Logo बिहिवार, आश्विन १ गते २०८३
images

आत्मा ,पशुपतिनाथ र सन्ध्या आरती

आत्मा ,पशुपतिनाथ र सन्ध्या आरती

  • 2.1K
    SHARES

  • आत्मा ,पशुपतिनाथ र सन्ध्या आरती

    -डा.शम्भु खनाल 

    जन्मेसँगै नछुट्टिने नातो लगाएको मृत्‍यु आज घुमिरहेको छ ६०८ न. क्याबिन वरपर । यमपास लिएर कुरिरहेका जस्तो लाग्छन् यमदुतहरु ।  द्वन्द चलिरहेको छ डाक्टर र यमदूतहरुको बीचमा  ।  जित्ने प्रयासमा दुबै  तत्पर देखिन्छन्  । दया नभएका दूतहरु कुनै कसर छोड्ने संकेत देखिँदैन  ।

    केही दिन देखि समस्या उत्पन्न भइरहेका छन्  खड्गको  शरीरमा ।  नाम मात्र खड्ग  हो उनको ।  व्यवहार भने शान्त र  क्रोधविहीन ।  अङ्रेजीमा भन्नुपर्दा ” क्युट “ ।  तर शरीरमा रोग भने खड्गस्वरुप ।  भैरवस्वरुप ।  उछिट्टो खन्ने ।  रक्त क्यान्सरको रोग छ उनलाई । 

    रक्तकोषिकाहरु विकृत भएको अवस्था ।  ती सबै कोषिकाहरु आफ्नो घर अर्थात् Bobe marrow को  संस्कार भुलेर स्वच्छ्न्द भएको अवस्था ।  धेरै स्वच्छन्द किन भएको होलान्  तिनीहरु  ?  ती रक्तकोषिकाहरुले आफ्नो  संंस्कार भुलेर निकै दु:ख दिन्छन् शरीरलाई ।  उमेर छँदै कति छिटो जवानी चढेको होला !

    मात्र ४४ बर्षको उमेरमा अराजक ति बदमास निर्लज्ज रक्तकोषिकाहरु विकृत भएका छन्  ।  तीन दाजुभाइ कोषिकाहरुमा( White blood cell, Red Blood Cell र Platelet)  सेतो रक्तकोषिकाले पुरै बदलामा आन्दोलन गरेको छ नबढ्ने ।  बाहिरबाट  जति चढाएपनि संख्या  ज्यूँका त्यूँ ।  मात्रै  १,००० ।  त्यसमाथि रगत दिन आउने भनेका  सबैजना असंवेदनशील  साथीहरु छन् । यात्रामा आउँदा आउँदै सोमरसमा लीन हुन्छन्  ।  आफूलाई नपर्दासम्म मर्त्यलोकमा  सबैजना अज्जरअंमर र आदर्शवादी  ! आफैलाई परेपछि सबै एकै रातमा आत्मज्ञानी !

    आत्मा दुबिधामा छ ।  शरीर छोडेर जाउँ कि शरीरमै अझै संघर्ष गरौँ भनेर ।  शरीर शिथिल हुँदै गएको छ ।  तागत छैन कत्ति पनि ।  संक्रमण पनि शरिरभरि फैलिएको छ ।  तिघ्रामा संक्रमण  भएर साह्रै सुन्निएको छ ।  नशा पनि कतै देखिन्नन् ।  कताबाट रगत कतिखेर बग्ने हो भन्ने कुनै ठेगान छैन ।  मस्तिष्कमा  रगत बग्ने प्रबल सम्भावना उत्तिकै छ । नगण्य संख्याका रक्तकोषिकाहरुले रक्तश्राव रोक्न धौ धौ छ ।  लाग्दैछ यमदुतहरु खालि हात फर्किँदैनन् यस पालि।  त्यसैले त खड्गको आत्मालाई १००० अंक फिटिक्कै मन पर्दैन ।  त्यसमाथि सेतो रगतको (platelets ) को चरम अभाव भएको समय छ ।

    १००० अंक १,००,००० भएको भए रमाउन हुन्थ्यो  होला ।  तर पनि हार खाने कुनै कुरा छैन ।  रगत चढाएर भए पनि जटिलता सामना गर्ने अठोट भने छ । ज्युँदा ज्युँदै मृत्‍युको आभासले जीवनको कटु सत्यको नजिक पुर्याउने रहेछ ।  त्यो अनुभुती केवल औंलामा दिनगिन्ती गर्नुपर्ने भाग्यले ठगिएकाहरुलाई मात्रै   थाहा हुन्छ । आशा मरेको पनि हैन ।  हरेस खाएको पनि हैन ।  बाँच्ने जीजिविषा  नभएको पनि हैन ।  तर पनि जीवनको अन्त्यतिरको उजाड मरुभूमीतिर डोरिँदा खड्गको मन आत्तिएको भने छ । 

    अन्त्यमा सबैको हार भयो ।  संलग्न सम्पूर्ण   हितैषिहरुको मन कुँडियो ।  प्रयास सबै असफल भयो ।  यमपासमा बाँधेर आत्मालाई डोर्याउँदै लगेको हुनुपर्छ यमदुतहरुले ।  त्यो निर्दोष  शरीरको बास छोड्न पटक्कै मन थिएन आत्मालाई ।  त्यो शरीरप्रति मोह जागेको थियो ।  किनभने आत्मा सधैं शुद्ध रहेको थियो त्यो चोलामा ।  

    तर यतिखेर त्यो आत्मा मुकदर्शक भएर हेरिरहेको छ आग्निको ज्वालाभित्र समाप्त हुँदै गरेको शरीर ।  केही क्षण अगाडिसम्म आफ्नो वासस्थान थियो त्यो ।  छोटो समयमा शरीर फेरिरहन आत्मालाई मन थिएन ।  एक पटक घटनाक्रम केलाएर बिश्लेषण गर्न खोज्दछ ।  आर्यघाटमा बागमती किनारमा आफ्नो बास रहेको शरीर अग्निको रापसँँगै खरानी भइरहेको छ ।  त्यो सँगै  उडेको धुवाँ बातावरणमा मडारिरहेको छ ।  देखाउन खोज्दै छ मनुष्य चोलाको क्षणभङुरता । धुवाँ र खरानी संगै सम्पुर्ण अहंंकाे अन्त्य ।
    "म" हुँ भन्ने अहंकार । "म" नबुझेको अज्ञानतामा व्यतित मानव चोलाको क्षणिकपन । सबै अन्त्य हुन्छ ।  नजिकै सन्ध्या आरतीको चाँजोपाँजो मिलाएको उर्जावान दृश्य  देख्न सकिन्छ । मानिसहरुको जमघट देखिन्छ । घुम्न आउनेहरु छन् । भेट्न आउनेहरु पनि छन् । पूजा गर्न आउनेरहरु  पनि छन् । संस्कृतलाई पुरातन भनेर हटाउने अग्रगामीहरु पनि  संस्कृत श्लोक सुनेर आनन्दित देखिन्छन् । अर्थ नबुझेपनी वातावरण प्रिय छ ।  शिव भगवानको स्तुती बेजोड छ ।

     सृष्टिकर्ता भन्दा संंहारकर्ताको बढी यश छ धर्मग्रन्थमा पनि ,आर्यघाटमा पनि । मृत्युसँँग भयको आकार पुष्टि हुन्छ । अस्पताल क्याबिनमा बिताएको समय सम्झिन्छ ।  ती अनगिन्ती तीखा सुइका घोचाइ ।  एक्लै चार भित्ताभित्र कुँजिएको अवस्था ।  शरीरले बोकेको जटिल प्राणघातक रोग ।  रगत क्यान्सरको रोग ।  रक्तकोषिकाहरुको  ताण्डब नृत्यनाटक  चलिरहेको थियो शरीरभित्र ।  एक किसिमले त शरीरले पीडाबाट मुक्ति पाएकोमा हर्ष हुने हो कि भनेर आत्मा विचार गर्छ ।   

    धेरै समय आत्मा पशुपतिनाथमा विचरण गर्न नसक्ने  हुन्छ । जति माया लागेपनि अग्निले शरीर खरानी बनाइसक्यो ।  नजिकै अरु अतृप्त आत्माहरु घुमिरहेका हुन्छन् ।  सबैका केही पूरा  हुन नसकेका इच्छाहरु ।  यस्तो प्रतित हुन्छ मनुष्य शरीर र मन केवल  इच्छाहरुको  रास मात्रै  हो ।  कोही बालक शरीर त्यागेर ,कोही  बुढो शरीर त्यागेर त कोही युवा शरीर त्यागेर घुमिरहेका छन् ।   कोही अकालमा त कोही समय नाघेर । आत्माहरुको ट्राफिकजाम देखिन्छ ।

    मर्त्यलोकमा आधा जिन्दगी ट्राफिकजाममै बित्यो । आकाशमा पनि उस्तै रहेछ ।  स्वर्गलोकतिर हानिँदै गर्दा खड्गको आत्माले एक पटक पुलुक्क  फर्किएर हेर्छ ।  र रिसले भन्छ ” त्यो १००० अंक मलाई सार्है अप्रिय छ । र मर्त्यलोकमा बनाइएको मान्छे बहकाउने सोमरस पनि अप्रिय  छ । रक्त दान नगर्ने ति मनुष्यहरु अप्रिय छन्  ।

    धनको बैंकभन्दा ब्लड् बैंक अझै अप्रिय छ ।  र अप्रिय छन्  रगत दिनभन्दा सम्पर्क हुन नखोज्ने ती हितैषिहरु । आफुलाइ नपर्दासम्म गफ हान्ने आदर्शवादी वचनप्रति घृणा छ । अन्त्यमा सबैभन्दा अप्रिय त पशुपतिनाथ छ .......  ।  “ 

    उही 
    मुक्त आत्मा र शरीर । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology