Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शब्द, स्वर र दृष्टिको संगममा एक सर्जक: डिल्लीनारायण पाण्डे

शब्द, स्वर र दृष्टिको संगममा एक सर्जक: डिल्लीनारायण पाण्डे

  • 4.3K
    SHARES

  • शब्द, स्वर र दृष्टिको संगममा एक सर्जक: डिल्लीनारायण पाण्डे

    -रमेश अर्याल

    6bb24ce5-208b-48ee-9a0a-bab2080420c9.jpegस्याङ्जाको बिर्घाबाट उदाएर बुटवलको शैक्षिक, साहित्यिक र सञ्चार मञ्चमा सशक्त उपस्थिति जनाउँदै आउनु भएका व्यक्तित्व हुनुहुन्छ—डिल्लीनारायण पाण्डे।  जसले एउटै जीवनभित्र शिक्षा, साहित्य, पत्रकारिता र अध्यात्मको सन्तुलित समायोजन गर्नु भएको छ ।

    पछिल्लो समयमा विभिन्न पालिकाहरूको पालिका गान रचना गरी जीवन र जगतलाई जोड्ने कलाले उहाँले शब्दलाई केवल लेखनको औजार होइन, समुदाय र पहिचान निर्माणको साधन बनाउनु भएको छ। ती गानहरूमा स्थानीय इतिहास, संस्कृति, गौरव र भविष्यप्रतिको भरोसा झल्किन्छ—जसले पालिकाका जनतालाई आफ्नै भूमि र अस्तित्वप्रति गर्व गर्न सिकाउँछ।

    यस्ता बहुआयामिक व्यक्तित्व आफ्नो सदस्यको रूपमा रहनु संस्थाका लागि गौरवको विषय हो भन्ने विश्वाससहित नेपाल प्रेस युनियन रूपन्देहीले एक कार्यक्रमका बिच डिल्लीनारायण पाण्डेलाई सम्मान गरेको छ ।

    पत्रकारिता, शिक्षा, साहित्य र अध्यात्मको समन्वयात्मक योगदानबाट समाजमा सकारात्मक प्रभाव पार्दै आउनु भएका पाण्डेलाई संस्थाले ‘कला, सृजना र मूल्यमा समर्पित सञ्चारकर्मि’को रूपमा विशेष सम्मान गरेको नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालले बताउनु भएको छ । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपालका केन्द्रिय निवर्तमान अध्यक्ष बिपुल पोख्रेलले  उहाँको बहुआयामिक योगदानको चर्चा गर्दै जनताको चेतना अभिवृद्धि, सामाजिक सद्भाव  र एकता कायम गर्नमा उहाँले निर्वाह गरेको भूमिकालाई प्रेरणादायी र अनुकरणीय उदाहरणको रूपमा प्रस्तुत गर्नु भएको थियो । 

    को हुन डिल्ली नारायण पाण्डे ?6bb24ce5-208b-48ee-9a0a-bab2080420c9.jpeg

    २०३६ साल, श्रावण ९ गते स्याङ्जा जिल्लाको साविक विर्घा गाविस (हाल कालीगण्डकी गाउँपालिका–४) मा पिता यमनाथ पाण्डे र माता लोकमाया पाण्डेयको कोखबाट जन्मिनुभएका पाण्डेले ग्रामीण परिवेशमै जीवनको गहिरो मूल्य र संवेदनाको पाठ सिक्नुभयो। पारिवारिक जीवनमा जीवनसाथी कमला भट्टराई पाण्डे र छोराछोरीहरू श्रवण र शिवानी उहाँको प्रेरणाका आधार हुन्।

    शिक्षामा वैचारिक हस्तक्षेप

    शिक्षा क्षेत्रलाई नयाँ दृष्टिकोणले हेर्ने उहाँको शैलीले नै उहाँलाई फरक बनाएको छ।न्युलाईट कलेज, शंकरनगरमा क्याम्पस प्रमुखको भूमिकामा रहँदा उहाँले प्रशासनिक व्यवस्थापन मात्र नभई शिक्षामा जीवन मूल्य, सामाजिक चेतना र उद्देश्य बोक्ने अभ्यासको सुरुवात गर्नुभयो।
    त्यसको अर्को उदाहरण हो—नमस्ते एकेडेमी (हाल ब्रिटिश ग्रामर स्कुल)। शैक्षिक संस्थालाई स्थानीय आत्मसम्मान र गुणस्तरको सवालमा स्थापित गर्ने अभियान उहाँले नेतृत्व गर्नुभयो।

    सञ्चारमार्फत चेतनाको जागरण

    सञ्चार कर्मलाई, सामाजिक जिम्मेवारी ठान्ने पाण्डे स्याङ्जा पत्रकार समाज, नेपाल प्रेस युनियन र महासंघमा क्रियाशील रहँदै आउनु भएको छ।
    बुटवल एफ एमबाट प्रसारण हुने आध्यात्मिक प्रभात लगायतका रेडियो कार्यक्रमहरूमा प्रस्तुत हुने उहाँको आवाज, विचार र संयोजनले धार्मिक चेतना र जीवन दृष्टिकोण दुवैलाई स्पर्श गर्छ। यी कार्यक्रमहरूले उहाँलाई प्रचारक होइन, श्रोतासँग संवाद गर्न सक्ने सञ्चारकर्मीको पहिचान दिएका छन्।  महत्वपूर्ण पक्ष भनेको रेडियोमार्फत धार्मिक र आध्यात्मिक जागरण ल्याउनु हो ।  ती कार्यक्रमहरूमा प्रस्तुत हुने उहाँको स्वर अभिनय र विचार–वाचनले धार्मिक चेतना मात्र होइन, जीवनदर्शनको यात्रामा गहिरो प्रभाव पार्दछ।

    साहित्य र रचनामा स्थानीय पहिचानको संवाहक

    उहाँले लेखेका पालिका गानहरू रूपन्देहीका बुटवल उपमहानगर, गैंडहवा, शुद्धोदन गाउँपालिका र नवलपरासीको बर्दघाट नगरपालिकामा प्रयोगमा छन्। यी गीतहरूले पालिकाको भौगोलिक हैसियत मात्रै नभई संस्कार, गौरव र चेतनालाई समेत उजागर गर्छन्। लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीको अध्यक्षको भूमिकामा उहाँले मौलिक संस्कृतिको संरक्षणमा गरेका प्रयासहरू उल्लेखनीय छन्। आफ्नो कला र गलाको माध्यमबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा डिल्लीनारायण पाण्डेले पुर्‍याउनुभएको योगदान पनि उल्लेखनीय छ। गीत मार्फत जनताको पक्षमा आवाज उठाउने साहस उहाँले देखाउनुभयो, जब विचार र अभिव्यक्तिको स्वतन्त्रता दबिन खोजिँदै थियो।

    उहाँका दर्जनौ लोक गित, लोक भजन केवल मनोरञ्जनका साधन होइनन, ती आन्दोलनका दिनहरूमा प्रेरणा, उत्साह र प्रतिबद्धताको स्रोत बनेका छन । यता उहाँका गीतले जनताको भावना बोल्यो, असन्तोषको आवाज बन्यो र लोकतान्त्रिक मूल्यप्रतिको आस्था जगायो।

    यही कारणले उहाँको सृजनात्मक योगदानलाई केवल सांस्कृतिक होइन, राजनीतिक र ऐतिहासिक सन्दर्भमा पनि मूल्याङ्कन गर्नुपर्ने आवश्यकता देखिन्छ। 

    स्थानिय देखि राष्ट्रिय सम्मान a139fd67-e2a1-4c00-a970-01436e4f33f8.jpeg

    उहाँलाई राष्ट्रपतिद्वारा प्रदान गरिएको जनसेवा पदक – २०७८ ले उहाँको दीर्घकालीन सार्वजनिक योगदानलाई राष्ट्रिय मान्यता दिएको छ। त्यसैगरी, लोक साहित्य अभिनन्दन – २०७४, उत्कृष्ट लोक गायन पुरस्कार – २०७६, र हालै प्राप्त नुरगंगा गुठी लोक गायन पुरस्कार – २०८२ जस्ता सम्मानहरूले उहाँको सर्जनशीलता, साहित्यिक सांगीतिक योगदान र मौलिक अभिव्यक्तिको कदर गरेका छन्।

    यी सम्मानहरू केवल पदक वा प्रमाणपत्र होइनन्—यी उहाँको श्रम, साधना र समाजप्रतिको उत्तरदायित्वको औपचारिक कदर हुन्। यसै बिच नेपाल प्रेस युनियन रुपन्देहिले आफ्ना सम्मानित सदस्यलाई गरेको बिशिस्ट   सम्मानसँगै उहाँको भूमिकाले अझ गहिरो सांस्कृतिक सन्देश दिएको छ: कि सिर्जनाले समाज बोल्न सक्छ, शिक्षाले सोच बदल्न सक्छ, र कलाले परिवर्तन सम्भव बनाउँछ।

    न निष्कर्ष, न अतिरञ्जना !

    डिल्लीनारायण पाण्डे अब एक नाम मात्र रहेन—उहाँ विचार, स्वर, कर्म र सृजनाको सङ्ग्रह हुनुहुन्छ। उहाँ जस्ता पात्रहरू नै नेपाली समाजको आत्मा हुन्—जो शब्दमा सन्देश, स्वरमा अनुभूति र कर्ममा जीवनको सार बोकेर हिँडिरहेका हुन्छन्। 

    डिल्लीनारायण पाण्डे नेपाली समाजमा शब्द, स्वर र दृष्टिकोणमार्फत निरन्तर योगदान दिँदै आउनु भएका एक सादा तर गम्भीर सर्जक हुन्।

    उहाँका कार्यहरू प्रचारको भीडमा हराउने 'ब्रान्ड' होइनन्—समाजको मौनतालाई बोल्ने बनाउने ‘चिन्तन’ हुन्। आधुनिकताको चमकभित्र हराउँदै गइरहेका मूल्य, पहिचान र संवेदनशीलतालाई उहाँले आफ्ना सिर्जनाबाट पुनः जागृत गर्ने प्रयास गर्नु भएको छ।

    यस्ता व्यक्तिहरूको समाजमा उपस्थिति खबर होइन—खबरभन्दा अग्लो संवेदना हो। किनभने पत्रकारिता केवल सूचना दिने माध्यम होइन, समाजका गहिरा मनोवृत्तिहरूको दस्तावेज हो। र त्यो दस्तावेजमा डिल्लीनारायण पाण्डेले सिर्जना गरेको चेतनाको साँचो हस्ताक्षर अंकित छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, जेठ २९ २०८२११:३९:२७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology