बुटवल,असाेज २०।
बिस २०६५ सालमा बुटवल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य बनेका थिए हरि अर्याल । उनले २०६८ सालमा सचिव पदमा मनोनयन दर्ता गराए पनि सहमतिको लागि उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि मनोनित वाणिज्यतर्फको सदस्यमा कार्यरत रहे । त्यसपछि उनी महासचिव भए अनि वाणिज्य उपाध्यक्ष ।
अघिल्लो अधिवेशनमा उनी अध्यक्षमा प्रष्तिपर्धा गरे । तर, जित अर्यालको पक्षमा नआए पनि सम्मानजनक मत ल्याए । सरल मिठास, सबैलाई मिलाउन सक्ने अर्याल पुस्तक तथा स्टेशनी व्यवसायी संघको केन्द्रीय अध्यक्ष समेत भए ।
बुटवलमा सुरु भएको बुटवल उद्योग वाणिज्य संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशनमा उनी अध्यक्षका उम्मेदवार बनेका छन् ।
अर्यालसँग गरिएको कुराकानीको सारसंक्षेप ।
अध्यक्षमा उम्मेदवारी किन ?
बुटवल उद्योग वाणिज्य संघ यस क्षेत्रका उद्योग व्यवसायीको छाता संगठन हो । यसको नेतृत्व अव परम्परागत ढंगले चल्न सक्दैन ।त्यसैले अहिलेको हाम्रो समावेशी नेतृत्व युवाहरु उद्योग वाणिज्य संघमा ल्याउन मैले उम्मेदवारी दिएको हुँ । संघमा राम्रा काम लागू गर्न र युवा व्यवसायीलाई नेतृत्वमा पु¥याउन मेरो उम्मेदवारी हो । बुटवललाई गुन्जार र चलाएमान बनाउने हाम्रो टिमसँग स्पष्ट योजना छ ।
आधार के छन् जित्छु भन्नुहुन्छ :
म सहित हाम्रो प्यानल जित्नेमा ढुक्क छौ । किनभने विगतका वर्षको जस्तो अहिलेको निर्वाचन छैन् । अहिले बुटवलका व्यवसायीले उद्योग वाणिज्य संघमा परिवर्तन चाहेका छन् । यस अघि संघमा मैले गर्दै आएको काम र मेरो विचारलाई आम व्यवसायीले हाम्रो टिमलाई मत दिएर जिताउने भेटघाटमा व्यक्त गर्नुभएको छ । त्यसैले हाम्रो समावेशी टिम जित्नेमा ढुक्क छ ।
म उद्योग वाणिज्य संघमा जोडिएको दुई दशक भयो । मैले उद्योग वाणिज्य संघमा जिम्मेवारीका साथ काम गरँे । त्यसकारण व्यवसायीको मन मैले जितेको छु भन्ने ठानेको छु । मेरो नेतृत्वमा संघ आउँदा सबैको हितमा काम हुने सबै व्यवसायीको विश्वास छ । यस आधारमा चुनाव जित्छाैँ ।
देशका सबै क्षेत्रमा युवा शक्ति आउनुपर्ने म देख्छु । किनभने नेतृत्वकर्ता अब युवा नैं हो जुनसुकै क्षेत्रमा पनि । अब संघमा हाम्रो जुझारु उद्यमी सहितको टिम नेतृत्वमा आउन आवश्यक छ । त्यस्तै यस अघि ल्याइएका पूर्वाधार विकास आयोजनाहरुलाई निरन्तरता दिदै राजश्व, प्रशासन, स्थानीय सरकारबाट हुने विभिन्न झन्झट विरुद्ध व्यवसायीलाई संरक्षण गर्ने नेतृत्व जरुरी छ ।
व्यवसायीका समस्याहरु के छन ?
अहिलको बुटवलको मुख्य समस्या भनेको बजार सुनसान हुनु हो । बुटवललाई पुरानै अवस्थामा फर्काएर व्यापार व्यवसायमा अब्बल बनाउनुपर्ने प्रमुख काम हो । बुटवलमा पार्किङको समस्या, छाडा चौपायाको पनि उस्तै छ । त्योसँगै बुटवलमा औद्योगिक क्षेत्रका लागि सधै जग्गा अभाव छ त्यो समस्या हल गर्ने हो ।
त्यस्तै बुटवलको मोतिपुर औद्योगिक क्षेत्र निर्माणमको कामलाई छिट्टो अघि बढाउन सरकारलाई दबाब र खवरदारी आवश्यक छ । आर्थिक मन्दीले यहाँका उद्योग र व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् । यी समस्या समाधानको लागि स्थानीय सरकारसँग सहकार्य गरी काम गनुर्पछ । बुटवल बजारलाई गुन्जार बनाउनुपर्नेछ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)