Logo मंगलवार, श्रावण १२ गते २०८३
images

म मजस्तै रहन नसक्नुको असैह्य पीडा

म मजस्तै रहन नसक्नुको असैह्य पीडा

  • 2.0K
    SHARES

  • म मजस्तै रहन नसक्नुको असैह्य पीडा

    दीपक विश्वकर्मा(छविलाल)

    रंगीविरंगी च्यादरजस्तै फैलिएको छ गरमपानी क्षेत्र । जंगल जंगल नै भइहाल्यो, मानवनिर्मत अजंकाका दुइवटा ताल, विशाल क्षेत्रफलमा फैलिएको फाँट तथा खनिज पदार्थले भरिपूर्ण क्षेत्र हो गरमपानी क्षेत्र । सोही च्यादरलाई मनैभरि हेर्नसकिने डाँडामा बनेको सरकारी क्वाटर पाउनुभएको थियो वेदु दाजुले । बिहान घाम उदाएपछि अस्तनभएसम्म घामको पार लाग्थ्यो क्वाटरमा । सो ठाउँबाट उज्यालो मौसममा गरमपानी, उमराङ्सो क्षेत्रको जंगलैजंगलको साम्राज्य देखिँदो रहेछ । सानैदेखिको एकाबिहानै उठ्ने बानी ओझेल परेको थिएन मबाट, त्यसैले दाइभाउजुभन्दा पहिल्यै उठिसक्थे म ।

    रहँदाबस्दा तातोपानी कसरी बनाउनेभन्ने सीप पनि सिकिसकेको थिएँ । दाजुभाउजुहरूसँग बिदाभएर २९ किलो कालिकोटा मास्टरजीसँग बस्नजाने दिनमा आफैले बिजुलीमा उमालेर तताएको पानीले धेरै दिनदेखि कलेटी परेर बसेको शरीरको मयल पखालीओरी आफुलाई हल्का बनाएको थिएँ । तीनकिलोको घाम उदायो । सो घाम उदाउनुभन्दा पहिले दाइभाउजु पनि उठ्नु भयो । नुहाइधुवाइ सकेपछि उही रातो चिया आमगरमपानीबासीको भाषाको लालचा र साथमा बिस्कुटको नास्ता गरिएको थियो सो बिहान । भाउजुको काम अलि बढी हुने नै भयो । बाबुहरूलाई तैयार गर्नुपर्ने । उनीहरूको लागि खाना, दिनको लागि नास्ता तैयार गर्नुपर्ने । सानोबाबुको हेरचाह गर्नु पर्ने । हामीलाई चा बिस्कुट पनि तैयार गरेर दिनुपर्ने । उहाँ मेसिनलेजस्तै सबैकाम एकएक गरेर सक्दै हुनुहुन्थ्यो । दाजु र मभने बैठककोठामा बसेर गन्थन गरेका थियों । 

    “याँ हजुरहरूसित बिदा’ भर उन्तीस किलो जान्चु दाजु आज । मास्टरजीले बस्नेगरि आउन भन्नु भाच । बाको आरनको लागि ठाम खोज्ने, सुत्नबस्न मिल्ने कोठा खोज्ने, सबै काम मिलाम्ला भन्नु भाच । मास्टरजस्तो मान्छेले भनेसी काम अवश्य होला । यतिका दिनसम्म हजुरहरूला दुःख दिएँ । गाह्रो नमान्नु होला ।” रातिनै मैले मनमनै २९ किलोजाने प्रोग्राम बनाइसकेको थिएँ । ३ किलो रात बिताएर दैनिक २५ किलोको यात्रा निकै लामो सफर हुन्थ्यो । आइजाइमा ५०÷५२ किलोमिटरको यात्रा छोटो यात्रा हुन्थेन । कामको चाँजोपाँजोको पनि लगभग टुङ्गो लागिसकेको थियो । पहिले सपरिवार २९ किलोमा टेकिने ।

