Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्वस्थजीवनका लागि जैविक घडी र दिनचर्याको महत्व

स्वस्थजीवनका लागि जैविक घडी र दिनचर्याको महत्व

  • 3.2K
    SHARES

  • स्वस्थजीवनका लागि जैविक घडी र दिनचर्याको महत्व

    -ध्रुवराज भण्डारी

    सामान्य भाषामा मानिसले प्रयोग गर्दै आएको घडी समयको मापन गर्ने यन्त्र हो ।यसको आविष्कार चोधौ शताब्दीमा इटालीमा भएको थियो ।पृथ्वी घुम्ने गतीको आधारमा २४ घण्टाको नियमित चक्रलाई यान्त्रिक घडीले मापन गर्दछ ।

    यान्त्रिक घडी जस्तै  मानिस लगायत हरेक जीवको शरीरमा हुने आन्तरीक  संरचनागत प्रणाली ( जैविक घडी) ले पृथ्वीको चक्रअनुसार प्राणीको शारिरीक र मानसीक अवस्थामा परीवर्तन गराउँछ ।यसरी पृथ्वीको २४ घण्टे चक्र (cycle)सँग तालमेल मिलाउने मानव शरीरको प्रकृयालाई सर्केडियन रिदम/लय भनिन्छ ।यो लयको तय कसरी हुन्छ भन्नेबारे अध्ययन गर्ने क्षेत्रलाई Chronobiology भनिन्छ ।

    मानव मष्तिष्कमा आन्तरीक "मास्टर घडी" हुन्छ भन्ने तथ्यलाई पुष्टि गर्दै आधुनिक वैज्ञानीकहरु अनुसन्धान गरिपत्ता लगाए कि मानिसको मस्तिष्कमा हुने पिट्युटरी र पाइनियल ग्रन्थीले बनाउने कटिसोल र मेलाटोनिन हर्मोनले प्राकृतिक समयसँग तालमेलमा बिभिन्न संकेतहरु रगतको माध्यमबाट शरीमा प्रवाह गर्दछन ।शरीरको प्रकृयाको लयको निर्धारण एन्डोजिनियस/आन्तरीक र एन्ट्रेनेबल/बाह्रय तालिमबाट हुन्छ ।

    एन्डोजिनियस चक्र स्वचालित हुन्छ भने एन्ट्रेनेबल चक्र हेरफेर गर्न सकिने हुन्छ ।यसरी मानव शरीरमा निर्मित जैवीक घडीले जीवनको समग्र व्यवहार र गतिविधीहरु संचालन गरिरहेको हुन्छ ।

    दिनचर्या भनेको मानिसले २४ घण्टा भरमा गर्ने बिभिन्न क्रियाकलापहरुको समष्टी हो । पुर्वीय दर्शनमा आधारीत आयुर्वेदमा स्वस्थ रहनका लागि असल दिनचर्याको बारेमा बताइएको छ ।जुन जैविक घडीसँग तालमेल हुनेगरी निर्देशित गरिएको हुनाले स्वास्थ्य पर्वधनमा महत्वपुर्ण रहेको छ ।दिनचर्या अन्तर्गत हरेक दिन बिहान उठेदेखि राती सुत्नेबेलासम्म गरिने क्रियाकलापहरु जस्तै योग‚ ध्यान‚ व्यक्तिगत सरसफाई‚ खानपान‚ शारिरीक क्रियाकलाप‚ आराम ‚मनोरन्जन ब्रम्हचर्य तथा निद्रासम्मका बिषयहरु आदि पर्दछन ।

    यि कुराहरुलाई निर्दिष्ठ  समयमा गर्न सकिएमा रोगको जोखिम आधा घटने कुरामा निर्विवाद जस्तै छ। बदलिदो जीवनशैली ‚भौतिक प्रतिष्पर्धा तथा बाध्यताबश मानिसले जीवनशैलीलाई सहि किसिमले अपनाउन नसक्दा हरेक परिवारमा उमेर नपुग्दै कुनै न कुनै रोग नलागेको मानिस भेटन मुश्किल हुन्छ।अबको समय स्वाथ्यकर्मीहरुबाट गाउँटोलसम्म हरेक परिवारमा दिनचर्याका सामान्य कुराहरु शुक्ष्म र प्रभावकारी तवरले चेतना फैलाउन नसकेमा औषधीमा ठुलो धनराशी खर्च हुनेवाला छ ।
    जैवीक घडीसँग दिनचर्यालाई कसरी तालमेल गर्न सकिन्छ ?

    पृथ्वीले सुर्यको वरिपरी घुम्ने चक्रअनुसार दिन‚ रात‚ बिहान ‚ दिउसो जाडो‚ गर्मी जस्ता फरक फरक अवस्था प्रकृतीमा देखापरे जस्तै हाम्रो शरीरको जैविक घडीमा पनि यि बदलिएका प्रकृयाको प्रभाव पर्दछ।शरीरको आन्तरीक प्रकृयामा आउने बदलाव अनुरुपको दिनचर्या अपनाउन सकेमा रोगको आक्रमणबाट जोगिन सकिन्छ । उदाहरणको लागि रातको ९ बजे शरीरमा स्वभाविकरुपमा मेलाटोनिनको उत्पादन बढछ जसको संकेत स्वरुप निद्रा लाग्छ ।त्यसैले उक्त समयमा सुत्नु स्वास्थ्यको लागि उत्तम हो तर सबैलाई त्यो पालना गर्न सम्भव नहुन सक्यो । निदाएको १/२ घण्टामा रगतमा इन्सुलिनको मात्रा कम रहेमा सोमाटोट्रोफिनको उत्पादन बढन गई शरीरको फ्याट कटाउँछ ।यसको लागि साँझको खाना सुत्नुभन्दा ३ घण्टा पहिले खाने गरेमा मोटापा र मधुमेहबाट जोगिन सकिने भयो ।

    अधिकांश प्राणी सुर्योदय अगावै उठछन तर मानिस सुर्योदय भएपछि पनि सुत्नु अवश्य जैविक घडी अनुकुल हुदैन र आयुर्वेद दिनचर्यामा उक्त ब्रहममुर्त अर्थात सुर्योदय भन्दा १.३० घण्टा पहिले उठन निर्दिष्ठ गरेको छ । उक्त समयमा मष्तिष्कको संज्ञानात्मक कार्यक्षमतामा बढोत्तरी हुनजाने हुदा अध्ययनको लागि उत्कृष्ठ समय मानिएको छ।चाइनिज मेरिडियनका अनुसार बिहान ३-५ बजेको समय आत्मा र श्वासप्रश्वाससँग जोडिएको समय हो ।आयुर्वेद र चाइनिज परम्परागत चिकित्सा बीचमा तालमेल  पनि देखिन्छ।

    हरेक दिन बिहान ५-७ बजेको समयमा ठुलो आन्द्राको क्रियाशिलता बढने समय भएको हुँदा बिहान उठेर खालीपेटमा मनतातो पानीमा हल्का कागती राखि पिउनाले पेटका विकारहरु दिशाको माध्यमबाट निस्कि पेट शुद्दि हुन्छ ।मानिसले आफ्नो नियमित निद्रालाई जबर्जस्त अनियमित पार्दै लगेमा जैविक घडीसँगको तालमेल बिग्रन गई उच्च रक्तचापको समस्या निम्तन सक्छ । प्रौढलाई सामान्यतया ७ घण्टाको गहिरो निद्राको आवश्यकता पर्दछ ।जुन ९.३० बजे सम्म सुत्ने र बिहान ४.३०  बजेसम्म उठनु उत्कृष्ठ मानिन्छ ।

    आयुर्वेदमा निद्राजस्तै आहारलाई पनि नियमित दैनिक एउटै र निश्चित समयमा गर्न निर्देशित गरेको छ । बिहानको खाना ९ बजे भित्र खाईसक्न र साझको खाना ७ बजेभित्र खाईसक्नु उत्तम मानिएको छ । अनियमित खानपानले रोगलाई बढावा दिनुका साथै जैविक घडीको प्रतिकुल पनि हुनजान्छ ।पुर्वीय दर्शनमा आधारित आयुर्वेदमा प्रकृतीमा जुन मौसम र जुन स्थानमा फलेको अन्न वा फलफूल उक्त स्थानमा बस्नेको शरीरको लागि सात्म्य हितकर हुन्छ भनि निर्देश गरेको हुनाले भोजनमा यस्ता वस्तुपनि समावेश गर्नु स्वस्थकर हुन्छ ।

    om hospital.jpeg

    मानिसले कामको साथमा विश्राम र मनोरन्जनलाई पनि आफ्नो दैनिकिको निश्चित समय छुट्याउनु पर्छ । आजकल एकल परिवारको बसाई भएको र मान्छे काममा व्यस्त हुनेहुदा घरभित्रै रमाइला कुराकानी र हासो ठट्टा साझ कामबाट फर्केपछि निश्चित समयमा गर्नुपर्छ ।

    अन्त्यमा‚ जैवीक घडी जसरी प्रकृतीसँगको नियममा चलेको हुन्छ त्ससैगरी हाम्रो दैनिक जीवनका क्रियाकलाप पनि समयवद्द नियमीत गर्न सकेमा शारिरीक तथा मानसीक स्वास्थ्य लाभ प्राप्त गरि सुख र समृद्यि प्राप्त गर्न सकिन्छ ।त्यसैले जैवीक घडी र दिनचर्याको महत्व सबैले बुझेर अबलम्बन गरेमा मात्र स्वस्थ र निरोगी समाज निर्माण हुनजान्छ । यदि दिनचर्यालाई नियमित राख्न सकिएन भने बिभिन्न जीवनशैलीको कारण उत्पन्न सुगर‚ प्रेसर‚ क्यान्सर‚दम‚ तनावजस्ता अनेकन रोगहरुबाट जोगिन असम्भव जस्तै हुन्छ ।

    (वरिष्ठ कविराज अधिकृत सातौं,मायादेवी गाउँपालिका‚ रुपन्देही)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology