक्र्योल गरिएको थियो । दिदीले भित्रै रक्सीमासुको कारोबार पनि गर्नुहुँदोरहेछ । उहाँको त्यो ब्यापारसँग हाम्रो परिवारले कसरी तालमेल मिलाउने भन्ने कुराको यकिन गरिएको थियो र दिदीसँग पक्कापक्की गरेर हिँडिएको थियो ।

    मेरो उमराङ्सो मिसन सफल भएको थियो । तर पारिवारको स्थानान्तरणको सबाल भने निकै गाह्रो काम थियो । तत्कालिन समयमा हामी चार जना थियौं, म, श्रीमती अनिताजी, बा र उनको माइलो छोरा मानबहादुर । पौने एक वर्षको दौरानमा ओढ्नेओछ्याउने सिरकडसना जम्मा पारिएको थियो । भाँडाबर्तन जोरजाम गरिएको थियो । बाका आरनमा औजारको भारी अर्को गरुङ्गो भारी थियो । हाते पंखा, फलाम पिट्ने लिक, सानाठूला घनमार्तोल, फलाम समाउने विभिन्न आकारप्रकारका सनासाहरू, रेत तथा नागा च्यादरको उखर्माउलोताका जोरजाम गरिएका हतासा, किलालगायत ३०-४० केजीको छुट्टै भारी थियो । त्यो सबै सामानको ढुवानी बहुतै कठिन कार्य थियो । र त्यो कठिनाइको सामनाको उपाय पनि माड्साबले नै जुुराइदिनुभएको थियो ।

    मैले लिला माड्साबलाई ती तमाम कुराहरूलाई सुनाएको थिएँ जो मेरो लागि पहाडजस्तै अगाडि उभिएका विशाल समस्याहरू थिए । ती समस्याहरूलाई पार पाउन सकिने उपाय सुझाउँदै माड्साबले भन्नुभएको थियो—तपैं सिधै शिलाङहुँदै याँ आउन गाह्रो हुन्च । सामान गाडीयाँ चढाम्न, ओराल्न सकस हुन्च । नङ्पोवाट शिलाङ नआ’र गुहावाटी तिर नै ग’र जोरावाट ओर्लिने । त्याँट नौगाउँ वा लंका आम्ने सरकारी परिवहनका गाडीयाँ चढेर लंका आउने । लंका आएसी गरमपानी आम्ने ट्रक गाडी जति नि पाइन्चन् । तपैंला सजिलो हुन्च । लौ त्यै गर्नुओला ।

    लिला कालिकोटा माड्साब मेरो जीवनमा अर्का अवतारी पुरुष सावित हुनुभयो । त्यसो त बाको खोजीमा मेघालय पसेदेखिनै मैले हर कुनाकाप्चा र गल्लीहरूमा हजार सहयोगी हातहरू पाएँ र ती सबै सहयोगी हातहरू मेरोलागि सबैका सबै अवतरी हातहरू थिए । पहिलोबास नङ्पोमा संगत जुर्नुभएका दाजु रणबहादुर क्षेत्री, मोति पाण्डे, शिलाङमा तील कार्की, कुन्दन भट्टराई, प्रेम खनाल, लक्ष्मण रायमाझी हुँदै गरमपानी क्षेत्रका दाजुहरूको मप्रतिको सद्भाव बेमिसाल थियो । त्यसपछिका सुखदुख तथा कष्टपूर्ण दिनहरूमा  मलाई काँध थाप्ने, जीवनदान दिने अनेकौ मनहरू फेला परे । समयक्रममा ती मनहरूको चर्चापरिचर्चा जारी रहला । 
    २०८० मंसीर २२
    बुटवल 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology