Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मैले तय गरेको लंगमार्च

मैले तय गरेको लंगमार्च

  • 2.1K
    SHARES

  • मैले तय गरेको लंगमार्च

    दीपक विश्वकर्मा(छविलाल)

    कालिकोटा मास्टरजीले मलाई कोइला ढुवानी गर्न मेघालयतर्फ जाने टाटा कम्पनीको ट्रकमा उठाइदिनु भएको भयो । ३ किलो वेदुराम शर्मा दाजुको क्वाटरमा फर्किदाँ मेरो तनमन पुलकित भएको थियो ।

    किनकि मास्टरजीले मलाई काम मिल्नसक्ने आश्वासन दिनुभएको थियो । २९ किलो जाँदा जुनजुन ठाउँहरू भएर गएको थिएँ, तिनैतिनै ठाउँलाई दिमागमा संयोजन गर्दै फर्किएँ म । विशेषतः २३ किलो जहाँ मेरा सम्भावित मालिकहरूको जंगलक्याम्प थियो, सो ठाउँलाई अलि बढी ख्याल गरेको थिएँ मैले । १९ किलो त झन् मेरो भाग्यरेखा नै भयो, चन्द्रबहादुर क्षेत्रीको एकझल्को पाउने आशामा खरको झोपडीबाट आँखा ओझेल नपरेसम्म गाडीको झ्यालबाट मुन्टो निकालेर नियालेको थिएँ । कुखुराको बासबस्ने बेला भइसकेको समय हुँदै थियो, त्यतिवेलासम्म क्षेत्री काका साइडमा बस्ने कुरो हुन्थेन । उहाँ देखिनुभएको थिएन ।

    हेर्दाहेर्दै ट्रक १९ किलो पार भएर १८ किलोको ओरालो झ¥यो । उही किलोमिटरवाला संकेत १८, १६, १२, ८, ५ हुँदै लगभग एकडेड घण्टा लगाएर साँझपख गाडी ३ किलो पुग्यो । म ३ किलोको मुख्यचोकसम्म पुगिन । माथि डाँडा मै ओर्लिएर वेदु दाजुको क्वाटरतिर लम्किएँ । 
    दाजुको क्वाटरमा पुगेँ म । म पुग्दा दिदीले बाबुहरूको स्याहार गर्दै हुनुहुन्थ्यो । हुर्किएका दुई बाबुहरूले रहलपहल स्कुलको होमवर्क गर्दै थिए । सानोबाबु सानै थिए । उनलाई लडिबुढी गर्दैमा ठिक्क थियो । मलाई टुप्लुक्क आइपुगेको देखेर दिदी औधीखुशी हुँदै भन्नुभएको थियो—याँ तपैं हराम्नु भओ कि भन्ने चिन्ता लागे ओ थ्यो हाम्लाई । शिलाङट दाजुनि आउनुभओ च । ऐले अफिसमै हुनुन्च । एक छिन पछि आउनुन्च । थाक्नुभओ होला, हातमुख धुनुस् । म चा बनाउँचु । 
    म आफ्नो अथवा दाइदिदीको पाहुना कोठामा पसेर बोकेर हिड्ने पुण्टुरे झोलालाई कुनामा थन्क्याएको थिएँ । यद्यपि त्यो झोलामा उल्लेखनीय सामान हुन्थेन । सानो आकारको टुथपेष्ट, एउटा दाँत माझ्ने ब्रस, ससानो गम्छा, यत्ति हुन्थ्यो सो पुन्टुरेमा । टन्न सामान कोचार्नेहोभने गालो स्लिपिङ्गब्यागको आकार लिन्थ्यो त्यो पुन्टुरेले । पोखरा बस्दै किनेको थिएँ त्यसलाई र जहाँजाँदा पनि सँगै लिएर हिँड्थे । एकहिसाबले साथीजस्तै थियो त्यो झोला मेरो । 
    पानीको छ्यालब्याल रहेछ, दाजुको क्वाटरमा । नुहाउन, लुगाफाटा धुन, धक मान्नुनपर्ने र बिजुली कम्पनीको क्वाटर भएको हुनाले पानी तताउँदा बिजुली खर्चको चिन्ता मान्नुपर्ने अवस्था रहेनछ त्यहाँ पनि । पानी बिहान बेलुकी दुई टाइम आएता पनि प्रसस्त आउने भएकाले दिदीले ड्रम तथा बाँटाहरूमा जम्मा गरेर राख्नुहुँदोरहेछ ।

    मैले नुहाउने कष्ट गरिन । सामान्य हातमुख धोएको थिएँ । हातमुख धोइओरी आएर बसेको थिएँ बैठक कोठामा । तबसम्म दिदीले पनि चिया बनाउनु भएको थियो र बिस्कुट सहित टक्र्याउनु भएको थियो । “भेट भओ होला, भेट गर्न गको मान्छेसित” दिदीको बोलीमा कुनै अस्पष्टता थिएन । आम नेपालीजनहरूको जस्तै भइसको रहेछ उहाँको नेपाली शब्दउच्चारण । सामान्य चेहराले स्थानीय रैथाने खासी महिलाजस्तो देखिएतापनि व्यवहारमा पुरै नेपालीेपन झल्किन्थ्यो । “भेटेँ, कुरो नि भओ । यतै गरमपानीयाट गका नेपालीका केटकेटीलाई पढाउँदा रचन् । सकेसम्म काम खोज्दिन्चु भन्नुभ’च । भोलि बस्नी गरेर आउने निम्ता गर्नु भा’च” मैले दिदीलाई खुशखबरी सुनाएको थिएँ । 
    नङ्पो छोडेर हिँडेको हप्तादिन पुग्न थालेको थियो मेरो । म यहाँ छु र यसहालतमा छु भनेर खबर गर्नुसक्ने कुनै माध्यम थिएन । ३ जना प्राणीलाई छोडेर हिँडेको थिएँ नङ्पोको बास छोड्दा । बा, जहान र बाकै माइलो छोरो, यति तीनथान प्राणी थिए मेरो पर्खाइमा बसेका । माइलो सानै थियो, पुगनपुग १५ वर्षको । पढाइ छोडेर तालतुङ्गतिरका बर्निहाट निवासी विष्णु पाण्डेको साथ लागेर बासँग पुगेको थियो भन्ने खबर मैले नङ्पोको मकैबारी पुग्दा थाहा पाएको थिएँ । पोखराबाट पहिलोपटक बाको खोजीमा नङ्पो पुग्दा राजमार्गको किनारमा रहेको खरबाँसको झोपडीमा सरणार्थीको बद्तर हालतमा फेलापारेको थिएँ दुई बाबुछोरालाई मैले । उनीहरूको त्यस्तो किसिमको बसाइको अवस्थाउपर म यति द्रवित भएको थिएँ कि नङ्पोबाट फर्केपछि अगाडिपछाडि केही नसोंचेर पार्टीसँग दुई वर्षको विदा स्वीकृत गराइ महासमुन्द्रमा डुब्दैगरेको बेडापार गर्ने मनोकाँक्षा सहित नङ्पो टुप्लिएको थिएँ ।

    तर जीवन सोंचेजस्तो र भनेजस्तो कहाँ हुँदोरहेछ र ? जीवनप्रतिको त्यहि कच्चा सोंचले मलाई केसम्म बनाएन ? आफ्नो औकातभन्दा वा ल्याकतले नभ्याउने आधुनिक कृषि औजार कारखानाको स्थापनाको आत्मघाती सोंच, सो सोंचको परिपुर्तिको लागि चाहिने पुँजी संकलनको लागि ऋण सापटीको चक्करमा दिल्लीसम्मको यात्रा ! अन्तिममा सबै विषयमा फेल भएपछि कामको खोजीमा उमराङ्सोको लंगमार्च ।

    बास्तवमा उमराङ्सो आमप्रचलनको गरमपानीको यात्रा मेरो जीवनको लंगमार्च नै थियो । लंगमार्च यस हिसावले मात्र थिएन कि उमराङ्सो नङ्पोबाट तीनचारसय किलोमिटरको दुरीमा होस् । लंगमार्च यस हिसाबले थियो कि अपरिपक्क सोंच, बालापनको हठ, जीवनलाई सहजरुपमा लिने मुर्खता र सबैभन्दा ठूलो कुरो धन आर्जनको पसिनाको मुल्यको अनमोल पाठ र सिकाइको कारणले लंगमार्च थियो त्यो यात्रा । चिनीया जनवादी क्रान्तिको सेरोफेरोमा माओले तयगरेको यात्राको नाम हो लंगमार्च । जो आज एक मिथक मात्र होइन, संसारभरीका परिवर्तनकामी योद्धाहरूलाई प्रेरणाको स्रोत बनेको छ । व्यक्तिगत तौरमा भन्नेहोभने मेरो सो यात्रा पनि लंगमार्च जस्तै थियो । जसलाई मैले छिचोल्न अनेकौ ठक्कर तथा हण्डरहरूका विशाल पहाडहरूलाई पन्छाउनु परेको थियो ।   
    यद्यपि मेरो त्यो लंगमार्चमा म एक्लै थिइन । अनकौं पृष्टपोषक तत्व तथा सहयोगी मित्रबन्धुहरूको समावेसिता अर्को उज्यालो पक्ष बनेर सँगसँगै रुमलिएको पनि थियो । तत्कालिन नेकपा(माले)मा काम गरेको कारणले शिलाङको बसाइ त्यागेर कास्की जिल्लामा भूमिगत कार्यकर्ता बन्न पुग्नुभएकी क.राधा ज्ञवालीसँग जानपहिचान थियो मेरो । किनकि हामीले एउटै कास्की जिल्ला कमिटीमा सँगसँगै काम ग¥यौं ।

    बाको खोजीमा नङ्पो जानेभन्ने कुरालाई पार्टीमा छलफलको विषय बनाउँदा उहाँले नङ्पोका साथीहरूको मात्र नाम ठेगानामात्र दिनुभएन, शिलाङका तमाम साथीहरूको नामको लामो लिष्ट नै हातमा थमाइदिनु भएको थियो । शिलाङमै दाजु दिल साहनीसँग टुप्लुक्क भेट भयो । उहाँसँग कास्की जिल्ला कमिटीमा सँगै काम गरेको हुनाले कमरेडी व्यवहार पुनः स्थापित नहुने कुरै थिएन । यद्यपि पदको हिसाबले उहाँ गण्डकी क्षेत्रीय कमिटीमा पुगिसक्नुभएको थियो जस्तो लाग्छ । तर विविध कारणले उहाँ पार्टीसँग विदाभइ आफ्नो बाँकी रहेको कानुनको परिक्षा दिन शिलाङमा पुग्नुभएको थियो । 
    दिल साहनी शिलाङको सबैभन्दा स्थापित र प्यारो नाम हो । परिवर्तनप्रतिको समर्पण, साहित्यको साधनामार्फत सामाजिक रुपान्तरणको लागि मेघालयले मात्र होइन, समग्र उत्तरपूर्वी भारतले संझिन्छ उहाँलाई । उहाँसँगको मेरो उठबस र बोलिचालीकोस्तरले शिलाङका साथीहरूलाई म पार्टीको एकस्तरमा काम गरेको मान्छे रहेछुभन्ने विश्वास(यसलाई भ्रम भन्दा पनि हुन्छ) स्थापित भयो । नङ्पोका साथीहरू दिवंगत रणबहादुर क्षेत्री, भेटेनरी अफिसमा काम गर्नुहुने गोपाल क्षेत्री र गाई पालक मोति पाण्डेलगायत दाजु तथा साथीहरूले भावनात्मकरुपले भएपनि एक्लो महशुस हुन दिनु भएन । शिलाङमै भेट भयो, तत्कालिन मालेका भारत प्रवास विभाग प्रमुख सी.पी. मैनाली र उहाँकी धर्मपत्नी क. निलमसँग ।

    उहाँले मलाई प्रवासी नेपाली संगठनको पूर्वोत्तर राज्यसम्मेलनमा नेपालको किसान प्रधिनिधिकोरुपमा मञ्चमा आसनग्रहण गराउनु भयो र मन्तब्य राख्ने अवसर दिनु भयो । अनिताजी र निलम के.सी.को दोस्ती कायम भयो । अनिताजीका पाल्पाली ढाकाको चोली र सारी लगाएर निलम के.सी.ले सम्मेलनमा जनवादी नाच प्रस्तुत गर्नुभएको थियो । मेरो आर्थिक तथा सामाजिक हैसियतको पारो माइनस थियो तर पनि यी सबै घटनापरिघटनाले मलाई उत्तरपूर्वी नेपाली समाजको एकतप्कासँग जोडिएर रहन टेको मिल्यो । र ती सबै कारणले गर्दा उमराङ्सोसम्मको यात्रा र सो ठाउँमा खान, बस्न र मनका कुरा खोल्न पारिवारिक वातावरण सहजै उपलब्ध भयो । 
    साडेपाँच फुट आग्लो खिरिलो ज्यान रहेछ वेदु उर्फ वेदुराम शर्मा दाजुको । आम नेपालीको जस्तै गहुँगोरो चेहरा, तीखो बाहुने नाक, लामा हातगोडा दाजुको व्यक्तित्व थियो । दिदीले बनाएर दिनुभएको लालचा खाइ सकिदानसकिँदै अफिसको काम सकेर दाजु क्वाटरमा आउनु भएको थियो ।

    दाजु शिलाङमै भएको बेलामा उमराङ्सो पुगेर म उहाँकै क्वाटरमा बसिरहेको थिएँ । के कस्तो हुनुहुन्छ, कस्तो व्यवहार गर्नुहोला ? मनमा कौतुहलता हुने नै भयो । वेदुदाजु जब ढोका खोलेर भित्र पस्नुभयो म बसेको ठाउँबाट जुरुक्क उठेर उहाँलाई अभिवादन गरेको थिएँ । म केही बोल्नुभन्दा पहिले नै उहाँले भन्नुभएको थियो— मैले शिलाङमै तपैंको बारेमा सुनेको थेँ । साथीरूले तपैं यता आको कुरो सुनाउनु भको थ्यो । थुप्रै दिन भच आको । काँ काँ घुम्नु भओ त ?” भित्र पसी सोफामा बसेर सानोबाबुलाई काखमा राख्दै सोध्नु भएको थियो । मैले आफ्नो कर्तव्य निभाउँदै छोटकरीमा आफुले बिताएका दिनहरूको वृतान्त सुनाएको थिए ।

    तर कालीबाडी धर्मशालाको दुखान्त घटनालाई सुनाइन । एउटा नादान बाहुनले गरेको अपमान अर्को सहृदयी बाहुनलाई सुनाउनुको कुनै अर्थ पनि थिएन । मगरनामका परियार दाजुलाई उहाँले चिन्नुहँदो रहेछ । “गतिला छन् भाइ” मगरदाजुको प्रशंसा गर्नुभएको थियो वेदुदाजुले । एरी फर्मको तिलक क्षेत्रीदाजुको बारेमा पनि बताएको थिएँ । दाजुले भन्नुभएको थियो—संगठनका समर्थक हुन् भाइ । आफ्नै व्यस्तताले संगठनको काम गर्न भ्याउँदैनन् । 
    “ल दुईभाइको भेट नि भ’ओ । बातचित गर्नुस् म खाना पकाउन तिर लाग्छु । दिदीले सानो छोरालाई सम्हाल्ने जिम्मा दाजुलाई दिएर खाना पकाउनतिर लाग्नुभएको थियो । 
    वेदुदाजुसँग कामको लामो कुरो भयो । तर उहाँसँग काठ कम्पनीवालासँग जानपहिचान रहेनछ । उहाँ विशुद्ध जीप ड्राइभर हुनुहँदोरहेछ । त्यसमा पनि नेप्को कम्पनीको ३ किलो साइडको प्रमुख अफिसरको गाडी चलाउनु पर्ने । नेप्कोको कार्यक्षेत्र आसाम भएतापनि केन्द्रीय परियोजना भएको कारणले हेडअफिस शिलाङमा रहेछ । उहाँलाई संगठनको कामको लागि मात्र होइन, सामाजिक उठबसको लागि समेत समय मिल्दो रहेनछ ।

    दाजुलाई मैले यावत कुराहरू सुनाएको थिएँ । कसरी म नङ्पो आइपुँगे । त्यो भन्दा पहिले के काम गर्थेँ । बा कसरी मेघालय छिरे ? नङ्पो बसेर मैले के के उखर्माउलो गरेँ । आदि इत्यादि सुनाउँदै अन्तिममा अवतारी लामा बाको कुरो सुनाएर उहाँकै सल्लाह बमोजिम उमराङ्सो आएको कुरो बताउँदै उप्रान्त भएगरेका प्रगतिको बारेमा सुनाएको थिएँ । सबै कुरो सुनेपछि उहाँले भन्नुभएको थियो— गरमपानी रहँदासम्म तपैंला खानबस्नको चिन्ता हुन्न । रहो कामको कुरो, मास्टरले काम मिलाउँचन् । आसाममा मास्टररूको ठूलो इज्जत हुन्च । आउन भनेका र’चन् । भोलि एकपटक फेरि जानुस् । काम बन्च । चिन्ता नगर्नुस् । 

    खाना तैयार भयो । दिदीले भान्सामा सो बेलुकी मासु पकाएको बास्ना बैठक कोठासम्म आइपुगेको थियो । धेरै दिनमा दाजु घरमा आउनु भएको र म पनि पाहुनालागेको कारणले हुनसक्छ मासु पकाउने बाध्यता आइलागेको थियो उहाँलाई । कुराकानी गर्दागर्दै समय बितेको थाहै भएन । होमवर्क सकेर दुई बाबुहरू साथीहरूसँग खेल्न जो बाहिर निस्केका थिए, उनीहरू पनि घरभित्र छिरिसकेका थिए । पुषमाघको जाडोको बेला थियो । त्यसउसले पनि धेरैबेर बाहिर बस्नसकिने अवस्था थिएन । सो रात भातमासुको बास्नादार परिकार थालमा सजियो र जहाँ जाला जोगी भातै खाला भन्ने उखानलाई चरितार्थ पारिएको थियो ।  

    थुप्रै रात बिताएको थिएँ मैले वेदुदाजुको क्वाटरमा । बिहान खानाखाइवोरी निस्कन्थे र सिधै उन्तीस किलो पुग्थेँ । उन्तीस किलो पुगेर मास्टरजीसँगै दिन बिताउँथे । उहाँले पढाउने स्कुलमा गएर उहाँले पढाएको हेर्थे । एकाधरात कालिकोटा मास्टरजीको डेरामा पनि रात कटाएको थिएँ । यता वेदुदाजुको क्वाटरमा बस्दावस्दै एकै परिवारजस्तै हुन पुगियो । सम्बोधनको साइनो पनि बदली भयो ।

    पतिलाई दाजु भन्ने जहानलाई दिदी भनेर साइनो गास्ने, सायद दिदीलाई सम्बोधन उचित लागेनछ, आफुलाई दिदीभनेर सम्बोधन नगर्न भन्दै भन्नुभएको थियो— बुढालाई दाइ । मलाई दिदी भनेको सुहाएन । बुढा दाइभएसी म त भाउजु भएनी ।

    कुरो मिलेन । भाउजु भन्नुस् । म नानी भन्छु । आत्मियताको त्यो पराकाष्टाले द्रवित भएको थिएँ । दाजु, भाउजु, भतिजाहरू र म मुसाफिर देवर । एक पारिवारिक नाता कायम भयो वेदु दाइभाउजुसँग मेरो ।  परिहासकोरुपमा भाउजुले मलाई मुसाफिर भन्नुहुन्थ्यो ।

    यद्यपि त्यो मुसाफिरे सम्बोधनले म साँच्चैको एक मुसाफिर हुँ र कामको खोजिमा भौतारिएको एक हुतिहारा हुँ भन्ने महशुस हुनचाहिँ दिनु भएको थिएन । वेदु शर्मा दाइभाउजुको त्यो अनमोल भेटले मलाई गरमपानीमा घरको न्यानो ओतमात्र मिलेन भविष्यको बाटो पनि खुल्यो । 
    २०८० कार्तिक ३
    बुटवल । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology