Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बहसमा छाडा चौपाया ब्यवस्थापन : ‘सरकारले नै गौ संरक्षण निकुञ्ज संचालन गर्नुपर्छ’

बहसमा छाडा चौपाया ब्यवस्थापन : ‘सरकारले नै गौ संरक्षण निकुञ्ज संचालन गर्नुपर्छ’

  • 2.7K
    SHARES

  • बहसमा छाडा चौपाया ब्यवस्थापन : ‘सरकारले नै गौ संरक्षण निकुञ्ज संचालन गर्नुपर्छ’

    बुटवल,भदौ २५ ।

    रुपन्देहीमा देखिएका छाडा चौपाया ब्यवस्थापनबारे बुद्ध सामुदायिक टेलिभिजनले सरोकारवाला निकायका बिचमा छलफल चलाएको छ । बुटवल उपमहानगरपालिकामा छाडा चौपायाको संख्या बुद्धि हुँदै जाँदा दुर्घटना बढ्दै गएको र गाईगोरुले समेत दुख पाएको भन्दै टेलिभिजनले सरोकारवाला निकायका बिचमा छलफल संचालन गरेको हो ।

    शान्तिका लागि संचार अभियानद्धारा संचालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिकउत्सवको अवसरमा सोमबार बुटवलको शिवनगर सामुदायिक बनमा रहेको नन्दनी गौशालामा सरोकारवाला निकायका बिचमा छलफल संचालन गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चौपायाको ब्यवस्थापनको लागि नयाँ कार्यविधि अनुसार गौशाला संचालनको तयारी गरिएको जानकारी दिनुभयो ।

    उहाँले एकैपटक ४–५ सय चौपायाको ब्यवस्थापन हुने गरी गौशाला संचालनको लागि नगरले तयारी गरेको र धार्मिक संस्थालाई ब्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको बताउनुभयो । गौशाला संचालनको लागि पछिल्लो समय बन कार्यालयले कानूनी अड्चन देखाएर अवरोध सृजना गर्ने कोशिष गरेको गुनाशो पाख्दै प्रमुख पाण्डेयले छाडा चौपायाको ब्यवस्थापनको लागि आफु जुनसुकै लडाई लड्नको लागि तयार बताउनुभयो ।

    btv.jpg

    बुटवलको नयाँगाउँमा रहेको मूक्तिनाथ धामका प्रमुख संरक्षक स्वामी लोकानन्द सरस्वती महाराजले गाईगोरुको ब्यवस्थापनको लागि केन्द्रीय सरकारसँग नै पहल गर्नुपर्ने बताउनु भयो । एउटा ब्यक्तिले मात्र गाईगोरुको ब्यवस्थापन गर्न नसक्ने बताउँदै यसको लागि यहाँका सरोकारवाला निकायले प्रधानमन्त्री समक्ष नै ध्यानआकृषण गराउनु पर्नेमा जोड दिनुभयो । सरकारले नै गौ संरक्षण निकुञ्ज संचालन गर्न सके देशभरका गाईगोरुको ब्यवस्थापनसँगै संरक्षण हुने उहाँको सुझाब छ ।

    रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले सीमानाकाबाट नेपाल प्रवेश गर्ने गाईगोरुको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय सधै लागि रहेका बताउनुभयो । गाईगोरुको संरक्षण आवश्यकता रहेको बताउँदै उहाँले बैज्ञानीक तरिकाले छाडा चौपायाको दिगो ब्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।

    यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले नेपालको संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरेकाले तिनै तहका सरकार मिलेर गौं संरक्षण गरिनु पर्ने बताउनुभयो । सीमानाकाबाट आउने छाडा चौपायालाई राकिनु पर्ने र छाडाचौपाया नियन्त्रणको लागि सबैको साथ आवश्यकता रहेको बताउनुभयो ।

    गाई हिन्दुहरुको आस्थाको जनावर मात्र नभएर राष्ट्रिय जनावर भएकाले सबै धर्मालम्बी र जातजाती संरक्षणको लागि एकजुट हुनुपर्ने उहाँको भनाइ छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाईले विगत ३ वर्षमा लुम्बिनी प्रदेशमा छाडा चौपायाका कारण ६० वटा दुर्घटना भएको जानकारी दिँदै सडक दुर्घटनाको २० प्रतिशत कारण छाडा चौपाया हुने गरेको बताउनु भयो ।

    gausala nandini.jpg

    ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दान बहादुर थापाले गाईगोरुको ब्यवस्थापन र संरक्षणको लागि प्रहरीले सधै सहयोग गर्ने बताउनु भयो ।

    बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बुटवल वडा नं ८ का वडा अध्यक्ष यंगप्रसाद पंगेनी , ओम परिवाकार उपाध्यक्ष पुरुषोत्तम पाण्डेय ,विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपाने ,बन कार्यालयका वन अधिकृत सूर्य मैनाली , विश्व हिन्दु महासंघका नगर अध्यक्ष चन्द्रमान श्रेष्ठ, पश्चिम नेपाल बस ब्यवसायी प्रालीका संचालक सदस्य नारायण घिमिरे लगायतले बोल्दै सबैको अपनत्व ग्रहण गरेर समस्या समाधान गर्न सकिने बताए ।

    टेलिभिजनका कार्यकारी प्रमुख विक्रम खड्काले वार्षिकोत्सवको अवसरमा टेलिभिजनले साप्तहाब्यापी कार्यक्रम अन्तरगत गौशालामा आएर छाडा चौपाया ब्यवस्थापनको लागि सरोकारवाला निकायका बिचमा छलफल गरेको बताउनु भयो । सोही अवसरमा गौशालामा रहेका गाईगोरुलाई गुड खुवाउने कार्यक्रम समेत गरिएको उहाँले जानकारी दिनुभयो । 

    वार्षिकोत्सवकै अवसरमा टेलिभिजनले मंगलबार बुटवलमा शुसासनकालागि स्थानीय तह र मिडियाको भूमिका विषयक गोष्ठी संचालन गर्न लागेको समाचार प्रमुख कपिल ज्ञवालीले जानकारी दिनुभयो ।  भदाै २७ गते बुधबार मूल समारोहको आयोजना र तिज विशेष कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सवको समापन हुने टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मीले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology