-डा. शम्भु खनाल
जीवनमा घटनाक्रमलाई पर्दामा एक पछि अर्को गरी ओल्टाइपल्टाइ हेर्दै गर्दा सम्पूर्ण अहम् मेटिएर जान्छ । दुस्ख आफैलाई नपर्दासम्म महसुश गर्ने निष्फल प्रयास मात्रै हुने रहेछ ।
कुनै दिन आँफैलाई पर्दा भने भीरबाट खसे जस्तै हुन्छ । स्वस्थ रहँदासम्म जीवनमा आकांक्षा धेरै हुन्छन् । दुनियाँ कुरा जीवनको प्राथमिकतामा परेका हुन्छन् । धन सम्पत्ति ऐश आदिको आर्जनमा जीवन पुरै ब्यतित हुन्छ । आफ्नो शरीरका अङ्गहरु कत्तिको कष्टमा छन् भनेर हेर्ने फुर्सद निकालिँदैन। फुर्सद त केवल अस्वस्थ हुँदा हुन्छ । नमीठो फुर्सद हुन्छ । रोगको प्रकृतिअनुसार मनग्गै फुर्सद पाइन्छ अस्पताल सैयामा । बाध्यताले सिर्जना गरेको फुर्सद हो त्यो । तर त्यो समयमा बेडमा आफ्नो फुर्सद हुँदा बाँकी जगतको फुर्सद हुँदैन । एक जना अस्वस्थ हुनाले परिवार र इष्ट्मित्रलाई समेत फुर्सद निकाल्न पर्ने हुन्छ । स्वास्थ्यलाई ध्यान दिने फुर्सद नहुँदा अस्वस्थ भएर फुर्सद पाउँदा पछुतो हुन्छ ।
सायद यिनै विचारका तरङ्गहरु केही महिनापूर्व अपर्झट एक हर मुडोजस्तो हुन पुगेका हर्कबहादुरको मनबाट उब्जिएका विचार होलान् । त्यसैले त अचेल उनी आफ्नो नियमित चेकजाँच गराउन ओ पि डि मा देखा परिरहन्छन् । प्रेसरको औषधी नियमित सेवन गर्छन् । र चुरोट पनि परित्याग गरेका छन् । रक्सीको नाम सुन्न पनि रुचाउँदैनन् । करीब दुई महिनापूर्व एमर्जेन्सीमा हुँदा साँझको समयमा अन्दाजी ४५ बर्षको खाइलाग्दो शरीर देखिने एक पुरुष ब्यक्तिलाई आफन्तजनले एक्कासी एमर्जेन्सीमा आत्तिँदै लिएर आउँछन् । ती व्यक्तिको मुख बांगिएको रहेछ । दाहिने हर नचल्ने भएछ । बोली लर्बरिँदै गएछ । आँखाले बाँया तर्फ मात्रै हेरेको देखिन्छ । बोलेको नबुझिने, एकतर्फी हातखुट्टा नचल्ने देखेर पक्षघात भएको अनुमान लगाउन कत्ति बेर लागेन । सबैले बुझ्ने भाषामा भन्नुपर्दा Paralysis प्रेसरले हानेको ।
करीब एक घण्टा अगाडि एक्कासी त्यस्तो लक्षण देखिएर अस्पताल कुदाएका रहेछन् । प्रेसरको औषधी सेवन नगर्ने मुढे अठोट लिएका अर्धज्ञानी मान्छे रहेछन् उनी १ करेला र तिता कुरा खाएर प्रेसर control गर्छु भन्ने भ्रममा कटिबद्ध भएका रहेछन् । समयको लीला न हो । लक्षण नभएसम्म प्रेसरको औषधी नखाने जिद्दी गरेकोमा एक्कासी उनलाई बज्रपात् भयो । उनलाई एकाएक पक्षघात भयो । टाउकोको सि टि स्क्यान तुरन्तै गर्न लगाएर हेर्दा रगत जमेको देखिएन । मस्तिष्कलाई रगत पुर्याउने नशामा ब्लक भएको पुष्टि हुन्छ । अर्थात् अहिलेको उपलब्ध स्तरीय उपचार पद्धति अनुसार लक्षण सुरु भएको ४। ५ घण्टा भित्रमा औषधी दिन सकेमा पक्षघात फर्किन सक्ने सम्भावना निकै बढी हुन्छ ।
जीवनभर कुनै हर नचलेर, बोली नफर्केर अरुको साहारा लिएर जिउनुपर्ने बाध्यता बाट जोगाउन सकिने एउटा प्रभावकारी उपचारबाट कोही पनि बन्चित हुनुहुँदैन । तर विडम्बनाको कुरा के हो भन्दा यसको बारेमा धेरैलाई ज्ञान नै छैन । घर रुकुम थियो उनको । बुटवल कुनै अरु काम विशेषले आएर फर्किने योजना रहेछ त्यो दिन । तर काम पूरा हुन नसकेको हुनाले फर्किन नसकेका रहेछ्न् । भाग्यवादमा विश्वाश नगरेपनि काम फत्ते नहुनाले उनलाई बिपत्तीमा उपचार सहज हुन जुरेछ । तर बिडम्बना के भन्दा सो कार्य यहाँ कहिल्यै नभएकोले अस्पतालमा कार्यरत कसैलाई पनि जानकारी नभएको हुनाले समय घर्किने निस्चित भयो । थोरै समय भएकोले उपचार पद्धतिको सम्पूर्ण फाइदा बेफाइदाका कुराहरु बुझाएर औषधी प्रयोग गर्ने कुरामा सहमति लिन सकिन्थ्यो ।
तर समस्या धेरै कुराको रह्यो । पैसाको समस्या । औषधी उपलब्ध नहुने समस्या । यस क्षेत्रमा पहिले कहिल्यै नभएको कुरा । समयको पावन्दी थोरै ,पैसा लाग्ने धेरै । उपचारको सफलता उपलब्धिमुलक हुने सम्भावना बढी भएपनि केही पनि गर्न नसकिने अवस्था देखेर नरमाइलो लाग्यो । उपचार पद्धति जानेर के गर्नु रु संयन्त्र नै विकास नभएकोले छट्पटीमै ४-५ घन्टाको समयको पावन्दी सकिएको हेर्न बाध्य हुन पर्यो ।
चल्दै नचलेको हातखुट्टा चल्दा र नफुटेको बोली पुनस् फुट्न थाल्दा खुशी किन नहोस् त ! यस्तो हलचल नभएको अवस्थामा कति तनाव हुन्छ भन्ने कुरा भुक्तभोगीले मात्रै बुझ्न् सक्छन् । एकातर्फ दीर्घकालीन अपाङ्गताबाट जोगिन सकिने उपचार छ भने अर्को तर्फ समयको कडा पावन्दी र औषधीको चर्को मूल्य छ । मात्रै ४।५ घन्टाको समय । करिब १ लाख जति लाग्ने उपचार । विपतले खबरदारी गरेर आउँदैन । आउँदो हो त पूर्वतयारी गर्न मिल्थ्यो । रगतका गुच्छाहरु मात्तिएर ,उछिट्टिएर मस्तिष्कका रक्तनलीमा ब्लक गर्छ । मस्तिष्क रगत संचार विना केही सेकेन्डमा छट्पटिन र मर्न थाल्छ । जसको परिणाम स्वरुप प्यारालाइसिस हुने गर्छ ।
त्यही रगत सन्चारको बाटो ब्लक भएको नशा समयमै खोल्नका लागि त्यो औषधि प्रयोग गर्न सकिन्छ । तर एकैपटक १५ मिनेट भित्रमा सालाखाला १ लाख रुपैयाँ तिरेर उपचार गर्ने औषधी किनेर ल्याउनु भन्दा जो कोहीलाई धौ धौ हुन्छ । अचानक परिआएको प्यारालाइसिसको भुइँचालोमा औषधिको पैसा जोहो गर्ने पराकम्पनले सेकेन्ड सेकेन्डमा मनमा झड्का दिइरहन्छ । त्यसमाथि सहर बाहिरको यहाँ कोही चिनाजानी नभएको मान्छेलाई त हम्मेहम्मे हुन्छ । न बैंक खुलेका हुन्छन् । न त यड्डटिड्ड यम् भए पनि एकैपटक त्यति पैसा निकाल्न सकिन्छ।
नगदी पैसा पनि नहुन सक्छ । कस्तो तनाव हुन्छ होला । अनुमान लागाउन सकिन्छ त रु वजन अनुसार औषधीको मात्रा दिनुपर्ने हुँदा त्यो खाइलाग्दो शरीरलाई १ लाख भन्दा बढी नै लाग्ने निस्चित थियो । त्यो बेलामा त त्यो शरीर दुब्लो भएको भए धेरै जाती हुने थियो जस्तो पनि लाग्छ । यस्तै मन्थन गर्ने क्रममा ४-५ घण्टाको सुनौलो समय बित्दै जान्छ । त्यो समय बित्यो भने औषधी प्रयोग गर्ने वैज्ञानिक आधार नै रहँदैन । बिपत देख्दा नराम्रो कुराको आंकलन सजिलै गर्ने मान्छेको नैसर्गिक गुण हुने भएर होला ।
आफ्नो आँखा अगाडि भविष्यको बाङगो शरीर ,लुला हातखुट्टाहरु, लर्वरिएको बोली र परिवारजनको स्याहार सुसारको दृश्य नाचिरहन्छ । परिवारजनको सहयोग नभएर कुनामा पल्टिरहेको अर्धमुडो शरीर र पुठामा हुने गहिरा घाउहरुको कल्पना हुन्छ । तर यस्तो महत्वपूर्ण उपचारमा सरकारको कत्ति पनि ध्यान पुग्न सकेको छैन । हार्ट याट्याक९हृदयघात० हुँदा भने पैसा पछि तिर्ने उधारो वचनमा पनि मुटुमा जाली रखिने व्यबस्था छ । त्यसमा बिपन्न कोष आदिबाट सबैजनालाई सुबिधा दिने गरिन्छ । तर जीवनभर अपाङ्गताको जोखिम बोकेको पक्षघातमा भने कसैको ध्यान छैन । कस्तो नसुहाउँदो कुरा १ जसरी क्यान्सर ,किड्नी फेलर, अल्जाइमर आदिमा सरकारबाटै आर्थिक सहयोग गरेको देखिन्छ ।
त्यसरी नै अरु रोगको भन्दा कम खर्च लाग्ने र राम्रो सफलता देखिएको यो मस्तिष्कघातमा प्रयोग हुने औषधी सर्वसुलभ हुनु आपरिहार्य देखिन्छ । विलम्ब नगरी यस लुम्बिनी प्रदेशमा पनि जनचेतना फैलाउन निकै जरुरी देख्छु । सहज व्यवस्थापनका लागि हास्ताक्षरमा दम भएकाहरुको ध्यान जाओस् भन्ने सदिक्षा । केही त पुण्य काम गरौं न बोली भएकाहरुले । संसद भवन एक दिन यस्तो कुराले पनि जुरमुरियोस् न । कुनै एक दिन त यो कुराले पनि मिडियाजगतमा विशेष अग्रस्थान पाओस् न । म त केवल एक मुक दर्शक मात्रै न हो ।
फिजिसियन,बुटवल ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)