Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सवारीको बेमिसाल घोँडा

सवारीको बेमिसाल घोँडा

  • 2.0K
    SHARES

  • सवारीको बेमिसाल घोँडा

    -दीपक 

    ३ किलो गरमपानी क्षेत्र खन्डमड्याम निर्माणको दौरानमा डुबेको बस्तीको नाम तुङबुङबस्ती रहेको कुरो वेदु दाइभाउजुबाट थाहा पाएको थिएँ मैले । उहाँहरूको क्वाटरमा केही रातको बसाइमा दाइभाउजुले मलाई गरमपानीक्षेत्रको बारेमा जानेजति बताउनुभएको थियो ।

    पावरहाउस निर्माणपश्चात फराकिलो बाटोको निर्माण भएको, आसामसँग सिमाना जोडिएका मेघालयका पहाडहरूमा खनिज कोइलाको उत्खनन् हुनथालेपछि चहलपहल बढ्दै गएको र काठको काम शुरुवात भएपछि उमराङ्सो बजार फैलिएको कुरो दाइले बताउनु भएको थियो ।

    त्यसमा पनि पावरहाउसको निर्माण र १२ किलोमा नेप्को कम्पनीका कर्मचारीको लागि आवासको निर्माण भएपछि मानिसहरूको चलहपहल बढ्दै गएको पनि बताउनु भएको थियो दाइभाउजुले । तुङबुङबस्तीको २९ किलोमा स्थान्तरण गरिएको हुनाले बस्तीको नाम पनि पुरानै बस्तीको नामको अगाडि न्यु जोडेर न्यु तुङबुङ रहन गएको कुराको पनि उहाँहरूबाटै जानकारी भएको थियो मलाई ।

    टाटा गाडीबाट ओर्लिएर पानदोकानबाट छेलिएर होटेलको गल्लीहुँदै म तलतिर लागेँ । कुवाँमा पानीतान्ने महिलाहरूको उपस्थिति थिएन त्यो दिन । सरासर माड्साबको क्वाटरमा पुगेर ढोका खुलै रहेको देखेर भित्र पसेको थिएँ । —ए ! आउनु भो ? ल बस्नुस् । म’नि भर्खर स्कुल बन्द गरेर आ’को हुम् । जाडोको बेलाँ स्कुल छिट्टै बन्द गरिन्च । केट्केटी धेरै छैनन् । यसै बस्तीका केट्केटीमात्रै हुन् याँ पढ्ने । पैले ३ किलोआँ सरकारी स्कुलाँ पढ्थे । बस्ती सरेसि याँ आए । केट्केटीला पढाम्न त जसरी नि परो । बस्तीका मान्छे कसरी कसरी मलाई बोलाम्न घरमै पुगे । ऐलै मैले नै पढाम्दै छु ।’ लिला माड्साबले मेरो स्वागतको साथमा स्कुल र आफ्नो बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो ।

    घाम ओझेल पर्दैथियो २९ किलोबाट । घामको ओझेलसँगै जाडोकोपारो पनि बढ्दै गयो बिस्तारै । म र माड्साबको बीचमा जानकारीको आदानप्रदान पनि हुँदैगर्दा उहाँले स्टोभ सल्काएर चिया पनि बनाइसक्नु भएको थियो । चिया बिस्कुट दिँदै माड्साबले सोध्नुभएको थियो—ठ्याक्कै लाहुर लाग्ने खालको त देखिनुन्न तपैं । यस्तो के आपत आइलागो र यसरी भौतारिँदै हिड्नु भा’च ? कतिपय कुराहरू पहिलो र त्यसपछिका देखभेटमा छिमलिएका विषय थिए । तर यसपटक म उहाँकोमा आडैलाग्न पुगेकाले कुरो गहिरोसँग हुनुपर्ने नै भयो । आफुसँग जीवनको भीख माग्न आएको मान्छेबारे पूर्णजानकारी हुनु जरुरी हुने नै भयो । 
    आम नेपालीको गहुँगारो चेहराभन्दा केही गोरो हुनुहुन्थ्यो लिला माड्साब । सफाचट जुंगादाह्री । मिलाएर काटेको कपाल । सेता कपडा लगाउने उहाँको आदत थियो सायद । पहिलो दिनको भेटदेखि नै मैलो उहाँलाई सोही सेतो पहिरनमा देखेको थिएँ । उचाइ पाँच फुटभन्दा एकाध इन्च बढी थियो होला । उहाँको उज्योलो चेहरामा आँखा डुलाउँदै मैले सामान्य उत्तर दिएको थिएँ—यस्तै भओ माड्साब । पढाइ छोडेर यताउताको काम गर्दै थेँ । बसोवास पोखरातिर थ्यो । घरआउँदा जाँदा चिनजान भएकी नानीसित बिहे पनि भै’हाल्यो । घरबाट बा विदेशिएको र अत्तोपत्तो हराको भन्ने खबर पोखरासम्म पुगो । बा हराएसी घराँ आमा ससाना भाइबहिनीको विजोग हुने नै भओ । काँ गए हुनन् बा ? उनलाई खोन्जतिर लागेँ । सोधिखोजी गर्दागर्दै बा मेघालय पसेको थाहा भओ । उनको खोजी गर्दागर्दै मसमेत लाहुरे भएँ ।

    मिल्नेजति र विश्वास हुनेजति कुराहरू सुनाएको थिएँ मैले माड्साबलाई । गुल्मीको मान्छे कसरी कास्कीको पोखरामा पढ्न पुग्योभन्ने उहाँको जिज्ञासालाई मिसनको छात्रवृत्तिको कुरोभने नसुनाइनहुने अवस्था आएको थियो मउपर । तर राजनीति आस्था र पढाइ हापेर कम्युनिष्ट पार्टीको पेशेवर कार्यकर्ता हुनपुगेको कुरो भने खोलेको थिइन । चार वर्षसम्मको लामो पार्टीको संगत जुरेको कारणले गर्दा पनि कतिपय कुराहरू मिलाएर भन्न सक्ने भएको थिएँ म । त्यहि सीपको सदुपयोग गर्दै माड्साबलाई बेहालीको दर्दभरी कहानी सुनाएको थिएँ ।

    “काम पाइन्च, नपाइने होइन । हाजिरासाजिराको काम त जतिनि पाइन्छ । तर अफिसको काम पाउन अलि गाह्रो छ । १९ किलोका क्षेत्रीले भनेया रैचन—२३ किलोको कम्पनीमा काम पाइने कुरो । मास्टर भ’को नाताले उनले मलाई चिनेया होलान् । तर मसँग उनको भेट भ’को छैन । हाइदरको कुरो गर्नुभ’को थ्यो, तपैंले । तर मैले चिन्दिन उनलाई । यतैनि छन् मारवाडीका काठ कम्पनी । कम्पनीका मालिकसित मेरो राम्रै जानपहिचान छ । उनीहरूलाई भनि हेरम्ला । नयाँ बस्ती हो यो । सप्पै किसानी गर्छन् । गाई पाल्छन् । खेतीपाती त मुख्य पेसो नै भओ । दाउसाउ, हैसााँबन्चरा नि चाहिन्छ नै ।

    याँ भाँडाकुडा अर्जाप्ने आरन आइसकेको छैन । बाको आरन नि चल्ला” माड्साबले यी र यस्तैयस्तै कुरा गरेर मेरो मन राख्नु भएको थियो । चिया बिस्कुटको अन्तिम तुराइसम्म लिला माड्साब र मेरो बीचमा मेरै कामको बारेका लामो कुरोकानी भएको थियो । त्यसै दौरानमा उहाँले मेरो पढाइको स्तरबारे पनि जानकारी लिनुभएको थियो । पढाइको सम्बन्धमाभने मैले माड्साबसँग झुट बोलिन । प्रवेशिका अथवा एसएलसी पास गरेको र क्याम्पस पढ्दापढ्दै छोडेको कुरो खुलस्त बताएको थिएँ । कतिपय कुरा मैले उहाँलाई यस अघिका भेटमा पनि बताइसकेको थिएँ । 
    घाम डुब्ने बेला भएता पनि बासै बस्ने साँझ पलाइसकेको थिएन । त्यतिछिट्टै खाना पकाउने मेसो गर्न पनि भएन सायद । लिला माड्साबले नै बजार घुम्ने र सम्भावित हाम्रो पारिवारिक बसोबासको ठाउँ खोज्ने कुरो गर्नुभएको थियो । तदनुसार उहाँ जुन पहिरनमा हुनुहुन्थ्यो, सोही पहिरनमा निस्कन तैयार हुँदै भन्नु भएको थियो—जाम हिड्नुस्, आरन चलाउन र बास पनि हुने ठाउँ खोजम् । 
    बाँसको कप्टेराले बनेको ढोका ढप्काएर निस्केका थियौं हामी । उहाँ अघिअघि म पछिपछि कुवाँलाई दाहिना पारेर गल्छी पारगरेर पानदोकान भएतिर निस्कियौं । “अबको बास मेरो यतै होला सायद” मैले २९ किलोलाई आफ्नोपनको नजरले हेरेको थिएँ पहिलोपटक । त्योभन्दा पहिले मैले त्यस ठाउँलाई एउटा मुकामको रुपमा मात्र हेरेको थिएँ । जहाँ क्षेणिक समय बासबस्ने हो र अर्को बिहान उठेर आफ्नो गन्तब्य तर्फ लाग्ने हो । किनकि कामको कुनै मेसो मिल्लाजस्तो थिएन । उमराङ्सो आउँदा मत २३ किलोको जंगलक्याम्पको सपना बोकेर आएको थिएँ । तर अब त २९ किलो अथवा न्यू तुङबुङ बस्ती मेरो गन्तब्य नै बन्न गइरहेको थियो । सो ठाउँका संरचना, कुलकुलेसाको अवस्था, दोकानहरूका प्रकार तथा मानिसहरूको चहलपहललाई विशेष नजरले हेर्न थालेँ । “याँ पैले कुनै शर्मा थरको पन्जाबीको ठूलो काठ कम्पनी थ्यो ।

    यो खाली घर उनले आफ्ना लेबर राख्न बनाका थिए रे ।” होटेल घरको गल्लीसँगै बनेको खरले छाएको सुन्दर घरलाई देखाउँदै माड्साबले जानकारी दिनुभएको थियो । त्यो घर अन्य घरभन्दा केही फरक थियो । लामो बरन्डा सहितको दुईपाखे त्यो घरको माथिल्लो भाग पुरै खाली देखिन्थ्यो । पिँडीलाई प्लास्टर गरेर चिल्लो बनाइएको थियो । कम्पनी बन्दभएपछि मानिस बस्न मिल्ने त्यो घरलाई ठेकेदारले त्यसै छोडेर गएका रहेछन् । 
    लिला कालिकोटा माड्साबले मलाई २९ किलो बस्तीको राजमार्गसाइडको पूर्वदेखि पश्चिमसम्मको सबै भाग डुलाउनु भएको थियो । एउटा टिलाजस्तो ठाउँमा एउटा बान्कीको लाइनहोटेल देखियो । होटेलको नाम बस्नेत होटेल लेखिएको साइनबोर्डबाट थाहा पाएको थिएँ मैले । त्योभन्दा केही अगाडी एउटा लामो दुईपाखे नेपाली बान्कीमा बनेको घर देखियो र्। यो घर सेर्पिनी दिदीको हो । बुढा छैनन्, बितेको सुन्थेँ । दिदीले रक्सीपानी बिक्री गरेर केटाकेटी पाल्नुभएको छ । मैले पढाम्ने स्कुलाँ जान्छन् नानीबाबुहरू ।’ माड्साबले सेर्पेनीदिदीको बारेमा बताउँदा म अचम्मित भएको थिएँ । मेरो अवोध सोंच थियो, प्रदेश (भारत) लाग्ने त सेर्पाइतर जात बाहुन, क्षेत्री, मगर, राईलिम्बु, तामाङ र कामी मात्र हो । उनीहरू त हङकङ, सिंगापुर। बेलायततिर मात्र जान्छन् भन्ने मेरो सोंच थियो । त्यो सोंच मेरो पोखरा बसाइको दौरानमै विकास भएको थियो ।

    सेर्पेनी दिदीको घरको पूर्वतिर कुनै घर थिएनन् । त्यहाँबाट केही उकालो चढेपछि माथि टिलामा बनेको आसामटाइपको घर देखाउँदै माड्साबले भन्नुभएको थियो— त्यो फरेस्ट चौकी हो । जंगलको काठ लोड गरेर लंका जाने गाडीको पास बन्छ त्याँ । उता गरमपानीतिराट आउने लोडगाडीला गेटइन्ट्री गराम्न पर्च । चौकीका इन्चार्ज एकजना पठान खान साहेब छन् । सुनिन्छ उनले नेपालीहरूलाई खुब सहयोग गर्छन् । 
    बस्नेत होटेलका मालिककको सानदार ब्यक्तित्व थियो । उहाँले माड्साबलाई खुब मानखातिर गरेको देखेको थिएँ मैले । बस्नेतसँग मेरो परिचय दिँदै माड्साबले भन्नुभएको थियो— भाइ नेपालबाट आउनुभ’को र’च । मेघालयको नङ्पोमा सपरिवार बस्नुुन्च रे । काँकाँट २९ किलोओ कुरो सुनेर यतै बस्नि भनेर आउनु भा’च । आज बस्ती देखाम्न हिडेओचु ।

    मेरा बाले गर्ने कामको प्रकृतिबारे पनि लिला माड्साबले होटेल साहुलाई बताउनु भएको थियो । बाले गर्ने कामको कुरो सुनेर औधी खुशीहुँदै भन्नु उहाँले भएको थियो—एउटा आरन चाहिएको छ, २९ किलोआँ । तुङबुङटा बस्ती त आओ याँ । तर त्यताको आरन १२ किलो नै बसो । यता आएन । याँका मान्छेलाई भाँडाकुडा अर्जाप्न खुब दुःख च । त्यत्तिकामको लागि कि १२ किलो कित लंका पुग्नुपर्च । 
    २९ किलोमा आरन आउने कुराको जति खुशी होटेलसाहुलाई भएको थियो, त्योभन्दा हजार गुणा खुशी ममा छाएको थियो । “अहो ! ठीकै ठाममा आइएच” मेरो मनले पुलकित हुँदै आकाश छोएको थियो । “मलाई नि ठीक लागेओ च दाजु । बस्तीलाई सजिलो नि हुनी, यी भाइला नि दुईचार पैसाको कमाईको मेसो नि मिल्नी ।” माड्साबले होटेल साहुुलाई जवाफ दिनुभएको थियो । 
    “ठामको दुःख हुन्न । आरन त जाँ राखे नि चल्च । यै सेर्पेनी बैनीको आगनाँ आरन राख्निहोभने बहुत खासा हुन्च । बाटोको छेउँ नि पर्नि । बस्तीला पायक नि पर्च । बैनीला भाडा पनि हुन्च, मुखबोलो साथी पनि हुन्च” बस्नेत होटेलका साहुले सहृदयता देखाउनु भएको थियो । “हो तनि । बहुतै राम्रो हुन्च” माड्साबले पनि उहाँको कुरोमा सहिछाप गर्नुभएको थियो । 
    “चा खाएर जानुस् माड्साब” लिला माड्साबले भिन्दै प्रतिष्ठा रहेछ २९ किलोमा । साहुको अग्रहलाई बिनम्र अस्वीकार गर्दै लिला माड्साबले भन्नुभएको थियो— ऐले खाइएन दाजु । भर्खरै डेराँ खा र आका हुम् ।

    पहिले  भाइला बजार चिनाम् । बस्नेबासको चाँजोपाँजो मिलाम् । फेरि खाम्ला ।” पानदोकानी कान्छोभाइ, कुवाँमा पानी भर्ने पदेर्नीदेखि होटेलमालिक बस्नेत साहुजीको लिला कालिकोटा माड्साबप्रतिको सम्मानभाव बेमिसाल थियो । शिक्षित हुनुको प्रतिफल थियो सायद त्यो । शिक्षाले सभ्यताको जगमात्र खन्दोरहेनछ, त्यसको जगेर्ना पनि गर्दोरहेछ भन्ने मिसाल हुनुहुन्थ्यो मेरा सजातीय कालिकोटा माड्साब । 
    २९ किलोको वारपार निरीक्षण गरिएको थियो त्यो बेलुकी । टायरदोकान, मिठाइपसल, विभिन्न प्रकारका भोजनालय, ससाना लाइनहोटेल, कान्छाभाइको चल्तीको पानदोकान, स्कुलको लागि छुट्याइएको प्रस्तावित जमीन तथा त्यहाँ बन्दैगरेको संरचना, बर्तमानमा पढाइ सञ्चालन भइरहेको कुनै किसानको परित्यक्त गाइगोठलाई पनि निरीक्षण गरिएको थियो । माड्साबले गोठको बारेमा बताउँदै भन्नुभएको थियो—पहिले याँ गाईगोठ थ्यो, कुनै महाजनको । यस भेगाँ घाँस पाइन छाडेसी महाजनले गोठ अन्यत्र सारे । गोठ खाली भओ । ऐले स्कुल चलाम्ँदै छु मैले । स्कुल बनाउन समिति बनेओ छ । काठ व्यापारीले सहयोग गर्नेभन्ने कुरो छ । छिट्टै बन्च र उतै सार्ने हो । आसाम मेघालयमा गाईपालक किसानहरूलाई महाजन भनिन्छ भन्ने कुरो मैले नङ्पो बस्दा नै चाल पाएको थिएँ । विशेषतः महाजनहरूले आफैले गाईको रेखदेख गर्दैनन् । आवश्यकताअनुरुप हेरालु राखेर दुधघ्युको व्यापार गरिरहेका हुँन्छन् र ती महाजनहरू अधिकांश नेपालीहरूनै हुँदारहेछन् ।  

    झपक्क ंसाँझ भएपछि क्वाटरमा फर्केका थियौं हामी । २९ किलोको त्यो बेलुकीको घुमफिरले मआफैले आफैलाई आधा २९ किलोवाला ठान्न थालेको थिएँ । जहाँ गयो त्यहिँको बासिन्दा ठान्ने मेरो पुरानो बानी थियो । पोखरा पुगनपुग आठ वर्ष विताएको थिएँ । मनमा आउँथ्यो, कास्की छोडेर कहिँ गइने छैन । बैदामसाइडमै घरबास हुनेछ । नङ्पोमा नङ्पोबासी बन्न अनेकौ उखर्माउलो गरियो । १२ किलो मगर तथा तीलक दाजुकोमा रजगज गर्दा आफुलाई आधा उमराङ्सोबासी संझिन थालेको थिएँ । यता २९ किलोको लिला माड्साबको सेवासत्कार तथा मेरो बसाइको बन्दोबस्तीको दौडधुप देख्दा आधा २९ किलोबासीमा रुपान्तरण हुन थालिसकेको थियो । राति खाना खाएर सुत्नेबेलामा माड्साबले मेरो अन्तिम मनशाय बुझ्नु भएको थियो— लौ भन्नुस् कस्तो लागो यो ठाम ? डेरासेरा खोजुम् कि नाइ ?

    म जुन नौकामा सवार थिएँ, त्यसमा विशाल प्वाल परिसकेको थियो र डुबानको तैयारीमा थियो । निमेष निमेष समयसीमा मेरोलागि मृत्युको समयरेखामा परिणत हुँदैथियो । बरु दैनिक मजुरी, देहाडी गरुँला, नङ्पो त बस्दैबस्दिन । मनमा जो ठीठ, अठोठ पलाएको थियो, लिला माड्साबलाई जवाफ दिएको थिएँ— खोजौ माड्साब कोठा । दुईचार दिनमै सप्पैलाई ले’र आउचु म । र त्यो रात सपनाको वेमिसाल घोँडामा सवार भएर आकाश चहारेको थिएँ मैले । 
    २०८० मंसीर ८
    बुटवल ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology