Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गाउँका धाराको सरायँ

गाउँका धाराको सरायँ

  • 2.0K
    SHARES

  • गाउँका धाराको सरायँ

    दीपक विश्वकर्मा(छविलाल)

    समाजशास्त्रीय अध्ययनमा संस्कृतिको अर्थ व्यापक छ । समग्रमा माटो, नदीनाला, बाटोघाटो, बस्ती, टोल, घरको आकारप्रकार, नापनक्सा, खेतबारी समग्र संस्कृति हुन् । मान्छे जन्मपछि उसको पहिचानखातिर राखिने नाम संस्कृति हो । छैतिको दिनमा भावीद्वारा निधारमा लेखिने भाग्यरेखाको मान्यता संस्कृति हो । छोरा र छोरीको बीचमा न्वारन वा छैतिमा गरिने अलगअलग संस्कार आफैमा संस्कृति हो । पर्व, ती पर्वहरूको मनाइने फरकफरक स्वरुप सांस्कृतिक विविधता हो ।

    गाउँघरमा आफ्नै किसिमको बसोवास हुन्छ । विशेषतः नेपाली समाजमा टोल छुटिन्छन् । धारा छुटिन्छन् । पानीखाने कुवाँ अलगअलग हुन्छन् । जातथर अनुरुप टोल बसाइएको हुन्छ । बाहुनटोल अलग्गै हुन्छ र त्यसटोललाई पबित्रताको मानककारुपमा अथ्र्याइन्छ । क्षेत्री र मगरटोल आमनेसाम्ने बनाइन वा बसाइन सक्छ । स्थानको नामभन्दा जातको नामले टोलको पहिचान गर्न सजिलो पनि हुनेनै भयो । आजकाल भने शिक्षा र चेतानाको विकाशसँगै मानिसहरू सचेत हुँदैगए । जातीय स्वाभीमानले टाउको उठाउँदै गयो । फलस्वरुप बाहुनटोल सिद्धबाबाटोल बन्यो, कामीटोल गणेशटोल बन्यो । दमाइटोल भगवती वा यस्तै कुनै शुसोभित नामको टोलमा परिवर्तन भयो । सांस्कृतिक रुपान्तरणको यो एउटा मानकमात्र हो ।

    समाजरुपान्तरणको सामाजशास्त्रीय सिद्धान्तले पनि यहि भन्छः समाज चलयामान हुन्छ र संस्कृतिले पनि समयअनरुप आफ्नो बाटो तय गर्छ ।हामी जहाँ जन्मियौं, हुर्कियौं, लडिबुडी गर्दै हिड्न सिक्यौं, त्यो टोलको नाम थियो कामीटोल । अध्यता गणेश विश्वकर्माका अनुसार भाडगाउँले कामीहरूलाई अर्खलेका थापाहरूले छल्दीखोलामा फलामे पुल बनाउन माचकोटबाट ल्याइएका थिए । पुलको लागि चाहिने फलाम बाग्लुङ्गतिरबाट  ल्याइएको थियो र त्यो कच्चा फलामलाई सिक्ली बनाएर जोड्नेकाम हाम्रा पुर्खाहरूले गरेका थिए । गणेश विश्वकर्मा भन्नुहुन्छः आजपनि सो पुल भग्नावशेषकोरुपमा जीवित छ । पुलको काम सकियो, तर माचकोटे कामीहरू वापस गाउँ फर्किएनन् । भाडगाउँमा कृषि औजार बनाउन जान्ने कामीहरू थिएनन् ।

    गाउँलेहरूलाई औजार किन्न, अर्जाप्न पेँगाको उकालो काटेर धुर्कोटपुर्कोट पुग्नुपथ्र्यो । गाउँको आवश्यकता र माचकोटे कामीहरूको सीपकोमध्येनजर भाडगाउँलेहरूले हाम्रा जिजुहरूलाई वापस माचकोट नजान अनुरोध गरे । गाउँलेहरूले उहाँहरुलाई आवश्यक आवादीको जग्गा उपलब्ध गराए । जहाँगएपनि कामै गरेर खाने हो । भाडगाउँमा गर्नको लागि कामको अभाव थिएन । तसर्थ उहाँहरू पनि गाउँ फर्किनुभएन । भाडगाउँबासी बन्नुभयो र माचकोटे कामीहरूको शाखा विस्तार गर्नुभयो ।
    कतिपय बुद्धिजीवीहरूको के मत रहेको छ भने भाडगाउँको नाम भाडा बन्ने भएको हुनाले भाडगाउँ रहेको हो । यसै पनि भाडगाउँको नाम भाडागाउँ होइन, भाडगाउँ हो । यससम्बन्धमा विश्वकर्मा दुधराज बंशावलीमा भाडगाउँमा आइबसेका विश्वकर्माहरूको बारेमा प्रष्ट पारिएको छ । भाडगाउँको नाम भाडगाउँमा माचकोटे कामीहरूको आगमन र उनीहरूले भाडा बनाउन थालेपछि भाडगाउँ रहन गएको होइन । हाम्रा जिजुहरूको आगमनभन्दा पनि पहिल्यैदेखि सो गाउँको नाम भाडगाउँ थियो । भाडगाउँको मानेमा हाम्रा आदिपुरुषको नाम थियो नरपते कामी । जो आफ्ना नन्दे, धनवीर, जगे र चङ्खे नामका चारभाइ छोराहरूलाई साथमा लिएर भाडगाउँ आउनुभएको थियो ।

    भाडगाउँमा माचकोटे कामीहरूको आगमनको सामान्य चर्चापश्चात दशैको चर्चा गरों-दशै लागेपछि टोलमा भिन्दै रौनक छाउँथ्यो । पाँचौ पुस्ताका हामी ससाना चल्लाहरूको एउटा सानो जमात थियो । बाहरूको भने लामो लहरो थियो । त्यो लहरो तन्किदै भाडगाउँदेखि प्रवाससम्म फैलिएको थियो । कतिपय दाइहरू बाको उमेरका थिए । मठारेदाइ, माइला, साइला र कान्छा मोतिदाइ हामीले जान्दैदेखि देशप्रदेश गर्ने भइसकेका थिए । रविलाल जेठाबाको शिलाङमा रजगज थियो । जेठादाइ उतै पल्टनमा भर्ति भए । बुढाबाहरू त झन् पाँचऔला बराबर पनि थिएनन् । मैले मेरा बुढाबा देखिन । बुढीआँलाई भने देखेँ । म पोखरा पढ्न जाँदा बाटोखर्चभन्दै दुई रुपैयाँको ढ्याक हातमा राखिदिएकी थिइन ।

    सो बेला दुई रुपैयाँको पनि ठूलो महत्व थियो । भरपेट नास्ता खाँदापनि पुरा खर्च हुन्थेन । कान्छा बुढाबा रनबहादुरलाई भने देखेँ । रेस्लिङ्गमा देखापर्ने स्वान मिचेलकोजस्तै चेहरा थियो उनको । अर्का थिए बुढाघरका कान्छाबुढा बा । उनी बहुतै हक्की स्वभावका थिए । छोरानातिहरूले पढ्नुपर्छ भन्ने सुझबुझका कारण हामीले स्कुलको मुख देख्न पाएका हौ । बुढाघर माइला बुढाबाले मलाई जिस्क्याएर हैरान पार्थे । मलाई देख्न हुन्थेन, जिस्क्याउँदै केहि न केहि भनिहाल्थे । उनको मृत्युमा मलमा गएको आजसम्म पनि मलाई रछानरछान संझना छ । अरु बुढाहरू असमय गए वा हामी नातिहरूको जन्म अलिपछि भयो, देख्नभोग्न पाइएन । 

    निःशन्देह गाउँघरमा छोराहरूको चकचकी हुन्छ । गणेशदाइ र मेरो जन्मपछि टोलले नातिहरूको मुख देख्न लामो समय कुर्नुप¥यो । हाम्रा कान्छा बुढाबाका जेठाछोरा सानैदेखि शिलाङ्गे भएको कारणले दाइभाइहरू पनि उतैका भए । जेठाबाले छोरी सुनकलीलाई शिलाङ साथमा लगेर गएनन् । उनी एकाध वर्ष जेठी भएपनि हाम्री दमाली थिइन् । पहिलो घरवारको असफलतापछि बाआमासँगै शिलाङको जुवाइ पुगिन् र उतैनै घरजम गरिन् । सुनिन्छ आजकाल उनी नेपाल नजिककैको सहर सिलिगुरीमा सपरिवार बस्छिन् ।  

    बाआको साथको दशैं पो दशै । दशैंको रौनक हाम्रो टोलमा जस्तो सायदै भाडगाउँमा हुँदो हो । यस्तो दावी के मानेमा उचित लाग्छ भने, हाम्रो टोलको रौनक नै भिन्दै हुन्थ्यो । लुकिछिपि बाहुनहरूले सोमरस खालान्, त्यो खुवाइ पनि के खुवाइ ? हाम्री आमाहरूले त दशंैको एक महिना पहिले नै निख्खर भुटेको कोदोको जाँड र रक्सी बनाउन जौ, कोदो र मकैको पास राख्थे । क्षेत्रीहरूले खसी काटेर धार्नी वा किलोको हिसावले भाग लाउँथे होलान् । हाम्रो टोलमा त एउटा होइन, दुई दुईवोटा राँगा भैसी ढल्थे । सेनीपोखरी शिलाङ्गे झविलाल जेठाबाको पण्डितको खालमा मार हान्थे बाहरू । अहो ! एकपटकको मार । जन्डुराँगो किनेर ल्याए बाहरूले गाउँतिरबाट । पहिलो मारमा ढलेन राँगो । बरु दाम्लो चुडालेर भाग्यो । सो राँगोलाई समाउँदाको सास्ती आजसम्म पनि संझनामा आउँछ ।

    राँगो ढालिने खलोमै पाक्थ्यो एकाध ताउलो भित्राँस । राम्रो राम्रो छानिएको मासुलाई भित्राँस भनिन्छ । जो कलेजो, हेकुलो, मुटु, गिदी, बोसो आदि भागहरूको समुच्चरुप हो । बिना मरमसला खलोमै पकाएको मासुको स्वाद नै बेग्लै हुन्थ्यो । बाहरू गोलो सर्कल बनाएर काट्ने, भाग लगाउने गर्थे । कतिपय बाहरू बहुतै छुच्चा थिए । आफ्नो अगाडिको भागमा छानिछानि हेकुलो, कलेजोजस्ता गतिलो मासुको बिलो बनाउँथे । जब भाग लगाएर सकिन्थ्यो, सोही भाग आफ्नो डोको वा डालोमा उठाइहाल्थे । अरु बाहरूको पनि सोही भागमा आँखा गढेको हुन्थ्यो । त्यसैको लागि पनि कहिलेकाहीँ तँतँ र मम हुन्थ्यो ।

    साहित्य पढ्दा, टेलिभिजनलगायत सञ्चार क्षेत्रमा पुगेको पहुँचपश्चात नवदुर्गाको महिमा सुन्दामात्र हामीलाई नवरात्रीको बारेमा थाहा भएको हो । सामान्य घटस्थापनाको दिनमा जमरा राख्नेबाहेक भाडगाउँको कोटमा गरिने पुजाको गतिविधि बाहेक अन्य गतिविधि हाम्रो टोलमा हुन्थेन । दुर्गाका नवअवतारी माताको चर्चा बाहुन क्षेत्रीहरूका घरघरमा हुँदो हो, सो प्रकारको चर्चा हाम्रो टोलमा हुन्थेन । हेटौडाकी सशक्त महिलाहस्ताक्षर कवि शान्ति प्रीयवन्दनाले गतवर्ष नवरात्रीभर पढिने धार्मिक ग्रन्थहरूको चर्चा गरेकी थिइन् । एउटै हिन्दुधार्मिक सम्प्रदाय भित्र रहेतापनि हाम्रो समुदायलाई दशैंको दिनमा टिका लगाउने, सामान्य हातहतियारको पुजन र भोजभतेरबाहेक अरु सांस्कृतिक गतिविधिबाट किन टाढा राखियो ? यो एउटा विवेचनाको विषय हो । 

    दशैंको रौनक भनेको मौसमको सौन्दर्यता पनि हो । घनघोर वर्षात् पछि टुप्किने दशैंमा खुल्ने सफा आकाश, रातमा टिलपिलाउने तारा, लहरै देखिने हिमालको दन्तलहर, हिमालको जाडोबाट बच्न तराई ओर्लिने मालचराहरूको क¥याङ्गकुरुङ्ग, दिनमा न जाडो न गर्मीको सुनहरा मौसम दशैंको खास विषेशता हो । तीनचार महिनाको मुसलधारे वर्षात्को कारणले बिग्रेका बाटाघाटा, पुलपुलेसा सम्याउने, खाल्डा पुर्ने गरिन्थ्यो । कुनाकाप्चामा उम्रिएका झारपात उखेलेर सेनीपोखरीदेखि पदेलपोखरासम्म बाटो उज्यालो बनाउने काम हुन्थ्यो । दाजु गणेश, सुनकली दिदी, बुढाघर माइलाबाको जेठोछोरा कृष्ण(हाल अरुणाचल प्रदेश), ससाना भाइबहिनीहरूको सहकार्य रहन्थ्यो हरेक वर्ष । पछि दिदीबहिनीहरू हुर्के, बिहेवारी भयो, म पोखरातिर लाँगे । बाटोघाटोको मर्मतसंहारको जिम्मा गणेश दाजुको काँधमा आयो ।

    भाडागाउँलेहरूको नवरात्रीमा पु्जिने साझा मन्दिर रहेको छ तल्लोउपल्लो भाडगाउँको मध्यभागको गाउँको धारा नजिक । सो क्षेत्र खत्रीहरूको बसोवासको क्षेत्र हो । आदरणीय दाजु चन्द्रबहादुर खत्रीको घर कोट नजिकै पर्छ । सो ठाउँलाई काभ्रापाटा पनि भनन्छि सायद । मन्दिरमा नवरात्रीभर दैनिक साँझविहान पुजा हुन्थ्यो तर हामीलाई गइरहन पायक पर्थेन । पुजाको हर्कबढाइकोलागि नगरा बजाउन जान्थे सेनीपोखरीको बगलको परियार टोलका मामाहरू । सायद त्यो परम्परा आजपनि जस्ताकोतस्तै होला ।

    नवमीका दिन कोटमा बली चढ्थ्यो । भाकल, मन्नत र मनोकामनाको समुच्चरुप हो बली । पशुअधिकारको कुरो आजकालको कुरो हो, तर मठमन्दिरमा पशुवलीको परम्परा आदिम कालदेखिको निरन्तरता हो । कतिपय साकाहारी समुदायले पञ्चबलीको नाममा कुभिण्डो चढाउँथे । कुभिण्डोको बलीचढाइ पश्चात मासुको हकदार पक्षलाई भने निरास लाग्दो हुन्थ्यो । मांसहारी समुदायले चढाएको बलीको टाउको मन्दिरको ढुकुटीमा जान्थ्यो । अथवा मोलमा बिक्री हुन्थ्यो र सो रकम कोषमा जम्मा हुन्थ्यो । अरु भाग भने सम्बन्धित् पक्षले लगेर जान्थे । पाडोबलीको हकदारभने बालीघरे दमाइकामी हुन्थे । त्यसैले पनि हाम्रा दुईटै टोलमा मासुको छेलोखेलो हुन्थ्यो । अर्को बलीको स्थान थियो र रहेको छ, सल्लेरीको हाम्रो पुख्र्यौली बारी । उपल्ला भाडगाउँले उपासकहरूले जोरसल्लाको सोही बारीको पाटोको कुनामा रहेको झाँडीमा बली चढाउँथे ।

    आजकाल त सो ठाउँमा ससानो देवस्थल बनेको छ । वर्षको एकपटक सो स्थान रगतले लतपत हुन्छ र सोही लतपत रगतमा भक्तहरूले आत्मसन्तुष्टी लिन्छन् । तल्लाभाडगाउँको सो कोट भाडगाउँलेहरूको आधिकारिक कोट हो । तल्लोमाथिल्लो दुबैगाउँलेहरूले सो मन्दिरलाई आफ्नो कोट मान्छन् । दशमीको बेलुकी नौरथाको फुलपाती विसर्जन पछि सोही बेलुकी हुने सरायँनाचको लागि कोट सर्वसाधारणको लागि खुलाइन्छ ।  धागीथुम, जोगीथुम, भुजेलखर्कमा अन्यदिनमा सरायँनाच नाचेता पनि गाउँका धाराको कोटमा दशैंको दिनमै नाच्ने चलन रहेको छ । नवमीको पञ्चवली र दशमीको टिकापछि मन्दिर सबैकोलागि छुत हुन्थ्यो । अथवा मन्दिरको मौलो कसैले छुने वा नछुनेभन्ने हुन्थेन ।

    जुनको मधुरो उज्यालोमा खुँडाखुकुरी आकृतिस्वरुप काठका प्रतिमूर्ति हतियार समाएर मन्दिरको चारैतिर घुम्नु र कान्धा जोडेर वाखै भन्नुको आनन्द शब्दमा वरण गर्न सकिन्न ।  सरायँनाच पछिको सबैभन्दा रोमाञ्तिच नाच हुन्थ्यो खुकुरी नाच । खुकुरी नाच जोतहिले देखाउन सक्ने कुरो भएन । सायद नेपाली सेनाका जवान वा भारतीय पल्टनका लाहुरेहरूले त्यसको जिम्मा लिन्थे । देख्दैमा सुन्दर, खाइलाग्दा उपल्लो भाडगाउँका एकजना दाइ थिए गिरीप्रसाद बुढाथोकी । उनी भारतीय पल्टनीया थिए सायद । पल्टनीया ड्रेसउपर कम्मरमा उनले बाँधेको पालिस गरिएको पितलवाला कम्मरपेटी(बेल्ट)को चमक देख्न लायक हुन्थ्यो । अर्का हाम्रै टोलका दाजु थिए मोतिबहादुर सुनार । खुकुरी नाचमा उनलाई जित्नसक्ने कोही हुन्थेन । भाडगाउँ बाहुन, खत्री, बस्नेतहरूको गाउँ हो, त्यसैमा मिसिए एकाधघर मगरहरू, हाम्रा पुर्खाहरू आए माचकोटबाट । दमाईहरू कहाँबाट आएर बसे ? त्यसको खोजबिन होला कुनै दिन । भाडगाउँले युवा मनिष पाण्डेकाअनुसार नवमीको दिनमा पञ्चवलीमा खुँडा चलाउने शेरबहादुर ठकुरी काठमाण्डौबाट आएका थिए । उनले पनि खुकुरीनाच देखाउँथे ।

    दशैंमा लाठी नचलाए कहिले चलाउने ? दशैमा लाइटको ढुंग्रो नफोरे कहिले फोर्ने ? दशैमा टाउकोबाट रगत नबगाए कहिले बगाउने ? दशैंमा बारीको कोदो नमाडे कहिले माड्ने ? दशैंमा फल्नाले फल्दालाई उचालेर काल्नाबाट बारीको कुनामा नफेके कहिले फ्याक्ने ? ठूलो निहुनै चाहिँदैन थियो एकआपसमा मुक्का बर्साउन गाउँका युवाहरूलाई । निहु हुन्थ्यो फल्नाले फल्नीलाई जिस्क्यायो । फल्नाले फल्नीलाई साउती मा¥यो । फल्नाले फल्नाको आँखामा जीप, एभरेडी लाइटको फोकस मा¥यो । गाउँको धाराको कोटमा मात्र होइन, धागीथुमको सरायँदेखि जोगीथुमको सरायँसम्म बाँसका लौरा बज्रिन्थे युवाहरूका टाउका टाउका । जति झगडा भएपनि कुनै कोटकचहरी हुन्थेन । पुलिस केस हुन्थेन । अर्कोदिन झगडालुहरू बाटोमा भेटहुँदा सँगैबसेर चुरोट खान्थे । हाँसीमजाक गर्थे र पुनः तरुनीको गफ गर्थे ।

    दशैंको दशैं हाम्रा बाहरू पनि बेस्सरी झगडा गर्थे । झगडा गर्न सबैभन्दा बढी तम्सिने हाम्रा कान्छाबुढाबा रनबहादुरका कान्छाछोरा अथवा कान्छाबा प्रेमबहादुर नै थिए । उनको कदकाठी सानो थियो । टोलका एकमात्र पढालेखा व्यक्ति थिए उनी । रामायाण र महाभारत भाकामिलाएर पढ्न सक्थे । तामापित्तलको काममा निपूर्ण थिए उनी । उनको सीपलाई महासीप भन्दा हुन्छ । तास खेल्न खुब रुचाउँथे उनी । तास खेलमा कुनै जातीय बन्धन थिएन । गफ गर्नेहरू भन्छन् सबै जुवाडैहरूको आँटीमा उक्लेका थिए उनी । मूलढोकाबाट भित्रपस्न नहुने भन्दै बाँसको भ¥याङ्गमार्फत आँटीको तलामा खेलिने खालमा उकालिन्थ्यो कान्छा बालाई । दशैको आसपास शुरु हुन्थ्यो टीकाको मेलो र सँगै शुरुहुन्थ्यो झगडाको पनि । त्यो मेलो पूर्णिमाको समापनसँगै समापन हुन्थ्यो । पुनः उही आरन, आरनको काममा एकआपसमा मिलेर घन ठोकाइ, हँसीमजाकमा सम्पूर्ण कलेस बिर्सेर मनमुटावको लेससमेत महशुस हुन्थेन र कसको भैसी थारिएको छ, विचार विमर्सतिर लाग्थे ।

    गाउँका सबैभन्दा फुर्तिला मान्छे हुन् उपल्लो भाडगाउँ कोलमुनीका काका जयबहादुर बस्नेत । नेपाली सेनाका जागिरे थिए उनी । सेनाको गुल्ममै रहँदा सिकेका थिए उनले जुडो करातेजस्ता मार्सलआर्टहरू । उनका जोडी थिए तम्घासेसाहुका छोरा गणेश श्रेष्ठ । धागीथुम कोटको सरायँको समापन पछि ब्रेकले देखाउने मार्सलआर्टमा काका जयबहादुर र गणेश दाजुको मुख्य भूमिका हुन्थ्यो । उपल्लोभाडगाउँबाट सरायँ नाच हेर्न जोगीथुम जानु भनेको चानचुने कुरो थिएन । ठूला त ठूला भइहाले, हामी फुच्चेहरू पनि उनीहरूको पछि लागेर जोगीथुम पुगेर सरायँनाचको राम हेरिन्थ्यो । त्यसैगरी भुजेलखर्कको उकालो चढेर डाँडामा पुग्नु चानचुने कुरो होइन । असोज कार्तिकको जाडोमा भाडगाउँबाट तम्घास पुग्नु भनेको सानो कुरो पनि होइन । त्यतिबेला आजकोजस्तो बाक्ला जाकेट पो कहाँ पाइन्थ्यो र ? जोडो छल्न हुनेले बाक्लो च्यादर र नहुनेले फिरफिराउँदो पातलो गम्छा ओढेर माइकाथान पुगिन्थ्यो । सायद बच्चाको जाडो बाख्राले खान्छ भन्ने उक्ति सही नै होला । नत्रभने तम्घासको त्यो आँतै कमाउने जाडो कसरी खपियो होला ? 
    दशैको रुप बदली भयो । हामीले सम्याउने बाटा मोटरेवलबाटा भए अहिले । कुनाकाल्नामा नाली बने । झार उखेल्न सडक विभागले मान्छे हाजिरामा लगाउँछ र ज्याला बाड्छ । विधिको बिडम्बना खुकुरी नाच देखाउने युवाहरू मोवाइल र टिकटकमा रमाउन थाले । अग्रजहरूले प्रदान गर्ने टिकाको आषिख सन्तानले डाँडाकाँडाको ढकाइले फलप खायो । सकेसम्म एक, मिसफयर हुनगए दुइटाभन्दा बढी सन्तान पाउनेहोभने पाल्नै नसकिने जमाना आयो ।

    बाहरू सबै बितेर गए । आमाहरूमा दुइटीमात्र बाँकी छन् । धुर्कोटे जेठाबातिरकी जेठीआमा र भोम्ले, गोपालभाइकी आमा कान्छीआमा । गणेशदाजुकी आमालाई गुमाएको वर्षदिन पनि पुगेको छैन । आजकाल त टोल पनि बाँडिएको छ भन्ने सुनिन्छ । अल्लोटोल र पल्लोटोलमा बिभाजन भइ टिकाटालो फुकाइको कुरो सुनिन्छ । पाँचै पुस्तामा टोल छुट्टिन किन हतारो भएको होला हाम्रा भाइ छोराहरूलाई ? हाम्राबा, कान्छाबा, कान्छाबुढाबा, बुढाघर, त्यसपछिको मूलघर गणेशदाजुको आरनेकान्छाबा सहितको हाँगो, बुढाधरको बगलमा माइलाबुढाका तीनभाइ छोरा, मठारेदाइका भाइहरूको लहर र धुर्कोटे जेठाबाको रजगज, यत्ति त हो हाम्रो माचकोटे कामी नरपतेको वंशधारा । यति छोटो र सीमित वंशधारा भित्र एकवर्षको लागि दाजुभाइको मृत्युशोकलाई वरण गर्न नसक्ने संस्कृतिको पादुर्भाव कसरी भयो ? 

    गाउँको संझना आउँछ । यद्यपि सानैमा गाउँ छोडे मैले । जसको सजायँ भोग्दै छु । सजायँ यसहिसावले कि गाउँको बारेमा लेख्नबस्दा सरसर्ती कलम चल्दैन मेरो । बासँगै बिष्टका घरआगन हिँडेका डुलेका, गोल काट्न साउने, ढाँडा र रोलखोला पुगेका, भएको एउटा गाईको पुच्छर समाएर च्वाङखोला पुगेको र त्यसको आसपासको जंगलमा जिब्रेसाग, ओखर बटुलेका, साथीभाइहरूको लहैलहैमा फागुका मनमोहक श्लोक फलाकेका, गुइठालाई थुकमा राखेर लाठी बजार्दै पट्काएका सबै संझनाहरू धुमिल हुँदैछन् । अब त साम्पत्तिक हिसाबले गाउँसँग नाता नै टुट्यो मेरो ।

    यो छोटो आलेखमा सबै कुरालाई समेट्न सकिदैन । भाडगाउँको आफ्नै गरिमा छ । सहिष्ण्ुता छ र आपसी सद्भाव छ । ती उत्कर्ष प्रेम, सद्भाव र प्रेरणाहरू विस्तारै विस्तारै मानसपटलबाट ओझेल पर्दैछन् । र पनि मेरो प्यारो गाउँ भाडगाउँ, गाउँका घाराको कोटमा खेलेको सरायँ जीवनप्रयन्त संझनामा रहिरहने छ । 
    २०८० कार्तिक २
    बुटवल ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology