- ✍शंकर गिरी !
नेता त्यो हो जो चर्चाका लागि मात्रै चर्चित हुन्छ । नेतृत्व त्यो हो जो आलोचित हुन्छु भन्ने जानेरै पनि आफू आफ्नो अडानमा टिक्छ । यहाँ ट्वीटर र फेसबुकमा आएका विचारका आधारमा आफ्नो धारणा सार्वजनिक गर्नेहरूको बहुमत बढ्दै गएको छ । त्यसैले नेपाली समाजमा सञ्जालबाट नै भगवान र दानव बन्ने / बनाउने स्पीड एकदम चर्को छ ।
इतिहास बनाउनेहरू माहोल हेरेर त्यही धारणाको कपी पेष्ट गर्दैनन् , स्वयम् आफ्नै धारणाले माहोल बनाउदै अगाडि बढ्छन् ! भीडमा घुलमिल हुने नेता चाहिएको होइन देशलाई ! भीडलाई सही दिशानिर्देश गर्ने नेतृत्व चाहिएको हो । मैदानमा अर्जुन र भीष्मपितामह पनि पक्ष - विपक्ष भएरै उभिए । न अर्जुन भीष्मसँग दुश्मनी राख्दथे न भीष्म नै अर्जुनलाई बैरी देख्दथे ।आखिर वंश नै एउटै भएपनि युद्ध त अर्जुन र भीष्मबीच नै भो ।
महाभारतका खलनायक दूर्योधन र सकुनी हुन्। आज हामीबीचका खलनायकको चर्चा गरौँ ! यहाँ जे भैरहेको छ त्यस्ले परिवर्तन चाहनेहरूलाई नै फुटाइरहेको छ , आपसमा भिडाइरहेको छ ।
अब मुद्धामा केन्द्रीत हौँ ! नेपाली काँग्रेस पार्टीका चर्चित आदरणीय महामन्त्रीद्वय उपनिर्वाचनको मिति नजिकिएसँगै अस्ति मनोनयन दर्ता गराउन तनहुँ र चितवन पुगेर दिएको अभिव्यक्तिले यतिबेला नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । तरङ्ग पैदा यस्ले मात्रै होइन अस्ति भर्खर भारी मतले निर्वाचित भएर आएका देशका निवर्तमान उपप्रधान एवम् गृहमन्त्री आदरणीय नेता रवि लामिछाने दोहोर्याएर निर्वाचन लड्दै छन् भने नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् देशका सुयोग्य अर्थशास्त्री डा. स्वर्णिम वाग्ले पार्टी नै परित्याग गरि नयाँ पार्टीबाट मैदानमा होमिएका छन् । सायद यसैले होला केही समय अगाडिमात्रै सम्पन्न भएको संघ एवम् प्रदेशको निर्वाचनले जति चर्चा पाएको थियो त्यो भन्दा कम चर्चा अहिले हुन लागेको उपनिर्वाचनको छैन ।
नेपालको राजनीतिमा चुनावको मुखमा पार्टी छोड्ने / नयाँ पार्टी निर्माण गर्ने / नयाँ दल प्रवेश गर्ने / गैर राजनीतिक पृष्ठभूमि भएकालाई एकाएक टिकट दिने / पार्टीकै हस्तीहरूलाई टिकट नै नदिने आदि घटनाहरू सामान्य भैसकेका छन् । नलुकाएर भन्नुपर्दा निर्वाचन नेताको लागि एउटा उत्सव मात्रै होइन अवसर नै भएको छ ।
सामाजिक सञ्जालमा यतिबेला देशका आशातीत अनुहारहरूबाट एक - अर्काप्रति जुन कटाक्ष सुरु भएको छ , वाकयुद्ध नै छेडिएको छ त्यो केन्द्रीत भएर आएका सामाजिक सञ्जालका प्रतिक्रिया र ती प्रतिक्रिया भित्रपनि चलिरहेका क्रिया - प्रतिक्रियाले नेपाली समाजमा फेरि एकपटक नयाँ भाष्य स्थापित गर्न लागेको छ ।
गगनहरू स्वर्णिम विरुद्ध मैदानमा खट्नुपर्ने बाध्यता छ , विश्वहरू रविलाई आलोचना गर्दै बोल्नुपर्ने परिस्थिति छ । गगन - विश्व बोल्दैगर्दा यतिबेला तमाम काँग्रेसीलाई समेत चित्त बुझेको छैन । अझ भनौँ आपसमै पार्टीका सक्रिय कार्यकर्ता माझ नै अलग - अलग धारणा बनिरहेको छ । देशको विकृत राजनीतिक अवस्था र आफू आस्थावान् पार्टी र नेतृत्वको अकर्मण्यताले दलका सदस्यहरू नै चरम निराशाजनक छन् भन्ने पुष्टि यसै बुझ्न सकिन्छ ।
म के स्वीकार्छु भने चर्चा फगत चर्चा हो । तर यहाँनेर नेपाली समाजले के बुझ्दैन भने आजको मुद्धा के हो ...? वास्तवमा लड्नुपर्ने को सँग हो ...? लडाइँ कस्का लागि हो ...? राजनीतिमा परिवर्तनको मुद्धा बोकेका दलभित्रका नेतृत्व को हुन् ... ? अझ भनौँ हरू जस्तालाई स्थापित गराउन , रविहरू जस्तालाई हस्तक्षेप गर्न सिङ्गो राजनीतिमै आउन प्रेरित गर्ने प्रेरक को हुन् ...? यस्को जवाफ आजको युवाले खोज्न सक्नुपर्दैन ......? सडकमा प्रश्नगर्नेहरूलाई सदनमा जवाफ दिने हैसियत बनाइदिने पनि गगन र विश्व नै हुन् जस्ले निरन्तर आफ्नो पार्टी र नेताका बारेमा खुलेर आलोचना गरिदिए ।
समयले नेपाली राजनीतिमा अहिलेका हरेक नेतालाई एक समय नायक र केही समयपछि खलनायक बनाएको प्रशस्तै उदाहरण छन् ! म यहाँ त्यस्का केही प्रतिनिधि घटनालाई जोड्न चाहान्छु । नेपाली काँग्रेसका नेता गिरिजा प्र कोइराला नेपाली राजनीतिमा सक्रिय हुँदा उनका नाममा अनेक आलोचना र सडकमा कयौँ पुत्ला जले तर जीवनको उत्तरार्धमा उनी शान्तिनायक भए । नेकपा माओवादीका सुप्रिमो एक समय आतङ्कारी भए , पछि शान्तिपूर्ण राजनीतिमा आएलगत्तै नायक भए , देशले प्रचण्ड जस्तो नेता नेपालमै नभएको भन्न लाग्यो , भीडले प्रचण्डलाई यति साथ दियोकि नेपाल प्रचण्डको हात नभएर मात्रै नबनेको भन्ने भाष्य स्थापित भो ।
प्रचण्ड तत्कालीन समयको सबैभन्दा चर्चित एवम् आशातीत नेता कहलिए । सुशिल कोइरालाहरू चुपचाप आए चुपचाप गए । उनी गएपछि बल्ल हल्ला भो उनी त निष्ठावान् थिए , संविधानका पिता थिए । ओलीहरू नाकाबन्दी भएपछि राष्ट्रवादी भए आजसम्म कार्यकर्ताका लागि राजनेता छन् । देउवाहरू हिजोदेखि आजसम्म आलोचित थिए , छन् र रहन्छन् , सायद संसार छोड्दा केही थान वाह - वाह पक्कै प्राप्ति होला ।
समय बदलिँदै गर्दा राजनीतिमा बालेन - हर्क र रविहरूको उदय भैसकेको छ । यो युगको सुरुवातमा अहिले वाह - वाह हुने पात्र मध्यका रबिहरू जे गरेपनि वाह - वाह भैरहेका छन् । रबिको नागरिकता गलत थियो । त्यो सुधार गरियो । उनी अहिले सफाइ पाएरै आए । नागरिक गलत थियो भनेको होइन नागरिकता प्रक्रिया अनुसार गलत भो भन्दा गालीले चुर्लुम्म डुबियो ।
स्वर्णिमले हिजो नेपाली काँग्रेसमा रहँदा चर्चित अमेरिकी अनुदान एमसीसी
[ MCC ] को खुलेर समर्थन गर्दा उनलाई भीडले दलाल , एजेण्ट , माफिया , आदि इत्यादी भन्यो । आज भीडले जे गरेपनि वाह - वाह गरिरहेको व्यक्तिको समर्थनमा स्वर्णीम चुनाव लड्दा भीडले MCC को विरोध नै बिर्सियो तर गगनहरू देशका बारेमा दुई शब्द बोल्दा थानकोट किन नकटाएको ...? चारपाटा किन नमुडेको ...? बाख्रा खोइ...? भन्नेको ओइरो लाग्छ .!
यस्तो संस्कार बस्यो कि स्थापित दलका नेता जतिसुकै देश बनाउने हुटहुटी बोकेका भएपनि ती दलाल जस्ता देखिए , केही भावनाका खेती गरेर चर्चित हुने र चर्चाकै आधारमा चुनाव जित्ने , जितेर पनि फगत चर्चामै रहनेगरी लेख्ने र बोल्ने भएसी उनको समर्थन डर लाग्दो हुने यो खतरा अति भो । यस्ले नेपाली समाजलाई उत्तेजनामा ल्याइदिएको छ । बाहिरबाट खेल्ने सकुनी र दूर्योधनहरू मस्त छन् । किनकी उनीहरू गाई परेपनि जित्ने र त्रिशुल परेपनि जित्ने दाउमा छन् ।
देउवा - आर्जु हैकमलाई च्यालेन्जगर्ने गगनहरू हुन् ! स्वर्णिमहरू होइनन् । गगनहरू कस्का लागि आन्तरिक लडाइँ लडिरहेका थिए ...? त्यो कुरो स्वर्णिमहरूले बुझ्न नसक्नु हाम्रो दुर्भाग्य हो । पार्टीले डाक्टर त्रय मिनेन्द्र , गोविन्द र स्वर्णीमलाई टिकट नदिँदा मैले सार्वजनिक रूपमा नेतृत्वलाई प्रश्नगर्दै भनेको थिएँ ; " सभापतिज्यू यो नोक्सानको भरपाई कसरी हुन्छ...? "
त्यो प्रश्न मैले मात्रै होइन देशभरबाट नेपाली काँग्रेसका तमाम कार्यकर्ताले बुढानीलकण्ठ निवासलाई गरिरहेका थिए । यो प्रश्न स्वर्णिमका लागि गरिएको हो भन्ने कुरो उनले किन यति छिटै भुले यस्को जवाफ हामीले नमाग्ने ...? एमालेका घनश्याम र भीम रावलहरू टिकट नपाएर बस्दा 'बा ' का कति सन्ततिले प्रश्न गरे एकपटक सोचौँ । तर भाउजू र दाइले नदिँदा कति मौन बसे त्यो पनि समिक्षा गरौँ ।
आदरणीय स्वर्णिम वाग्लेसँग मेरो अन्तिम संवाद अस्ति उहाँले पार्टी छोड्ने निर्णय गरेपछि पनि भएको छ । त्यसको प्रमाण मैले यहाँ राखिन तर मैले मेरो सानो मुखले ठूलो बात गर्दै यति चैँ भनेँ ;
"तपाईं मुल धारमा आउनुस् देशलाई फाइदा नै हुन्छ तर काँग्रेस बिनाको स्वर्णीम र स्वर्णीमले खोजेको बलियो लोकतान्त्रिक समाजवादी पार्टी अर्को एकछिन बन्न समय लाग्छ । पात्र फेर्न सकिएन नत्र काँग्रेस जस्तो mature democratic party नेपालमा अर्को छैन भन्ने कुरो त मैले बुझाउन पर्दैन हजुरलाई । "
- यसपछि उहाँको जवाफ छैन ।
अन्तिममा : स्वर्णिमहरूले परिवर्तनका लागि डटी लड्ने योद्धा गगनहरूलाई बीचमा अलपत्र पारेर जाँदा पार्टीभित्र दाइ - भाउजूलाई नोक्सान कति भो ... ? जस्ले स्वर्णीमका लागि आफ्नो निर्वाचन क्षेत्र समेत छोड्ने सोच बनाएको थियो उसैले आज मैदानमा गएर स्वर्णिमलाई आलोचना गर्दा भीडले गगनलाई गाली गर्छ । हे भीड तिमीलेपनि सुन गगनको लगानी छ स्वर्णिमप्रति , आफैले मायाले रोकेर राखेको , आफैले जतनले साचेको एकजना साथी गएर गगन घायल भएको होइन । गगनले देखेको "समुन्नत नेपाल र सम्मानित नेपाली " सपनाको एक सहयात्रीले यात्राबाट केही किलोमिटर हिँडेर बाटो नै फेर्दा गगनले प्रश्न गरेको हो । गगनले देउवालाई जस्तो प्रश्न होइन , स्वर्णीम जस्तो प्रश्न स्वर्णीमलाई नै गरेको हो ।
नेपाली उखान छ ! " गौँडो कुरेर बसे हात्तीलाई ढाप पार्न पाइन्छ । " त्यो कुर्न नसक्ने स्वर्णिमलाई शुभकामना बाहेक केही भन्न सकिएन । बाटो बदलेर मात्रै मिसनमा छिटो पुगिन्न । बाटो लामो छ तर सही छ भने त्यही बाटो हिँड्ने हो । वास्तवमा बीपीमा जस्तो हुटहुटी रबीमा होइन डा .साब तपाईंमा छ ।
जबसम्म आलोचनाको डरले अल्पमतमा परिन्छ कि भनेर भीडलाई प्रश्न गर्ने हिम्मत कसैले गर्दैन तबसम्म थिती झन् बस्दैन । सडकमा यो स्पीडलाई रोक्न रातो बत्ती बाल्नैपर्ने थियो । कोही न कोही ट्राफिक लाइट बन्नै पर्ने थियो । त्यो हिम्मत चितवनमा विश्वले र तहनुँमा गगनले गरिदिए । नेपालको राजनीतिमा यो घटनाले चुनावी परिणाम पछि अर्को सन्देश दिनेछ ।
तर यति भनेर एउटा लाइन थपिन भने म अपूर्ण हुन्छु । मेरो पार्टीको नेता शेर ब देउवा र भाउजू आर्जुले पनि यति चैँ बुझ्नुपर्छ कि गगन - विश्वहरूलाई स्वर्णिम विरुद्ध परिचालित गराएर तपाईंहरू सत्ताको तर मारेर बस्नेदिन सधैँ रहन्न । कम्तीमा कम क्षमता भएको सालो र भतिज , आफ्ना पिए र ठेकेदारलाई एकछिन पर्ख भन्दिए मात्रै पनि बसमा भएका खाली सीटमा स्वर्णिम र अन्य स्वर्णीमहरू सहयात्री हुनसक्थे जस्ले तपाईं हाम्रो यात्रा अझै सफल चैँ हुनसक्थ्यो ।
- जय नेपाल !!!
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)