बुटवल,असाेज २१ ।
बिगत २१ वर्षदेखि बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको विभिन्न पदको अनुभव बटुलेर बिधिपूर्वक नेतृत्वका लिनका लागि हिँडेका युवा पात्र हुन् दिनेशप्रसाद श्रेष्ठ । पाल्पा तानसेन मिसन अस्पतालमा बि.स २०२८ सालमा उनको जन्म भएको थियो । बिस २०२९ साल तिर बुवा अमर प्रसाद श्रेष्ठ र आमासंगै पाल्पा भैरवस्थानबाट बुटवल झरेका दिनेश प्रसाद श्रेष्ठ अहिले चुनावी रन्कोमा छन् ।
भैरवस्थान स्थायी घर भएका श्रेष्ठको पाल्पामा नै कपडाको व्यापार गर्ने उनका बुवा उनी जन्मेको २ वर्ष नपुग्दै कपडाको व्यापार छाडेर बस मालिक बन्दै बुटवल झरे । पुरानो बुटवलमा उनीहरुले बसोबास गरे । बुवाले बस किने र संगम बस सेवाको नामबाट बस चलाए ।दिनेशले बुटवलको सरस्वती प्राविमा १, २ र ३ कक्षा पढे । बुटवलकै व्यापारीहरुले २०१० देखि नै लगानी गरेर चलाउँदै आएको बुटवल माविमा कक्षा ४ देखि १० सम्म अध्ययन गरे । २०४३ सालमा एसएलसी उत्तिर्ण भएपछि उनी बुटवल बहुमुखी क्याम्पसमा विज्ञान संकायमा भर्ना भए ।
जातैले पाएको व्यापार गर्ने मतीका कारण उनलाई विज्ञान विषय मन परेन । आईएस्सीको पढाई बिचमै छाडेर उनी लुम्बिनी वाणिज्य क्याम्पसमा आईकम पढ्न सुरु गरे । लुम्बिनी वाणिज्यबाट स्नातक गरेपछि भने उनको यात्रा व्यावसायीक बन्न थाल्यो ।
पढाईसँगै बुटवलको राममन्दिर लाईनको हिरा श्रेष्ठ ठूलोबुबाको घरमा २०४५ सालमा फेन्सी पसल राखेर व्यावसायिक यात्रा उनले सुरु गरे । फेन्सी पसलले दिनेशलाई खासै सफलता दिन सकेन । ‘आफुले नजानेर हो वा नफापेको फेन्सीबाट खासै नाफा देखिएन ।’ दिनेशले स्मरण गर्छन् ।
फेन्सीको असफलताकैबीच उनको विवाह भयो । विवाह भएलगत्तै उनले व्यावसाय परिवर्तन गर्दै फेन्सी पसल छाडेर किराना पसलबाट व्यावसायिक यात्रा सुरु गरे । उनको किरानाको होलसेल पसल थियो बुटवलको अमरपथमा । बुटवलमा त्यतीबेला किरानाको पसल उधुम चल्यो । उनको पसल चलेको देखेर उत्पादकहरु उनलाई डिलर दिन निकै लालायित हुन थाले । २०५८ सालसम्म पुग्दा उनी केही कम्पनीका अधिकृत बिक्रेता बनिसकेका थिए । त्यतिबेला खुब चल्ने योयो चाउचाउको उद्योग र रुचि चाउचाउको डिलरबाट उनको डिष्ट्रिब्युटरको यात्रा पनि थपियो । २०५९ सालदेखि उनको बिजनेशमा लिकर्स व्यवसाय पनि थपियो र उनी मदिराको डिस्ट्रिब्युटरको काम सुरु गरे । अहिले पनि उनी मदिरा व्यावसायी सहित त्यससँग सम्बन्धित केन्द्रीय संस्थाको सल्लाहकार रहेका छन् ।
सामाजिक कामले चिनिएका युवा :
व्यापार संगसंगै २०५९ सालदेखि उनको व्यावसायिक नेतृत्वको यात्रा पनि सुरु भयो । २०५९ सालमा दिनेश कार्यसमिति सदस्य पदमा बुटवल उद्योग वाणिज्य संघमा प्रवेश गरे । २०५९ देखि ६८ कार्यसमिति सदस्य ४ कार्यकाल, २०६८ देखि ७१ सम्म सचिव, २०७१ देखि २०७४ सम्म कोषाध्यक्ष, २०७४ देखि ७७ महासचिव, ७७ देखि ८० सम्म वरिष्ठ उपाध्यक्ष बनेर २१ वर्ष अनवरत संघ मार्फत उद्योगी व्यवसायीको दिनेशले सेवा गरे । मुसुक्क हाँसेर बोल्ने, सबैसँग सजिलो व्यवहार गर्ने र ठालु नपल्टने दिनेशको सरल स्वभावका कारण उनी अहिले सम्म चुनाव हारेका छैनन् । सजिलै घुलमिल हुन सक्ने दिनेशको खुबीको सबैले प्रशंसा गर्ने गर्दछन् ।
१० कक्षामा पढ्दा पढ्दै दिनेश जुनियर रेडक्रस सर्कलबाट जापान गए, १ महिना जापानको भ्रमण गरे । त्यतिबेला कुनै बहानामा जापान जस्ता देश छिर्ने र भागेर काम खोज्ने चलन भएपनि दिनेशलाई त्यो लालचले छोएन ।

उनी फर्केर आए र व्यापार सहित सामाजिक दायित्व पनि निभाउँदै गए । उनी १९९७-९८ सालमा लियो क्लब अफ बुटवलको अध्यक्ष भए । उनले आफ्नो नेतृत्वको विकास गर्दै २००५ मा बुटवल जेसिजको अध्यक्ष बने । सन २०१७र१८ मा बुटवल लायन्स क्लबको अध्यक्ष हुँदै लायन्स ३२५ पी नेपालको कोषाध्यक्ष सम्म पुगेर उनले सेवा गर्ने काम गरे ।
संघको कार्यसमितिमा प्रवेश गरेदेखि नै नहारेका दिनेश :

उनको सरल मिजासका कारण संघको कार्यसमितिमा प्रवेश गरेदेखि नै उनी हारेका छैनन् । कार्यसमितिको सबै पदको जिम्मेवारी निभाइसकेपछि अब अध्यक्षको अधिकार आफ्नै भएको दिनेश बताउँछन् । संघको नेतृत्व चलाउने अनुभवका हिसाबले र सानो व्यापारबाट सुरु गरेर व्यापारीको समस्या नजिकबाट अनुभुति गरेकाले पनि आफु अध्यक्षका लागि सक्षम उम्मेदवार बन्न सक्ने दिनेशको दाबी छ ।
उनले बुटवलमा घर बहालको कुरा, भन्सारको कुराहरु, अन्डर बिलिङ, पार्किङ, करको झन्झट, बैंकको अव्यावहारिक निती जस्ता मुद्दाहरुलाई मुख्य मुद्दाका रुपमा रहेको बताउँछन् । ‘स्थानीयतहसँग घरबहाल कानुन छैन, घरधनीले तिर्नु पर्ने बहालकर जबर्जस्ती व्यावसायीबाट असुलिन्छ,’ उनी भन्छन्, ‘कर प्रणाली पनि अवैज्ञानिक छ, सरकार व्यावसायीलाई दुहुनो गाई मात्र सम्झन्छ ।’
बुटवलको विकास सम्भव छ :
श्रेष्ठको भनाईमा व्यावसायीको समस्यासँग जुध्न सशक्त र एकताबद्ध टिम आवश्यक पर्दछ । अधुरो र अपुरो सहित सन्तुलन नमिलेको टिमले व्यावसायीको नेतृत्व गर्न नसक्ने उनको ठहर छ ।

दिनेशको एजेण्डामा बुटवलको विकास गर्न पर्यटन प्रमुख आधार भएको उल्लेख छ । जबसम्म पर्यटक भित्राउन सकिन्न तबसम्म बुटवलको विकास सम्भव नहुने उनी बताउँछन् । तराई र पहाडको संगम स्थल बुटवलसँग सितल पनि छ, गर्मी पनि रहेको भन्दै भारतका पर्यटकहरुलाई भित्राउन सकेमात्र बुटवलको विकास गर्न सकिने उनको भनाई छ ।
बुटवलमा रात्रीकालिन बजार स्थापना, सबैतिरबाट बुटवल आउने सहज बाटोघाटो, बुटवलमै कच्चा पदार्थ उत्पादन गर्न सक्ने उद्योगको स्थापना, बुटवलको व्यापारीको सिधै हिमालय पारीको व्यापारमा पहुँच हुन सकेमात्र बुटवललाई गल्जार बनाउन सकिने दिनेशको ठहर छ ।
बुटवलको बजारले काठमाडौंसँग प्रतिस्पर्धा गर्न बुटवलमा उद्योग स्थापना र सिधै तेस्रो मुलुकबाट आयातको क्षमता बढाउन जरुरी रहेको दिनेशले बताउँछन् । काठमाडौंकै मुल्यमा आयातित विदेशी सामान तथा वीरगन्ज र विराटनगरकै मुल्यमा किराना तथा बिसातखानाका सामान बुटवलमा उपलब्ध हुन सके आधा नेपालको व्यापार पुनः बुटवलले धान्न सक्ने दिनेशको सपना रहेको छ ।

दिनेश भन्छन बजारमा केही हल्लाहरु आएका छन् । मैले गरेको क्रियाकलापप्रति उहाँहरुको मलाई पूर्ण समर्थन छ । अहिलेसम्मकै जेष्ठ पूर्व अध्यक्ष महेशकुमार राजभण्डारीले समेत खुट्टाले हिड्न नसक्दा पनि मलाई भेटेर आशिर्वाद दिनआउनुभयो त्यसले मलाई थप हौसला प्रदान गरेको छ । हरेक दिन दिनेश प्यानलको घरदैलोमा सबै पूर्व अध्यक्षहरुको उपस्थितीले पनि आफ्नो जित सुनिश्चित भएको दिनेशको दाबी छ ।
दुइदिनपछि असाेज २२ गते हुने चुनावमा उनले अध्यक्षमा उम्मेदवारी मनाेनयन गरिसकेका छन् । बुटवलको इतिहासमा उद्योग वाणिज्य संघ जन्माउने केही पूर्व अध्यक्षहरुको निधन भएपनि बाँचेका सबै पूर्व अध्यक्षहरु दिनेशकै पक्षमा खुलेर भोट मागिरहेका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)