दीपक विश्वकर्मा(छविलाल)
अन्ततः देवदूतीय अवतारी लामा बाको सल्लाहलाई शिरोपर गर्दै उमराङ्सो पुगेर चन्द्रबहादुर क्षेत्रीलाई भेँटे मैले ।राजनीतिवृत्तका साथीहरूलाई छोडेर जतिपनि अन्य नेपालीहरूलाई भेटेको थिएँ उनीहरूभन्दा फरक स्वभाव पाएको थिएँ मैले चन्द्रबहादुर क्षेत्रीमा । बहुतै सहयोगीभावका साथ भनेका थिए—“म मारवाडी आसामी कम्पनीको हेडमोहरी हाइदर अलीलाई तिम्रो बारेमा बताएर काम दिलाउने कोशिश गर्छु ।
हाइदर अलीले लामा थरकी नेपाली चेलीसँग बिहे गरेका छन् । नेपालीलाई खुब सहयोग गर्छन् ।” केहीकुरो हठात सम्झेजसरी उनले कुरो थपेका थिए— यो १९ किलो भओ । समय मिलार तिमी २९ किलो जाऊ । त्याँ तिम्रैथरका एकजना मास्टर छन् । गरमपानीयाट आका नेपालीरूका छोराछोरीलाई पढाउँचन् ।
बास्तवमा मेरो जीवनको त्यो संगीन घडी यति नाजुक थियोकि गन्तब्यको लगाम खुद आफ्नै हातमा थिएन । मानिसहरूले मफतमा दिने हरसल्लाहलाई उचीत अनुचीत आँखा चिम्लेर पालनागर्नुपर्ने अवस्थामा पुगेको थिएँ म । पालना नगर्नुपनि कसरी ? मेरो औकात नै के थियो र ? महेन्द्र माविको चमक, छात्रवृत्तिको रौनक, पीएन क्याम्पसको उछलकुद, भूमिगतकालको रोमाञ्चित कष्ट, कथा, कविता यावत साहित्यलेखनको शुरुवाती चस्को सबका सब धुलिसात भएको थियो ।
म यति खोक्रो भएको थिएँ कि आफ्नै छाँयासँग पनि तर्सिन थालेको थिएँ । जहानसँग आँखा जुधाएर कुरो गर्न सक्दिनथेँ । बासँग मुख लागेर कुरो फर्काउन सक्दिनथेँ । साथीहरूसँग बातमार्दा घोप्टो मुन्टो लगाएर जवाफ फर्काउँथे । ती सबै कारणले पनि जसले जे बुद्धि दिन्छ, जुन बाटो देखाउँछ, आँखा चिम्लेर उसैको पछि लाग्न थालेको थिएँ । “ऊ त्यो गल्ली पारगरेर तलतिर झर्नुस् दाइ । एउटा कुवाँ आउँच । त्यसको दायाँ लाग्नु होला । मास्टरजी तैँ भेटिनुन्च” पानतामुल बिक्री गर्दैगरेका भाइको सल्लाहलाई पछ्याउँदै म मिठाइपसल र एउटा लामो खाली टहरोको बीचको गल्छी पार गरेर तलतिर लागेको थिएँ ।
भाइले भनेजस्तै बायाँतिर एउटा पानीको कुवाँ रहेछ । नङ्पोमा कुवाँ देखिसकेकाले त्यो गल्छीको बगलको कुवाँ मेरोलागि कौतुहलको विषय थिएन । कुवाँमा केही महिलाहरूले घिर्नीमा रस्सी घुमाएर पानी तान्दै थिए । मास्टरको ठेगाना खोज्न अरु मान्छेको तलासी गर्नुपरेन मलाई । उनीहरू सबैलाई छुनेगरेर सोधेको थिएँ—याँ रामप्रसाद मास्टरजी कता बस्नुन्च होला ?
मास्टरको नाम रामप्रसाद हो भन्ने कुरो मलाई पानदोकानी भाइबाट नै जानकारी भएको थियो । मेरो प्रश्नलाई भूँइमा खस्न नपाउँदै एकजना महिलाले एउटा छाप्रो देखाउँदै भनेकि थिइन्— ऊ त्यै हो, मास्टरजीको डेरा । स्कुल छुट्टी भओ । कोठामै हुनुन्च होला । म कहिल्यै नदेखिएको मान्छेभएको कारणले होला, कुवाँमा जम्मा भएका महिलाहरूले मलाई पानी तान्नै छोडेर मलाई नै एकटक हेरिरहेका थिए । मलाई हेर्दैगरेका महिलाहरूमध्येबाट एकले सोधेकी थिइन्— काँट आउनु भको नि तपैं ?
कुवाँमा उभिएर म ती महिलाहरूसँग बातमार्ने मुडमा थिइन । मलाई त मास्टरजीलाई भेट गर्नु थियो । भेट गरेर कामको कुरो गर्नुथियो । कुरोकानी मिलाएर ३ किलो वेदुजादुको क्वाटरमा फर्किनु थियो । “शिलाङतिराट आको हुम्” यतिमात्र जवाफ फर्काएर म ती पदेर्नी महिलाहरूले देखाएको छाप्रोतिर लम्किएको थिएँ ।
खरले छाएको एकपाखे बाँसको छाप्रो थियो मास्टरजीको डेरा । अगलबगलमा अरु छाप्रा थिएनन् । छक्क पारिलो घामलाग्ने पारिलो ठाउँमा थियो उहाँको त्यो छाप्रो । बाँसकै कप्टेराको ढोका रहेछ । मास्टरजीको डेरा यही हो भन्ने एकिन भएपछि म सरासर ढोकमै गएर ठिङ्ग उभिएर आवाज दिएको थिएँ— मास्टरज्यु भित्रै हुनुहुन्छ कि ? म हजुरला भेट गर्न आको थेँ ।
मेरो आवाज भित्र छि¥यो । यसैपनि ढोका अर्धखुला थियो । मेरो आवाजको लगत्तै भित्रबाट आवाज आयो— ढोका खुलै छ । भित्रै छु म । पस्नुस् ।
मास्टरजीले ढोका खुलै रहेको कुरो र भित्र पस्ने आदेश भएतापनि मलाई ह्वार्तै भित्र पस्न दहकिस लाग्यो । कहिल्यै देखिएको छैन । चिनजान छैन । आफन्त परिदैन । मात्र हिन्दु वर्ण व्यवस्थाले सिर्जना गरेको जातथरको मसिनो डोरीको साइनोले जोडिएको नातो थियो हाम्रो बीचमा । त्यति बिघ्न मसिनोे नातासम्बन्धले कुनै बन्धुत्वको मितेरी कसिदैन । त्यसैले उहाँले भित्रपस्ने निम्तो दिएको भएतापनि म भित्र छिरेको थिइन । ढोका बाहिरै ठिङ्ग उभिएर उहाँको बाहिर निस्कने प्रतिक्षा गरेको थिएँ ।
सायद म भित्र नपसेको आभाष भयो मास्टरजीलाई । खाट चर्मराएको आवाज आयो बिहिरैसम्म । आमरुपमा आसाम मेघालयमा यस्ता किसिमका घरहरूमा खाँबोदेखि धुरीखाँबोसम्म बाँसकै हुन्छन् । घरका गाह्रासमेत बाँसकै हुन्छन् र खाटखटिया सबै बाँसबाट बनेका हुन्छन् । बाँसभन्दा अलि माथि उक्लिने त अलि धेरै पैसा कमाएपछि मात्र हो । “काँट को आउनु भको हो ?” सेतो बनियान, सेतै धोतीमा सजिएको पुगनपुग ३०÷३२ वर्षको गहुँगारो मान्छे ढोकामा आएर ठिङ्ग उभिदाँ, अडकल काटेको थिएँ, सायद उहाँ नै मास्टरजी हुनुपर्छ । मैले दुईहात जोरेर अभिवादन टक्र्याएको थिएँ मास्टरजीलाई ।
गँठिलो ज्यान, हँसिलो चेहरा, मिलाएर काटेको कपाल, सफाचट दाह्रीजुङ्गा, पाँचफुट एकदुई इन्च हाराहरीको उचाइ मास्टरजीको व्यक्तित्व थियो । कहिल्यै देखभेट नभएको अपरिचित पाहुना थिएँ म । जेजस्तो भएपनि भेट गर्न दैलोमा टुप्लुक्किएपछि स्वागत त गर्नेपर्ने हुन्छ । मास्टरजीले बाँसको ढोकालाई कुनासम्म अँचेट्दै भन्नुभएको थियो— आउनुस् भित्रै । मेरो बसोवास यस्तै छ । भित्रै बसेर कुरोकानी गरम्ला ।
मास्टरजीले मलाई भित्र लगेर बाँसको खाटमा बसाल्नुभएको थियो ।
मास्टरजीले खाटमा बसाल्नु भयो । मनमा संकोच हुँदाहुँदै पनि म खाटमा बसेँ । बस्नको लागि अन्य व्यवस्था पनि नहुँदो हो सायद । आसाम मेघालयमा कुर्सिभन्दा आमरुपमा प्रचलनमा आउने बाँसकै मुडा हो । तर त्यसको व्यवस्थापनि मास्टरजीको कोठामा भएजस्तो थिएन । मलाई खाटमा बसालेर लोटाबाट एउटा काँचको गिलासमा पानी खन्याएर दिँदै सोध्नुभएको थियो— काँट कसरी आइपुग्नु भो याँ २९ किलो तपैं ?
कसरी म २९ किलो मास्टरजीलाई भेट गर्न पुँगे ? त्यसको सटिक उत्तर तक्षण बन्न सक्दैन थियो । जीवनको यो अनौठो संगम वा खेलको आकस्मिकता क्षणभरको आवेगमा सिर्जिएको थियो । ती सबै आकस्मिकता र घटनावृतान्तहरूलाई हाजिरीजवाफकोरुपमा भनिसाध्य थिएन । मात्र भनेको थिएँ मैले— नङ्पोबाट कामको खोजीयाँ १९ किलो आ,को थेँ । १९ किलोवाँ भेटभका मान्छेले हजुरसँग भेट गर्न भनेओ हुनाले म याँ हजुरला खोज्दै आको हुम् ।
“अनि के थरी पर्नुन्छ नि तपाई ? यसरी खोज्दै आउनु त जो तहि सक्दैन ।” मास्टरजी उमेरले मात्र होइन, पेशाको कारणले पनि पाको भइसक्नु भएको थियो । “थरी त हजुरकै हुम् । चन्द्रबहादुर क्षेत्रीले भन्नु भ थ्यो— तिम्रा जातिका मास्टर हुनुहुन्छ, २९ किलो । एकचोटी गएर भेट गर । वाँ सित मारवाडीरुको राम्रो उठबस छ । फेरि मारवाडीरुले मास्टरूको कुरो खुब सुन्छन् भनेर भन्नु भा थ्यो वाँले । त्यै भर हजुरला भेट गर्न आको हुम् । कतिपय कुरा मास्टरजीलाई दोहोराएर भनेको थिएँ मैले ।
मास्टरजीको सामुन्ने मैले कुनै अर्धसत्य कुरो गरिन । न त आफ्नो फटिहाल अवस्थालाई तानतुन र टालटुल पारेर फुलबुट्टा नै भरेर सुनाउने काम गरेँ । मैले ठूलो कुरो गरेर कसैको मन जित्नसक्ने अवस्था नै थिएन । बरु जेजस्तो हालत छ, जुन गल्लीबाट म गुज्रिरहेको छु, त्यसको सहिसहि कथा सुनाउने होभने कसैको पनि मउपर दया पलाउन सक्ने मेरो आँकलन थियो । त्यसैले नङ्पोमा बाको आरनमा दाउ अर्जाप्ना आएका एक लामा बाले दिएको सल्लाहअनुरुप कामको खोजीमा उमराङ्सो आएको र चन्द्रबहादुरसँग भेट हुँदा उहाँले नै भेटगर्ने सल्लाह दिएको कुरो जस्ताकोतस्तै सुनाएको थिएँ ।
कुरो सुनाउँदासुनाउँदै मास्टरजीले हातमा थमाइदिनुभएको पानीको गिलास पनि रित्याएको थिएँ मैले । उहाँ पनि सँगै बगलमा बस्नु भएको थियो । एक सामाजिक प्रपञ्च भनौ वा मान्यता जातीयसेतुको मधुरो साइनो बाहेक अरुकुनै नाता सम्बन्ध थिएन हाम्रो बीचमा । उहाँ एक मास्टर हुनुहुन्थ्यो । सायद मेरो सपनाको ब्याकपकेटमा कापी घुसारेर बास्तविक पढाइकोश्रेणी मास्टर्सडिग्री हाँसिल गरिसक्नुभएको । त्यसउसले पनि म उहाँसँग बोल्दा मनले खुल्न सकिरहेको थिइन । मेरो असहजताको आभाष भएको थियो सायद, बातचितलाई सजिलो बनाउन प्रश्न थप्नुभएको थियो— कति दिन भयो तपाईं उमराङ्सो आको ?
हप्तादिन हुन थाल्यो । कैले यता कैले उता गरेर दिन बिताओ छु । सहजभावले मास्टरजीलाई जवाफ फर्काएको थिएँ मैले ।
“अनि काँ बस्नु भको छ त, यत्रा दिन उमराङ्सो रहँदा ? होटेलाँ त बैस्सरी खर्च हुन्च ।” मास्टरजीको प्रश्न एकदमै जायज थियो । अन्जान ठाउँमा हप्तादिनसम्म बस्नुभनेको सानो कुरो थिएन । त्यसमा पनि कामको खोजिमा भौतारिएको मजस्तो मुसाफिर प्रदेशीलाई ।
“पहिलो रात अलि दुःख पाइयो । होटेलाँ प्याक भको हुँदा कोठा पाइएन । होटेलसाहुको सल्लाहले नेपाली धर्मशालामा ग को पण्डितले जातको कारणले बास देनन् । बाटोमा भौतारिदै थेँ । एकजना अर्घाखाँचीतिरका नेप्को कम्पनीका कर्मचारी भेटिनुभो । वाँला मेरो हालत देखेर दया लागेच । आफ्नो क्वाटरमा लगेर सुताउनु भो । तीन रात उहाँकैमा बसे । मेरो शिलाङतिरका केही मान्छेहरूसँग चिनजान छ । वाँरूले बस्नखान सजिलो हुने हिसावले एकदुई जना साथीरूको नाम ठेगाना दिनुभको थ्यो । हिँजोदेखि ३ किलो एकजना नेप्कोको कर्मचारी दाजुको क्वाटरमा बसेओचु ।
म कुनै बनावटी वा फर्जि कामको धन्दामा हिँडेको मान्छे नठहरिउँ, मास्टरजीलाई भन्नैपर्ने कुराहरू जे जति थिएँ, सबै बताएको थिएँ मैले । पर्देशको ठाउँमा अनेकौरुपमा कमाउधन्दामा हिड्ने मानिसहरूको अकाल हुन्न भन्नेकुरो खुव सुनेको थिएँ मैले । त्यसैले पनि ममाथि कुनै संंका नहोस्, म जहाँजान्थे सचेत हुन बिर्सन्थेँ र आफ्ना कुरा सविस्तार सुनाउँथे । मेरा कुरा सुनिसकेपछि सायद मास्टरजीलाई मेरोउपर विश्वास जाग्यो होला, सहजभावमा भन्नुभएको थियो—ए ! त्यसोभा खुब हण्डर खाइएछ, उमराङ्सोमा ।
मास्टरजीको अन्तिम उद्गार कुनै प्रश्नकोरुपमा आएको थिएन । त्यसैले उत्तर दिनुपर्नेजस्तो पनि लागेन मलाई । मास्टरजीकै बारेमा थोरैधेरै जान्ने उत्सुकता थियो मनमा, हिम्मत गरेर सोधेको थिएँ— हजुरको घर कता हो नि ? नाम त पानदोकानी भाइबाट थाहा पाइसकेँ ।
“ए ! नाम बताइसकेछ कान्छाले । निकै टाँठो छ ।” पानदोकानी भाइको बारेमा यत्ति भनेर मास्टरजीले आफ्नो बारेमा बताउनु भएको थियो । “नेपाललाँ हाम्रो घर पूर्वतिर हो भन्छन् । आजसम्म गैयाछैन । धेरै पुस्ता भो आसाम आको । बाआमा नै यतै जन्मनुभको हो । ऐले कार्वियांलोङ्गमा घरबास छ । जहान परिवार उतै बस्छन् । हाम्रो थर चाहिँ कालिकोटा हो । पूर्वेलीले थरलेख्दा कैरन लेख्चन् । कामी, सुनार र तपाईंलेजस्तो विश्वकर्मा लेख्दैनन् । मैले सुरुमै मेरो नाम थर बताइसकेको हुनाले मैले विश्वकर्मा लेख्छुभन्ने उहाँले भेउ पाइसक्नु भएको थियो ।
सामान्य भलाकुसारी भएपछि कुरो गएर तेर्सिएको थियो कामको फन्दामा । त्यहि मेसोमा मैले कालिकोटा मास्टरजीलाई मेरा बाले गर्ने कामको प्रकृति, आर्थिक अवस्था, पारिवारिक जमघट, मेरो आफ्नो कामको सीप बारेमा सुनाएको थिएँ । पढाइको कुरो सोध्नुभएको थियो उहाँले । जवाफमा उही रटिरटाउ आइएसम्मको बनिबनाउ जवाफ फर्काएको थिएँ । तर उहाँलाई आफ्नो राजनीतिक जीवन र वुर्जुवाशिक्षाको विश्रान्तिको बारेमा बताएको थिइन । ती सबै कुरो खोलेर आफूलाई गतिछाडा देखाउन चाँहदिनथिएँ म ।
“भर्खरै स्कुल छुट्टी गरेर आको थेँ । तपैं आइहाल्नुभो । म एक्लै बस्चु याँ । खानासाना आफैले बनाउन पर्च । बस्दैगर्नुस् म चा, नास्ता बनाउँचु ।” मास्टरजीले स्टोभमा आगोबाल्ने तरखर गर्न थाल्नुभएको थियो । अन्जान नै सहि एकछिनको भएपनि पाहुना त पाहुनानै थिएँ म । हठात् उहाँलाई दुःख दिन मन लागेको थिएन । बरु कुरोकानीको बिन्दु पहिल्याएर बिदाबारी हुने तरखरमा थिएँ म । आफैले मुख खोलेको थिएँ— मैले खाना खाएको धेरै भएको छैन । दुःख नगर्नुस् । आइयो आइयो, फर्किनुनि पर्ला । बरु ३ किलो फर्किदाँ मनमा के सोँचेर फर्किम म ?
मेरो त्यो याचना मात्र थिएन, थियो त गहन अनुरोध र आग्रहसमेत । मास्टरजस्तो खाइखेलेको मान्छेले त्यति कुरो नबुझ्ने कुरै भएन । स्टोभ सल्काएर टंकीमा हावा भर्दै भन्नुभएको थियो— बल्लत आउनुभको छ तपैंं । एकैपल्टको भेटाँ के भन्न मिल्च र ? बरु आज यतै बस्नुस् । बिस्तारमा कुरो गरम्ला । शरण पर्न आउनु भकोच । यसरी आइसकेसि सक्दो सहयोग गर्नु मेरो धर्म हो । एकछिनको भएपनि पाहुना हो तपैंं । चा, नास्ता त खाएरै जानुपर्च ।
दुध चिया बनाउनु भएको थियो कालिकोटा मास्टरजीले । चियाको साथमा बिस्कुट खाइएको थियो सादय । मास्टरजीकोे सुझाव थियो सो रात उहाँकै क्वाटरमामै बस्ने । तर, मैले ३ किलो दिदीलाई बेलुकी फर्किने कुरो गरेर हिँडेको हुनाले फर्किनुनै पथ्र्यो । त्यसैले कुरो मिलाउँदै भनेको थिएँ—३ किलोका साथीलाई फर्किने कुरो गरेर हिँडेको हुम् बिहान हिँड्दा । आज याँ हजुरकाँ नबस्ने भएँ । पर्देशको ठाममा हरायो भन्नुहोला वाँरुले । आज बसिन । फेरि आउँछु । केहि न केहि गरिदिनु परो हजुरले ।
“त्यसो हो भने फर्किनुस् । दिनमा म स्कुलमा हुन्चु । आजकै समयमा बस्ने गरेर आउनु होला । आफुले सक्दो सहयोग गर्नेचु तपैंला ।” मास्टरजीको ढाडसबाट आधा मनले ढुक्क भएको थिएँ म । भनौ श्यामस्वेत चित्रउपर इन्द्रेणीको सप्तरंगी मिसिदै थियो । फर्किने नै भएपछि ढिलो गर्नु किन ? म उही पुन्टुरे झोला बोकेर मास्टरजीसँग बिदा भएको थिएँ । तर कालिकोटा मास्टरजीले मलाई ढोकैबाट विदाइ गर्नुभएको थिएन, जेजस्तो लवाइमा हुनुहुन्थ्यो, सोही पहिरनमा मोटरबाटोसम्म पु¥याएर ३ किलो पुग्ने गाडी चढाउनुभएको थियो ।
मास्टरजीलाई खोज्दै प्रवेश गरेको साँघुरो गल्ली जसलाई मैले साँघुरो गल्छीको उपमा भिराएको थिएँ, कालिकोटा मास्टरजीसँग विदावारी भएर ३ किलो फर्किदाभने सो साँघुरो गल्छी विशाल स्वागतद्वारमा परिणत भएको थियो ।
२०८० असोज २६
बुटवल
यी पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)