    बाले ससानो आरन गर्ने । मैले सकेसम्म २३ किलोको आसामी मारवाडीहरूको काठ कम्पनीमा काम खोज्ने, त्यताको मेसो नमिलेमा २९ किलोमै रहेको अर्को मारवाडी काठ कम्पनीमा नोकरी गर्नेभन्ने कुराको मेसो मास्टरजी आफैले मिलाइरहनुभएको थियो । मलाई चाहिएको पनि तत्तत् कुराहरू नै थिए । तदनुसार कुराकानी मिल्दै गएकाले दाजुहरूकोमा पाहुना लागेर बसिरहन उपयुक्त हुँदैन थियो । तिनै कुराहरूको मध्यनजर दाजुभाउजुलाई सो दिनको योजना सुनाएर उहाँहरूसँग बिदावारी हुने सोँच बनाएको थिएँ मैले ।

    “काम कुरो मिल्नेछाँट देख्नुभ’को छभने जानुस् । वाँ नङ्पोआँ कहिले आउला भनेर परिवारले बाटो हेरेर बसेका होलान् । तर, आउनुभो, आउनुभो त्यसै नफर्किनुस् । काम मिलार मात्र फर्किनुस् । प्रदेशको ठाममा बिना मेसो धेरै दिन टिक्न सकिन्न ।” वेदुदाजुले दिलेरी सल्लाह दिनुभएको थियो । भाउजुको पनि सोही राय रहयो । भाउजुले त झन् नङ्पोबाट २९ किलो आउँदा शिलाङ, ज्वाईं, आठमाइलहुँदै आसाम पस्ने र उहाँहरूकै क्वाटरमा एकरात बास बसेर २९ किलो जाने सल्लाह दिनुभएको थियो । भाउजुको सो सल्लाह दिलेरी मनको उपज थियो । तर बसाइ, काम र बन्दोबस्तीको टुङ्गो नलाग्दासम्म यसै भन्न सकिने अवस्था थिएन । त्यसै पनि सिङ्गो आरनका औजार, लत्ताकपडा र दैनिकीका सम्पूर्ण सामान बोकेर हिड्नु पर्ने भएकाले भाउजुलाई हुन्छ वा हुन्नको जवाफ दिन सकिने अवस्था थिएन । “पहिले काम र बस्ने कोठाको बन्दोवस्ती होस् भाउजु । त्यसपछि अरु कुरा सोचौला ।” मैले उहाँलाई यस्तै मनसायका कुरा सुनाएको थिएँ ।

    बातचितकै दौरानमा भाउजुले खाना तैयार गर्नुभयो । दुई बाबुहरूलाई ९ बजे नै स्कुलको लागि तैयार गर्नुपर्ने भएकोले पनि उहाँ काममा व्यस्त हुनुहुन्थ्यो । बाबुहरूले पढ्ने भारत सरकार मातहतको केन्द्रिय स्कुल रहेछ । सो स्कुल नेप्पोका कर्मचारीका छोराछोरीमात्र पढ्नको लागि खोलिएको कुरो भाउजुले बताउनु भएको थियो मलाई । म आफैपनि एक स्तरीय स्कुलमा पढ्ने मौका पाएको नाथे भएको कारणले पनि स्कुलकलेजको बारेमा अलिबढी चासो लिने गर्दथेँ ।

    सो बिहानको खाना बाबुहरूको साथमै खाइयो । बाबुहरू ९ बजे स्कुलको लागि हिड्नु पर्ने । कम्पनी कै गाडीले ल्याउने लैजाने गर्दो रहेछ उनीहरूलाई । वेदुदाजुलाई हाकिमले बोलाएमात्र छिटो जानुपर्ने रहेछ । नत्रभने अफिसको समय दश बजे वा अघिपछि गएपनि हुँदोरहेछ । बाबुहरूलाई बससम्म पु¥याउन भाउजु जानुभएको थियो । वेदुदाजु, सानोबाबु र म क्वाटरमै बसेका थियौं । दाजुले भन्नुभएको थियो— मास्टरले भनेका छन् भने काम मिल्छ । तर बेलुकी सुत्नबस्न असजिलो भयोभने उता नङ्पो नफर्किदासम्म यतै आइजाइ गर्नुहोला । तपैंको बारेमा शिलाङका साथीहरूले सबै कुरो बताउनु भएको छ मलाई ।

    काम खोज्न नसकेता पनि काम नमिल्दासम्म तपाईंलाई यहाँ हाम्रोमा खानबस्न कुनै समस्या हुनेछैन । आफ्नै दाजुभाउजु सम्झेर बस्नुस् । साथीभाइ भनेको दुःखको बेलाँमा त हो चाहिने । त्यसैमा पनि यो त प्रदेश हो । प्रदेशमा त झन् साथीभाइको सरसहयोगले बाँच्ने हो । विचारको सानो झिल्कोको लेपनले मात्र पनि मान्छेको मनमा आउने परिवर्तनको मिसाल हुनुहुन्थ्यो, पूर्वोत्तर भारतमा मैले संगत र सहकार्य गरेका साथीहरू । सबैको उद्गत हिन्दु सम्प्रदाय नै थियो ।

    तर उहाँहरू सबका सब जातबाट माथि उठ्नु भएको थियो । नामको पछाडि शर्मा, पाण्डे, क्षेत्री, मरासिनी, खनाल, रायमाझी, ज्ञवाली र अधिकारी लेख्नुहुन्थ्यो । मगर, थापा, लामा, राई र प्रधान लेख्नुहुन्थ्यो । नामथर, गोत्र जे लेखेता पनि उहाँहरूको निधारमा कम्युनिजमको लेपनले रंगीएको थियो । जसको कारणले उहाँहरू सबका सब जातबाट माथि हुनुहन्थ्यो । त्यसको कारण थियो, माक्र्सवादी अजयद्वीपको उज्यालोको सामिप्यता । साथीहरूको वर्गीय चेतनाको स्तर, माक्र्सवादको अध्ययनको सीमाको बारेमा म जानकार थिइन । तर सबैको एउटै ध्येय थियो, मन्त्र र उद्देश्य थियो— हामी कम्युनिष्ट हौं र कम्युनिष्टहरूले जात मान्दैनन् । र सबैको अर्को महान् उद्देश्य र अभिलाषा थियो, समाजको परिवर्तन । सोही कारणले तत्कालिन नेकपा(माले), त्यसको भातृसंगठन अखिल भारत प्रवासी नेपाली संगठनको संगतमा आउने, आवद्ध हुने हरसाथीहरू जातबाट माथि उठेका थिए । सायद माक्र्सवादी सौदर्यचेत भनेको पनि त्यहि होला ।

    रहलपहल सामान एवम् भिटीझाम्टीहरू उही पुन्टुरेमा कोचारे मैले । ससानो गम्छा, दाँतमाझ्ने ब्रस, कोलगेटको सानो ट्युब, एउटा कलम, नामठेगाना टिपोटको लागि बोकेको सानो डायरी, एकाधजोर भित्री कपडालाई बिहानै पुन्टुरेमा ठोँसेको थिएँ । जाडोको ओतको लागि बोकेको थिएँ, पोखरामा बस्दा किनेको ज्याकेट, त्यसलाई ज्यानमै भिरेको थिएँ । किनकि बाहिर जाडो नै थियो । म यता तैयार हुनु र भाउजु बाबुहरूलाई स्कुलबसमा चढाएर आउनु एकैसाथ भएको थियो । म हिड्न तैयार भएको देखेर भाउजुले भन्नुभएको थियो—भर्खरै गएर के गर्नुहुन्छ ? एकछिन आराम गर्नुस् नानी । दिउँसो नास्ता खाइओरी जानुहोला । खर्चपानी के कति बोकेर हिड्नु भएको छ ? प्रदेशको ठाउँमा विचार पु¥याउनु पर्छ । फेरि २९ किलो पुग्न धेरै टाइम पनि लाग्दैन ।

    दाजुभाउजुको त्यो दिलेरी माया, सद्भाव र सुझाव पबित्र मनको उपज थियो । तर मलाई सिंहासनको समाधिजस्तो एकै ठाउँमा अड्डा जमाएर हुँदैनथियो । मेरो यात्रा अनिश्चतै अनिश्चताले भरिएको लंगमार्च जो थियो । जसको टुप्पो कहाँसम्म पुग्ने हो भन्ने ठेगान थिएन । अनिश्चिताको सो अंकगणितीय हिसाबलाई भने म जसरी पनि हलगर्न बाध्य थिएँ । किनकि त्यो लंगमार्च मेरो मात्र होइन, सिङ्गो परिवारको अस्तित्वसँग एकाकार हुन पुगेको थियो ।

    दाजुभाउजुले नास्ता पानी खाएर दिनमा हिड्ने आग्रह गरेता पनि म झोला बोक्दै उहाँहरूसँग बिदा भएको थिएँ । दाजुको क्वाटरमा रहँदाबस्दा दाजुसँगै काम गर्ने केहि नेपाली दाजुभाइसँग पनि जानपहिचान भएको थियो । म दाजुको क्वाटरबाट हिड्नेबेलामा कतिपयले आउँदै गर्नुहोला है भन्दै शुभेच्छा प्रकट गरेका थिए । वेदुदाजुले कसिलो हात मिलाउनु भएको थियो । भाउजु र उहाँकी छिमेकी दिदीलाई नमस्कार गर्दै म बाटोमा ओर्लिएको थिएँ र कोइला बोकेर लंकातर्फ जाने टाटा ट्रकमा उठेर तीनकिलोबाट ओझेल परेको थिएँ ।

    वेदुदाजु पूर्विचितवन कतैको हुनुहुन्थ्यो । भाउजु मेघालयवासी खासी अथवा खसिया महिला हुनुहुन्थ्यो । तर भाउजु खासी नारी होभन्ने भेउनै पाउन मुस्किल पथ्र्यो । नेपालीहरूको आसाम मेघालय पसेपछि भाषामा शुद्धता हराउँछ । आसामी, बंगाली, नेपाली एकआपसमा समागम हुन पुग्छन् र भिन्दै किसिमको खिचडी भाषा तैयार हुन्छ । सोही खिचडी भाषाको कारणले नेपाली युवाहरूसँग बिहेवारी गरेका स्थानीय महिलाहरूलाई भाषाकै कारणले गैरनेपाली भनेर छुट्याउन सकिदैन । वेदु भाउजुको अवस्था पनि त्यहि थियो । चेहरा ब्राह्मण कुलको नभएता पनि उहाँको भाषिक उच्चारण हाम्रैजस्तो भइसकेको थियो । भाषागत ज्ञानभन्दा पनि ठूलो कुरो उहाँमा जो आथित्यताको महान् संस्कार थियो, सो संस्कारले मजस्तो मुसाफिरलाई पनि आफ्नै आमा, दिदी र दाइभाउजुको माया प्राप्त भएको थियो ।

    हप्ता दशदिनको रहनसहनले म आधा उमराङ्सोवासी भइसकेको थिएँ । तीन किलोदेखि २९ किलोसम्मका कुनाकाप्चा र खोलाखोल्सासँग समेत पूर्णतः जानकार भइसकेको थिएँ । बाह्रपन्द्र टन कोइला बोकेको टाटा ट्रक उकालो ओरालोमा लामोस्वास फेर्दै लम्किरहेको थियो । तीनकिलोबाट पाँच किलो नपुग्दासम्म ठाडै ओरालो झर्नुपर्ने हुन्छ । ५ किलोमा नयाँ पावरहाउस बन्दै थियो । यद्यपि पावरहाउसको संरचनागत स्वरुप बारे म जानकार थिइन । माथि डाँडाबाट अजंगका पाइपहरू तल समथर जमिनसम्म झरालिएको थियो । ८ किलोमा एक नेपालीले चियादोकान गर्दारहेछन् ।

    सो ठाउँसँग पनि परिचित हुन पुगेको थिएँ । १२ किलोमा रहेको फरेष्ट अफिसको चहलपहलसँग त यति जानकार भइसकेको थिएँ कि म आफुलाई १३ किलोकै रैथाने संझिन थालेको थिएँ ।  गेटको अगाडि बनेको लामो टहरो र सो टहरोलाई थुप्रै कोठाहरूमा बिभाजन गरी थापिएका पसलहरूमा कहाँ के बिक्री हुन्छ भन्ने कुराको समेत मलाई हेक्का हुन थालिसकेको थियो । एउटा पसलमा भने खब चहलपहल हुन्थ्यो, त्यो थियो दारुको पसल र त्यसको सञ्चालक हुनुहुन्थ्यो, नेपाली जनजाति चेहरा भएकी महिला । जतिबेला पनि भिडभाड देखिन्थ्यो सो पसलमा ।

    १३ किलोमा कागजपत्र गेटइन्द्री गरिसकेपछि १६ किलोसम्मको आरालो यात्रा लोडगाडीको लागि निकै सकसपूर्ण हुँदोरहेछ । बाटोमा पर्ने ससाना बस्ती, बाँझाबंजर जग्गाजमीनसँग पनि म पूर्णतः जानकार हुँदै गइरहेको थिएँ । एक हिसाबले भन्नेहो भने म आधाउधी गरमपानी वा उमराङ्सोवासी भइसकेको थिएँ । लोड गाडीलाई २६ किलोमिटर यात्रा तयगर्न लामो समय लाग्दोरहेछ । दशपन्द्र मिनेट १३ किलो फरेष्ट अफिसमा कागजपत्र इन्ट्री गर्न समय खर्च भएको थियो । अधिकांश ओरालोबाटो झर्दा ब्रेकको सहरा लिनुपर्दा ब्रेकसो तातिएर नमिठो गन्ध आउँदो रहेछ । जीवनका हरेक नयाँ पक्षहरूसँग एकाकार हुँदै थिएँ म । नयाँ ठाउँ, नयाँ चेहरा, हरेकदिन नुतन बातविचारसँगै जीवनको नयाँ गोरेटो कोरिदै कोरिदै गइरहेको थियो । दुइढाई घण्टाको लामो यात्रा तय गरेर कोइला गाडी २९ किलोमिटर पुग्यो । ३ किलोमा वेदुदाइभाउजु हुनुहुन्थ्यो । जहाँ मलाई रातविरात जतिबेलै पनि स्वागतको ढोका खुल्ला थियो । १२ किलोमा मगर तथा तिलक दाजु बस्नुहुन्थ्यो । उहाँहरू दुबैले उमराङ्सो पुग्दा होटेलमा बास नखोज्न सख्त चेतावनी दिनुभएको थियो । १९ किलोमा चन्द्रबहादुर क्षेत्री काकाको लकडीको डिपो थियो । जसले सिनियर मोहरी हाइदर अलीलाई भनसुन गर्ने बाचा गर्नुभएको थियो । २३ किलोमा मेरा संभावित मालिकहरूको जंगलक्याम्प थियो । जसलाई मनमनै मैले आफ्नो गन्तब्य ठान्न थालिसकेको थिएँ ।

    २९ किलोमा चन्द्रबहादुर क्षेत्रीकाकाले सुझाइदिनुभएको जातीय नाताको सेतु थियो, जुन सेतुमा एक पढालेखा मेरै जातका मास्टरको मानइज्जत र प्रतिष्ठा थियो । ट्रकबाट ओर्लिएर म पर्वते कान्छाभाइको पानदोकानबाट पारहुँदै शुरुवातको दिनमा ठानिएको साँघुरो तर बिस्तारै हुर्किदै गएर विशाल बन्नपुगेको गल्लीलाई पार गरेर मानप्रतिष्ठाधारी रामप्रसाद कालिकोटा माड्साबको क्वाटरको ढोकामा टुप्किएँ । स्कुल विदा थियो वा विदा भएर कोठामा आइसक्नुभएको थियो सोधखोज गर्ने कुरो भएन । ढोका खुलै थियो । म सरासर भित्र पसेर अभिवादन गर्दै भनेको थिएँ—म त ३ किलोबाट विदावारी भएर आएँ नि माड्साब । के गर्नुपर्ने हो अब हजुरकै हातमा ।

    “म मनै हुँ ।” म आफैलाई विश्वास लाग्थेन । आगनमा पँधेराबाट बोकेर ल्याएको भरि अंखोरामा गुर्दौलीमखमली फुलको सगुन सहित विदा हुँदै यात्रा शुरुभएको थियो मेरो । बा आमा, भाइबहिनी, आइआफन्तको आशा र भरोषाको केन्द्र थिएँ म । यात्राको मकसद थियो शिक्षाको आर्जन । त्यसमा पनि नेपालकै उत्कृष्टमध्येकै एक अतिउत्कृष्ट बोर्डिङ स्कुलबाट । तर जीवनको गारेटो यसरी मोडियो कि साँझ बिहान गासबासको लागि जोगीजस्तै भिक्षा माग्दै हिड्नु प¥यो । जीवनको अनौठो खेल, सो खेलमा पराजित म एक नादान मनुवा । साँच्चै जीवन मुसाफिर जस्तैजस्तै हुन पुग्यो । 
    २०८० कार्तिक २४
    बुटवल । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology