-डा.शम्भु खनाल
जोर्नी दुख्छन् भने कतै तपाईं औषधिको जटिलतामा त हुनुहुन्न? एउटा झट्ट हुने चमत्कार । एउटा गोलीको चमत्कार । एउटा सामान्य ट्याबलेटको चमत्कार । दुखाइ पुरै निको हुने चमत्कार । वर्षौंदेखि सोही औषधिको चमत्कार देख्दै आइरहेको एउटा शरीर जिर्ण छ । त्यो चमत्कारको पर्दा पछाडी लुकेको शरिरको खोक्रोपनबाट चम्पाकुमारी अनभिज्ञ छिन् । अस्पतालको मेडिकल वार्डमा भर्ना भएकी छन् ।
यहाँ सबै हाडजोर्नी र जिउको दुखाइ युरिक एसिडले गर्दा हुन्छ भन्ने भ्रम छ ।
विगत १० वर्षदेखि चम्पाकुमारीले स्टेरोइड( steroid) सेवन गर्दै आइरहेकी छन् । Steroid यस्तो औषधि हो जसले हरेक रोगमा क्षणिक भएपनि काम गर्छ । दुखाइ हुने बाथ सम्बन्धीका रोगमा त यो एउटा चमत्कारिक औषधि नै हो । फार्मेसीले आफ्नै मनले औषधि दिने चलन हाम्रै दक्षिण एसियामा मात्रै होला ।
कुनै चिकित्सकको prescription को फोटोकपी गरेर बिरामीलाई औषधि चलाउने चलन यहाँ व्यापक नै छ । जसको फलस्वरूप अनावस्यक र हानिकारक औषधि लामो समयदेखि खान बिरामी बाध्य हुन्छन् । Steroid समुहका औषधिले खाँदासम्म शरीरको दुखाइ आदि सब हराउँछ । त्यसैले बारम्बार सोही औषधि खरिद गर्दै खाने बानी पर्दै जान्छ । यो औषधि विशेष अवस्थामा केही निस्चित समयका लागि चलाउने गरिन्छ ।
लामो समय Steroid को आवस्यकता पर्ने देखिएमा वैकल्पिक औषधिहरु प्रयोग गर्नुपर्ने हुन्छ जसका नकारात्मक असरहरु Steroid को तुलनामा निकै कम हुन्छ ।
तर हाडजोर्नीको दुखाइ कम गर्ने निहुँमा लामो समयसम्म सो औषधिको प्रयोग गर्नाले शरीर झन गल्दै जान्छ । हड्डी झुरो र कमजोर हुन्छ । सानो चोटपटकले पनि हड्डी भाँचिन पुग्छ । सुगर बढेर जान्छ । रक्तचाप बढ्दै जान्छ । शरीर फुल्लिँदै जान्छ । मुख गोलो हुन्छ । पिढ्युमा बोसो जम्दै जान्छ । पाखुरा र तिघ्राका मासु कमजोर हुँदै जान्छन् । यो सबै नतिजा त्यही चमत्कारिक औषधिको न हो ।
चम्पाकुमारीको कथा पनि त्यस्तै छ । उनलाई बाथ रोग लागेको रहेछ । प्रचलित भाषामा कतै त्यो बाथलाई गठिया बाथ भन्ने गरिन्छ । जुन बाथ युरिक एसिडको बाथ भन्दा बिल्कुल फरक हो । तर उनको लागि त्यो बाथ युरिल एसिडको बाथ हो । र त्यसको लागि सन्चो बनाउने औषधि भनेको दुखाइ कम हुने "ठिउरा" हुन्। सोही चमत्कारिक स्टेरोइड । आज उनलाई न्युमोनिया भएको छ । उनलाई मधुमेह रोग लागेको छ । उनलाई उच्च रक्तचापको औषधि चलाउन परेको छ । उमेरले त उनी मात्रै ५० वर्ष । तर हेर्दा देखिन्छिन् ७० वर्ष । शरीरको अवलोकन गर्दा उनी कुनै दीर्घकालीन रोगले प्रताडित छिन् । चेहराको भाव नियाल्दा डिप्रेसनले पनि पीडित छन् कि जस्तो लाग्छ ।
हप्ता दिनको अस्पतालमा उपचारपछि उनी केही तङृन्छिन् । उनको न्युमोनिया पनि ठिक हुन्छ । सुगर प्रेसर सबै नियन्त्रणमा आउँछ । उनले खाइरहेको steroid एक्कासी हटाउन पनि सकिन्न । बिस्तारै औषधिको मात्रा घटाउँदै जानुपर्छ । नभए त प्रेसर कम हुने, पखाला लाग्ने, ज्वरो आउने आदि हुन्छ । त्यो औषधिसँग अभ्यस्त भैसकेको उनको हर्मोन प्रणाली पुर्ववत अवस्थामा आउन केही समय लाग्छ । खुसीको कुरा - उनी सकुशल डिस्चार्ज हुन्छिन् ।
दुई हप्तापछि उनी फेरि ओ पिडिमा आउँछिन् । वैशाखी टेक्दै । खुट्टा खोच्याउँदै । त्यो हिडाइ देखेर उनको Neck of Femur Fracture भएको अनुमान गर्न सकिन्छ । जुन कुरा एक्स रे ले पनि पुष्टि हुन्छ ।
Steroid भन्ने औषधि सहि तरिकाले सहि अवस्थामा प्रयोग गरेको खण्डमा वरदान सावित हुन्छ। तर दीर्घकालीन र मनमर्जीको प्रयोगले व्यक्ति शारीरिक र मानसिक दुवै तरिकाले जीर्ण हुन्छ । तसर्थ रोगको सहि पहिचान गरेर मात्रै औषधी सेवन गरौं । यदि क्षणिक लाभको लागी मात्रै उपचार गर्ने मानसिकता छ भने चम्पाकुमारीको नियती नहोला भन्न सकिन्न ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)