-नारायण पाण्डे
एक दिन यात्राको क्रममा बसले खाना खुवाउनको लागि रिडीमा रोक्यो। सबै यात्रुहरु खाना खान बसबाट ओर्लिइ सकेका थिए। म पनि बसबाट झरेर नजिकैको होटलमा पसें। सामान्य नास्ता खाने सोचले अल्ली भिडभाड कम भएको होटलमा दुईजना साथी भएर गयौँ।
यहाँ एक जना दिदीले करिब ४/५ वर्षको बच्चालाई खाना खुवाउदै हुनुहुन्थ्यो भने पसलवाला दाजु आफ्नै मोवाइलमा व्यस्त देखिनुहुन्थ्यो। बच्चाको हातमा मोवाइल, नजिकै करिब ९/१० वर्षकी उनको दिदी दुबैको ध्यान भनौं तन र मन दुवै मोवाइलमा, आमाको हातमा थाल, खाना, अनि चमच। नानीले मुख खेल्छिन्, आमाले मुखमा खाना राखिदिन्छन्, नानीले खान्छिन् ।
८/९ गास खाना खाइसकेपछि मेरो मनले मान्दैन र भनें "यसरी खाना खुवाउँदा नानीलाई के खाइरहेकी छु पत्ता नै छैन। उनको ध्यान मोवाइलमा छ, हजुरले खुर्सानी दिनुभयो भने पनि उनले चपाएपछि मात्र थाहा पाउनेछिन् । अनि रुन्छिन् ।" हास्दै उनले जवाफ फकाइन "के गर्नु मोवाइल नभइ खानै खादैन। "पछि हजुरले नै भन्नुहुन्छ नि सर, नानीले बढी मोवाइले हेरिन, हजुरले भनिदिनुपर्यो!" यति मेरो भनाइ सुनेपछि उनले नतमस्तक हुदै भनिन् "सर हजुर शिक्षक हो?" हास्दै "हजुर, हर्नुहोस बच्चाबच्चिले बिगारेक मोवाइल वनाउन सकिन्छ तर मोवाइलले विगारेको बालबालिकालाई बनाउन गार्हो हुन्छ" भनेपछि उनी अत्यन्तै भावविहोल हुदै भनिन् "सर यो ठूली नानी को लत पनि त्यस्तै छ ।
विद्यालयमा सर मिससँग पटक पटक कुरा राखें। खाली मोवाइलमा ध्यान छ। ५ कक्षामा पढ्छ । केही आउँदैन।" यो सुनेपछि आफैलाई पीडा हुनु स्वभाविक नै हो र अभिभावकको सानो हेलचक्राईले भविष्यका कर्णधारको जीवन वर्वादीतिर गइरहेको कुरा सत्य नै हो।
मोवाइल आफैमा कमजोरी होइन ।अहिले मोवाइल फोनले हाम्रो दैनिकी अत्यन्तै सरल र सहज बनाएको छ। हामी बिहान वज्ने आलारामसँगै उठेर, देश विदेशका ताजा समचार सुन्दै र विभिन्न मनोरन्जनात्मक क्रियाकलापहरु हेर्दै,भोलिका लागि आलाराम लगाएएर सुत्नु नै हाम्रो दैनिकी बन्दै आएको छ। यसले गर्दा हाम्रो दिनचार्य सरल र सहज हुदै आएको हुनाले यो विनाको जीवन अब कस्ष्टकर हुने देखिन्छ । पहिला यो भ्वाइस कलका लागि र SMS पठाउन र पाउन का लागि मात्र प्रयोग हुन्थ्यो भने अहिले यसलाई भ्वाइस कलिङ, भिडियो च्याटिङ, SMS, MMS, इमेल, फोटोग्राफी, आदिको लागि प्रयोग गरिन्छ। यसको विकासले हाम्रो जीवनलाई सजिलो र सहज अवस्य बनाएको छ।
हामीले प्रयोग गर्ने स्मार्ट फोन / मोवाइलले टाढा रहेका आफन्त, इष्टमित्र वा साथीसङ्गीसंग संम्पर्क गर्न सजिलो त हुन्छ नै तर यसबाट पर्ने नकरात्मक प्रभावको बारेमा पनि समिक्षा गर्न जरूरी देखिन्छ । नचिनेको नम्वरबाट फोन आउने, थर्काउने, झुक्काउने, अश्लिल भिडियो तथा फोटो खिचेर ब्लाक मेल (Black mail) गर्ने तथा सवारी साधन चलाएको समयममा दुर्घटना पर्ने मात्र नभई यसको अत्यधिक प्रयोगले वालवालिका तथा हामीमा निम्न समस्याहरु देखा पर्न सक्छन्।
१. मोवाइल फोन ४५ मिनेटभन्दा वढी चलाउनाले यसको रेडिएसनले मानसिक समस्या निम्त्याउन सक्छ। यसले सिक्ने क्षमतामा कमी आउनुका साथै निर्णय गर्ने क्षमतामा ह्रास ल्याउँछ।
२. यसको उज्यालोलाई लामो समय सम्म हेर्दा दिर्घकालिन रुपमा आँखाको ज्योती कम हुने वा गुम्ने हुनसक्छ।
३ लामो समयसम्म एउटै अवस्थामा रहेर हेर्दा गर्दन दुख्ने समस्या देखा पर्न सक्छ।
४. मोवाइल फोनको अत्याधिक प्रयोगले टोलाएर वस्ने, ध्यान केन्द्रित गर्न नसक्ने, झर्कने, छिटो रिसाउने, एक्लै वस्ने रुचाउने जस्ता मानसिक समस्या सम्बन्धि प्रवृती देखिन सक्छ ।
५. यसको कारणले मानिसमा मानसिक तथा दिर्घरोग जस्तै एन्जाइटी, डिप्रेसन, अटिजम, कम श्रवण शक्त जस्ता रोगको सिकार हुन सक्छन्।
मोबाइल फोन एक्काइसौं शताब्दीको बरदान मात्र नभई अभिशापको रूपमा पनि देखा परेको छ। यसको अभावमा तपाईं हामी अत्यन्तै पिडामा हुन्छौं र तड्पिरहेका हुन्छौँ । यसको लतबाट वालवालिकालाई बचाउन देहायका उपायहरु अपनाउन सकिन्छ।
१. बालवालिकालाई मोवाइल कम दिने र वाहिर खेल्न प्रेरित गर्ने बानी बसालौँ।
२. नानीवाबुलाई प्रकृतीप्रेमी बनाऔँ।
३. उनीहरुलाई रचनात्मक कामका लागि प्रेरित गरौं।
४ मोवाइल चलाउँदा हुने वेफाइदाको बारेमा उनीहरुसँगै छलफल गरौँ।
५. अन्य मनोरञ्जनात्मक साधनको प्रयोग गरौं।
६ घरमा रहंदा पनि मोवाइल भन्दा अन्य खेल तथा क्रियाकलापमा व्यस्त हाैँ।
७. वालवालिकासंग बसौं, उनीहरुका कुरा सुनौं ।
८.फुर्सदको समयमा उनीहरुसँग परम्परागत सीप, कला, प्रविधि र ज्ञान र इतिहासको बारेमा छलफल गरौँ।
९. बालवालिकाले पढ्ने/गृहकार्य गर्ने समयमा उनीहरुको अगाडी मोवाइल फोनको प्रयोग नगरौं ।
मोवाइल फोनको माध्यमबाट शिक्षा तथा सिकाईमा धेरै लाभ लिन सकिन्छ तर अभिभावकहरुका लागि वालवालिका फकाउने गतिलो माध्यम बनेको छ मोवाइल । आफू पनि मोवाइलमा ब्यस्त हुने र वालवालिकालाई पनि मोवाइल खेलाउन दिने धेरै अभिभावकहरु छन् जसले गर्दा विस्तारै वालवालिकाहरुमा मोवाइल चलाउने एक प्रकारको लत नै बस्न थालेको छ । धेरै मोवाइल चलाउँदा वालवालिकाहरुको शारिरीक तथा मानसिक विकासदेखि धेरै कुरामा असर पारिरहेको छ । मोवाइल बढी चलाउनाले बालबालिकाहरुमा विभिन्न नकरात्मक असरहरु देखिन थालेका छन् । मोवाइल प्रयोगका कारण बालबालिकाहरुको सृजनशिलता नास भइरहेको छ ।
सानो उमेरका बालबालिकामात्र होइन क्याम्पस स्तरमा अध्ययनरत विद्यार्थीहरुले पनि मोवाइलको प्रयोग अत्यधिक गरेको देखिन्छ । एक अध्ययनका अनुसार किशोरकिशोरी जसले आफ्नो मोबाइल फोनमा धेरै समय बिताउँछन् उनीहरू तनाव, चिन्ता र डिप्रेसनको शिकार हुन्छन्। कक्स कम्युनिकेसन्सले १३-१८ वर्षका बालबालिकामा गरेको अध्ययनका अनुसार १५% बालबालिकालाई अनलाइन साइबरबुलिङ गरिएको थियो, १०% सेल फोनद्वारा साइबरबुलिङ गरिएको थियो, र ५% ले सेल फोन मार्फत अर्को व्यक्तिलाई साइबरबुलिङ गरेको थियो। मोवाइल फोनको पछिल्लो विकासले किशोरकिशोरीहरूलाई कुनै पनि जानकारीको पहुँचमा पुग्न सजिलो बनाएको छ।
सामाजिक सञ्जाल र इन्टरनेटमा प्रक्षेपण गरिएका धेरैजसो कुराहरू सहि नहुन सक्छन्, तर किशोरकिशोरीहरू (उनीहरूको उमेरमा) उनीहरूलाई गम्भीर रूपमा लिन सक्छन् र प्रभावित हुन सक्छन्। यसले तिनीहरूलाई काल्पनिक संसारमा बाँच्न र झूटो प्रतिष्ठा विकास गर्न नेतृत्व गर्न सक्छ। यसकारण युवा पुस्तालाई मोबाइल फोन सुरक्षा र यसलाई जिम्मेवारीपूर्वक कसरी प्रयोग गर्ने भनेर सिक्न आवश्यक छ। युवा पुस्तामा मोवाइल फोनको प्रतिकूल प्रभावबाट टाढा रहन केही निम्न उपायहरू अपनाउन सकिन्छ :
मोवाइल फोनमा खर्च गरिएको समय र पैसाको स्वीकार्य रकम के हुनुपर्छ भन्ने बारे हेक्का राख्नुहोस् ।
ड्राइभिङ गर्दा मोवाइल फोन बन्द गर्नुहोस्।
नियमित सुत्ने तालिका कायम राख्न सुत्नुअघि मोवाइल फोन बन्द गर्नुहोस्।
मोवाइल फोनमा छोटो र मध्यम कुराकानीले केही हदसम्म खराब प्रभावहरू कम गर्न मद्दत गर्न सक्छ।
दैनिक फोन प्रयोग ट्र्याक गर्ने एपहरूको स्थापना गर्नुहोस्। यसले प्रयोगकर्तालाई प्रति दिन वास्तविक फोन प्रयोगको ट्र्याक राख्न सक्षम बनाउँछ।
बच्चाहरूले आमाबाबुबाट धेरै कुराहरू नक्कल गर्ने वा सिक्ने प्रवृत्ति भएकाले तपाईंले आफ्नो सेल फोनको प्रयोगलाई सीमित गरेर राम्रो उदाहरण बसाल्नुहोस्।
सुत्नुभन्दा कम्तिमा एक घन्टा अघि सेलफोनको प्रयोग नगर्नुहोस् ।
तपाईले खाना खाँदा वा पारिवारिक जमघटको समयमा आफ्नो मोवाइल फोन टाढा राख्नुहोस् ।
दैनिक केहि समय शारीरिक गतिविधिहरु जस्तै दौडने, खेल्ने, वा हिंड्ने मा खर्च गर्नुहोस्। त्यस्ता गतिविधिहरू गर्दा हामीहरूको फोन पछाडि छोड्न प्रोत्साहन मिल्छ।
मोवाइल फोन आजको आवस्यकता हो । आजको युग सूचना र प्रविधिको युग हो । हामी प्रविधिबाट टाढा रहेर जीवन विताउन सक्दैनौँ र अर्को कुरा हामी सूचनाको पहुँचबाट टाढा रहेर पनि कहिल्यै प्रगति गर्न सक्दैनौँ । त्यसैले अहिलेको युगको चुनौतीलाई सामना गरी युग सापेक्ष ढंगले वाँच्न हामीलाई प्रविधिको प्रयोग गर्न जरुरी छ । यसको महत्व र प्रयोग थाहा नपाई वा आवस्यक नपरी यसको प्रयोग गर्नु हुदैन । वास्तवमा मोवाइल फोनका धेरै फाइदाहरु छन् र यसले मानव जीवनलाई सहज र सरल बनाइदिएको छ । त्यसैले विकृतिहरुलाई हटाउँदै मोवाइल फोनलाई सहि रुपले उपयोग गर्नु आजको आवस्यकता हो ।
(लेखक श्री रुद्र गंगा इङलिस बोर्डिङ स्कुल सत्यवती-६, खैरेनी, गुल्मीका प्रिन्सिपल हुनुहुन्छ ।)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)