बुटवल,मंसिर २९-
सुदुरपश्चिम प्रदेशको कैलालीमा विरोध सभालाई नेपाली कांग्रेसका नेता गगन थापाले सम्बोधन गरेका छन्। थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् ।
धनगढीमा आयोजित सरकारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको राजनीतिक सक्रियताको आलोचना गरे ।नेकपा विवादमा सक्रिय भएर पछिल्लो समय राष्ट्रपति भण्डारी श्री ५ बडामहारानी बन्न खोजेको नेता थापाको आरोप छ ।
‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, उनले भने, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबस्योस् ।’
आफ्नो पार्टी कांग्रेसले राजालाई पनि फालेकाले राष्ट्रपति पनि फाल्नु कुनै ठूलो विषय नभएको उनको दाबी छ ।‘राजालाई त फाल्यो राष्ट्रपतिलाई पनि फाल्न सक्छौँ, उनले भने ।
सांसद थापाले ओली सरकारका पालामा भ्रष्टाचार बढेको बताए। भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए पुग्ने उनले बताए। ‘भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन, बालुवाटार गए पुग्छ। सिंहदरबार गए पुग्छ,’ उनले भने। उनले प्रधानमन्त्री ओली असफल भइसकेको दाबी गरेका छन्।
सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको भन्दै उनले आलोचना गरेका छन्। विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले ७ वटा प्रदेशमध्ये ६ वटामा प्रदेश सरकार, ४ सयभन्दा बढी स्थानीय सरकार भएपनि सर्वसत्तावादी सरकारले जनताको पक्षमा सिन्को पनि नभाँचेको बताए। उनले भने, ‘सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउनका लागि एउटा पनि काम गर्न सकेको छैन्, यस्तो नालायक सरकार मुर्दाबाद।’ नेता थापाले सरकारले कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउने गरेको बताए।
नेता थापाले भने,‘कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउँछ। यस्तो हावादारी सरकार मुर्दाबाद।’ थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताए । ‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँदा तर खाने मान्छे चाहिँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ’ उनले भने ।
विरोध प्रदर्शनका क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद जिन्दावाद, नेपाली कांग्रेस –जिन्दावाद जिन्दावाद, सर्वसत्तावादी ओली सरकार –मुर्दावाद लगायतका नारा कांग्रेसले लगाएको छ।
यसैगरि दुर्व्यवहार–अपमान र अत्याचार, बढ्यो महिला हिंसा र बलात्कार –अकर्मण्य भो ओली सरकार लगायतका नाराहरु समेत लागेका छन्।
यी खबरहरु पनि पढाै :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)