Logo मंगलवार, श्रावण १२ गते २०८३
images

साइत मिलेका बिरामी !

साइत मिलेका बिरामी !

  • 3.2K
    SHARES

  • साइत मिलेका बिरामी !

    -डा.शम्भु खनाल

    आजसम्म बिहान उठेर नित्य कर्मस्थलमा जान मन नलाग्ने दिनहरु धेरै भए ।  बिरक्त लाग्दा दिनहरु ।  मन भए पनि नभएपनि  जानु त छ नै ।  त्यही मानिसहरुको भिडमा ।  

    यो कुनै हाट बजारमा लाग्ने भिड भने हैन ।  मेला पनि हैन ।  यो सबै दुखी मनहरुको भिड हो ।  लुम्बिनी प्रदेशभरिका पीडित शरीर र मनहरुको केन्द्रबिन्दु ।  शरीर थला  परेपछि मात्रै पुगिने ठाउँ  ।  जीवनमा कहिल्यै जान नपरे भाग्यमानी भइने त्यस्तो ठाउँ ।  त्यो हो अस्पताल एमर्जेन्सी ।  सबैका निम्ति आफ्नै बिरामी एमर्जेन्सी ।  दुई चार दिनको सरकारी अस्पतालको  एमर्जेन्सी कक्षको बास प्राय् ९० प्रतिशत बिरामीका कथा होलान् ।  

    यो यस्तो ठाउँ हो जहाँ भर्ना हुन कुर्नुपर्ने हुँदा धेरैजना हार खाने ठाउँ ।  कति  यस्तै रहेछ भनेर पचाउने ठाउँ ।  कतिजना कहिले  रहेछ भर्ना  गर्ने भनेर अचम्मित पर्ने  ठाउँ ।  कति जना  एक दिन त पालो अाउला भन्दै आश गर्ने  ठाउँ ।  कति जना नवआगन्तुक दुर्गमका बिरामीलाई  ठूलो अस्पतालको भर्ना वार्ड नै यहि रहेछ भन्ने ठाउँ । कति  बाठाजनहरु गोरु बेचेको नातो लगाएर भन्सुनको प्रयास गर्ने ठाउँ ।  कतिजना सेतो कोट लगाएका सबैलाई झन्झट नै लाग्ने गरी भर्ना कहिले भन्दै सोध्ने ठाउँ ।  तर सबैजनाको एउटै उत्तर “ बेड खाली  भएपछि ” ।  त्यतिन्जेल सम्म एउटै बेड्मा तीनजना मिलेर बस्नुपर्ने बाध्यता ।  “ गार्हो भयो डाक्साप ।  तीनजना एकै ठाउँमा ।  भर्ना गर्दिनु न । "

     सधैंको नरम उत्तर “ " कस्सो चार जना हुनुभएनछ ।  आज प्रयास गर्छु ।  बचन भने दिन सक्दिन ।  उपचार चाँही यँहीबाट  सुरु भैसक्यो । “ सबैलाई एउटै उत्तर ।  कति रुखो उत्तर मान्दा हुन् मनमनै ।  

    “ यो कता बुझाउने ? “ “ खुन तान्यो पाइपले निकल्दिनु न सिस्टर” “ भिडियोको डाक्टर कता जानुभयो .”   “ यो रगत तान्दिनु न “ आदी अनगिन्ती प्रश्नहरुको  चपेटामा हरेक दिन ।  रिसेप्सनको कर्मचारीजस्तो सधैं भइन्छ ।  उत्तर दिनु आफ्नो एउटा बिरामीमा केन्द्रित ध्यान भंग हुन्छ ।  नदिनु कसरी नदिनु ।  सबैलाई नयाँ परिबेश न हो ।  अत्तालिएका मनहरुले सेतो कोटलाई त सोध्ने भए ! त्यसैले धेरै जसो सेतो कोट नलगाइ नै काम गर्न मन हुन्छ ।   

    एक हप्ता भइसकेछ ।  वार्डको खाली बेडहरुको संख्या औंलामा गन्न मिल्छ ।  मुस्किलले एउटा दुइटा  बेड ।  आज त अलिक धेरै खाली बेड आए दुई चार जना दुखी आत्माहरुलाई केही खुशी बनाउन सक्ने आश थियो ।  तर आज पनि उस्तै ।  दिनभरिको आज प्रयास गर्दिन्छु भन्ने कुरा पुन: फ्लप ।  मुख देखाउन लाज लागेर पुनः एमर्जेन्सी पस्न मन नलाग्ने ।   फेरि अर्को दिन उस्तै दिनचर्या ।  भर्ना नगरिदिने  मानवता हराएको डाक्टरको दिनचर्या !!  

    एकाबिहानै एउटा खुशीको खबर आयो ।  “ एउटा आइ सि यु बेड खाली भयो ।  भर्ना गर्दा हुन्छ ।  “   त्यो खुशीको खबर कसैको प्राणपखेरु उडेर र घरपरिवारमा आँसुले स्थान लिएर आएको थियो ।  के गर्नु? अचेल सबैको नजरमा मानवता हराएको डाक्टर जाती परियो ! !  कतैको दु:खले कतै मुस्कान छरिएला भन्ने आश ।  सोही समयमा एक जना बिरामी प्युठानबाट रेफर गरी अाइपुगेका थिए ।   आधा घण्टाभन्दा बढी भएको थिएन ।  सो बिरामीको प्रेसर कम भएको र इन्फेक्सन शरीरभरी  फैलिएको हुनाले अाइ सि युको  लागि उपयुक्त “ क्यान्डिडेट “ थिए ।  उनको भर्ना केही समयमा नै भयो ।  मुस्किलले पाइने अाइ सि यु खाली हुन पुग्नु र सोही समयमा अाइपुग्नु सन्जोग परेको थियो ।  उनको भर्नापस्चात ३ जना उस्तै उपयुक्त ”क्यान्डिडेट ” अाइपुगे ।

     मेरा मनमा भने “ बिचराहरुको साइत मिलेनछ । “ भनेर भाग्यवादले जन्म लियो ।  उनीहरुका लागि अर्को दिनसम्म पनि बेड मिलेन ।  समयमै  उपयुक्त उपचार गराउन बाहिर जाने उपाय भनिएपनि बेडको आशले हो कि खर्चको पवन्दिले हो  कोही पनि गएनन् । 

    सबैजना एमर्जेन्सिमा आफ्ना जीवनका कथा बुन्न थाले ।  पर्खाइ, अनिँदा रात ,दौडधुपको शारीरिक थकान तथा हतास मनका कथा ।  सानो छँदा हजुरबुवाले भन्नुहुन्थ्यो ” बाबु ।  साइत मिलाएर हिंड्नुपर्छ ।  घडी पला बार दिन आदि ।  चन्द्रमा दाहिने पार्न पर्छ ।  “   के गर्नु?  रोग पनि साइतमा लाग्नुपर्ने रहेछ ,हजुरबुवा ।  

    दु:ख परेर  आएका बिरामी ।  कसैले त हेर्दियोस् भन्ने चाहना र आवश्यकता पनि ।  तर खाली भने कोही पनि हुँदैनन् ।  सबै आ आफ्ना  काममा ब्यस्त ।  सबै बिरामीलाई आफ्नै बिरामी मात्रै  बिरामी ।  हुन त स्वाभाबिक पनि हो ।  मनुश्यको  मन अचेल अर्को मनुश्यलाई प्रयोग गरेर आफुलाई चाहिने कुरा प्राप्त गरेर खुशी हुने संस्कारमा हुर्केको छ। आध्यात्मिक चिन्तनमा दशकौंदेखि प्रहार हुँदै आएको हाम्रो देशमा सत्वगुणको सस्कार अलि विरलै पाइन्छ अचेल ।

      “ एक घण्टा भैसक्यो  ।  औषधी दिन आउनुभएन । रगत जाँच गर्ने भनेको रगत अहिलेसम्म नतान्दिने ।  “ आदि आत्मकेन्द्रित समस्याहरुको साङ्लो सबैजनाको हुन्छ ।  

    प्रथमिकताका आधारमा गर्नुपर्ने बाध्यता हुन्छ डाक्टर र सिस्टरको । त्यसमाथि   कोही बिरामी आफन्तीको पेलेरै कुरा गर्ने प्रवृत्ति  नौलो होइन ।  पिट्न सम्म पछि नपर्ने रवाफ हुन्छ ।  तर थोरै बिरामी र बिरामीको आफन्तजनमा केही दिन एमर्जेन्सीको बातावरणले आत्मज्ञान प्राप्त हुन्छ ।  “विचरा डाक्टर र नर्स दुबैलाई गार्हो रहेछ ।”  तेस्रो दिनमा स्वर नम्र हुन्छ उनीहरुको  ।  दया र करुणा पलाउँछ होला ।  सबै किसिमका रोगको बिरामीसँगको संगत हुने त्यस्तो  बैतरणीजस्तो ठाउँ । ।  सधैं जोखिममा रहेपनि न कुनै सुबिधा न कुनै सम्मान ।  तर अस्पतालमा प्रत्यक्ष दर्शन नगरेका र रवाफिला व्यक्तिहरुलाई सधै जस्तो लाग्ने ” मानवता  हराएका डाक्टर तथा नर्सहरु !! “  

    धेरैका आशा अनुरुप सेवा गर्न नसक्ने ।  भनेको बेला सलामी पानी नचडाइदिने .............   । आदि गुनासोको पोकोले वातावरण नै चिड्चिडाहटको वातावरण हुन्छ । शायद हाम्रो स्वास्थ्य प्रणाली  नै कतै चुकेको छ ।  ठूलाबडाले अवमुल्यन गरेको पेशा न हो हाम्रो ! ! 
    धनले माया गरेकाहरु सामान्य उपचारपस्चात बेड खोज्न प्राइभेट पनि जान तयार हुन्छन्  ।

    धनलाई माया गर्नुपर्नेहरुको  खल्तिमा बेरिएर बसेका नोटहरु एक पछि अर्को निस्किँदा हरेक पटक मुटु काँप्छ ।  नोट सकिन्छ तर जाँच सकिन्न ।  बिचरा धनको पोको हेरेर रोग लागेको भए पो ! अन्तिममा हार खाएका अनुहार एउटा जिवित आत्मा भगवान भरोशा फिर्ता गर्न वाध्य हुन्छन् । हरेक पलमा मानवताको जगेर्ना गर्ने क्षमता नभएका हामी डाक्टर र नर्स पनि एउटा दु:खदशा दर्शनबाट मुक्ति  पाउँछौ । धनलाई माया गर्नेहरु भने बेड खाली हुन्छ कि भन्ने आशले बसिरहन्छन् ।  बाहिर प्राइभेट अस्पतालका  अाइ सि यु नजाने अठोट गर्छन् ।  जीवनसँग जुवा खेल्छन् । साइत चाँही तिनै धनलाई माया गर्नुपर्नेहरु र धनलाई माया गर्नेहरुलाई चाहिने रहेछ ।  
    उही 
    भर्ना नगर्ने डाक्टर !!

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology