बुटवल,फागुन १ -
बुटवलमा केबलकार निर्माणको कार्य सुरु भएको छ। लुम्बिनी आउने पर्यटकहरुलाई पनि लक्षित गर्दै बुटवलबाट नुवाकोट र बसन्तपुर डाँडामा जानको लागि २ केबलकार निर्माण प्रक्रिया सुरु गरिएको हो।
बसन्तपुरको लागि ३ किलोमिटर लम्बाइको केबलकारको शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गर्ने कार्यक्रम छ।
केबलकारको सञ्चालनको लागि हालै बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी केबल कार प्रालीलाई ६.५ हेक्टर बन क्षेत्र उपयोग गर्न स्वीकृती दिइसकेको छ।
प्रालीले रुपन्देही बुटवल उपमहानगरपालिका ३ को चुरे सामुदायिक बन समेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ गाउँपालिका ३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर वन क्षेत्र २५ वर्ष सम्म प्रयोग गर्न पाएको छ।
त्यसै गरी नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट बन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ। केबलकारको लागि छपान र रुख कटानको काम भइरहेको प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए।
‘केही काम सुरु भइसकेको छ। फागुन १० गते भित्र सिलन्यास गरेर औपचारीक रुपमा काम अगाडि बढाउँछौं।’ उनले भने ‘अबको १८ महिना भित्र केबलकार सञ्चालनमा ल्याउने योजना छ।’
करिब २ किलोमिटर लामो केबलकारको लागि ७५ करोडको लागत अनुमान गरिएको गुरुङले बताए। सिद्धार्थ केबलकार प्रालीमा यस ५० जनाको लगानी रहेको छ।
एतिहासिक नुवाकोट र बसन्तपुरबाट टाढाटाढाका मनोरम दृष्य हेर्न सकिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटवलदेखि पाल्पा जोड्ने केबलकार शिलान्यास गरेका छन्। प्रधानमन्त्रीले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको दिउँसो १२ बजे बुटवलको बम्घाटमा शिलान्यास गरे ।
लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुन लागेको हो ।
नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ ।
कार्यक्रमलाई सम्बोधन गदैं प्रधानमन्त्री ओलीले एक वर्षभित्र केबलकार निर्माण हुने विश्वास व्यक्त गरे । केबलकार निर्माणका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
बुटवल केबलकारले धार्मिक, साँस्कृतिक, रोजगारीलगायतका क्षेत्रमा उल्लेख्य सफलता प्राप्त हुने प्रधानमन्त्रीको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)