बुटवल,कार्तिक १५ -
पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजनाको सिभिल तर्फको काम १० प्रतिशत सकिएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका निर्माणाधिन आयोजनाको लागि ३५० करोड ऋण लगानीको सम्झौता भैसकेको छ ।
एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने भएका छन् । भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित यो आयोजनामा करिब हो ।
त्यसमध्ये यी ३ वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कम्पनीमार्फत निर्माण सम्पन्न गरिने सेतीनदी जलविद्युत आयोजनाको लागि एनएम बि.बैँक लि को अगुवाईमा एनएम बि बैँक लि.मार्फत रु २२० करोड, कर्मचारी सञ्चय कोषमार्फत रु ८० करोड र कृषि विकास बैंक लि.मार्फत रु. ५० करोड गरि जम्मा रु. ३५० करोड ऋण लगानी हुने सम्झौता भएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।
आयोजनाका लागि बैंकहरुको तर्फवाट कुल लागत रु.५०० करोड को ७० प्रतिशतले हुने रकम रु. ३५० करोड ऋण लगानी हुनेछ भने काठमाण्डौ, पोखरा, चितवन, तनहुँ, विशेष रुपमा बुटवलवासी र माछापुच्छ्रे गाँउपलिकाका स्थानीयहरु समेत शेयरधनी भई प्रबर्दकहरुको तर्फवाट ३० प्रतिशतले हुन आउने रु. १५० करोड रकम लगानी हुने सम्झौतामा उल्लेख गरिएको छ । आयोजनाले विद्युत उत्पादन पछि आइपिओ मार्फत स्थानिय र सर्वसाधारणको लागि शेयर जारी गर्ने उनले बताए ।
विगत ९ महिनादेखि निर्माणको काम भैरहेको आयोजना आगामी १८ देखि २० महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको भिजन लुम्बिनीका संचालक ज्ञानेन्द्र कसजुले बताए। उनले अहिलेसम्म सिभिलतर्फको १० प्रतिशत काम भएको बताए ।
नमूना जलविद्युत परियोजनाको रूपमा स्थापित हुने गरी समयमा नै सम्पन्न गरिने उनले प्रतिवद्वता जनाए । आयोजनाको सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले गर्दै आएको छ ।आयोजनाबाट उत्पादित विद्युत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सव–स्टेशनमा जोडिने अर्का संचालक बिनोद ज्ञवालीले बताए ।
पत्रकार सम्मेलनको संचालन अमृता अनमोलले गरेकी थिइन् ।
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाँउपलिकामा २५ मेघावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाकालागि सरकारी निकायहरु नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय तथा वातावरण मन्त्रालयवाट लिनुपर्ने अनुमती तथा ईजाजतपत्रहरु लिने कार्य सम्पन्न गरी आयोजनाको डिटेल प्रोजेक्ट रिपोर्टको काम हाइड्रो कन्सल्ट एण्ड वि डि ए जे भीले सम्पन्न गरिसकेको छ ।
कम्पनीले आयोजनाको लागि पहुचमार्ग निर्माणको काम र जग्गा खरिदको काम पनि सम्पन्न गरिसकेको छ भने सिभिल निर्माणको कार्य रसुवा लुना जे भी ले गरिरहेको छ ।
आगामी दुई बर्ष भित्रमा मुख्य निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको निर्माण कार्य लकडाउनका बेलामा पनि भइरहेको थियो ।
सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सव स्टेसन सम्म १३२ के.भि.एको ४ किलोमिटर ट्रान्मिसन लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ ।
आयोजनाको संस्थापक लगानीकर्ताहरु विभिन्न पेशा व्यावसायमा संलग्न व्यक्तीहरु रहेका छन भने स्थानीयहरुको उत्साहजनक सहभागीता र सहयोग पनि रहेको छ । यस आयोजना निर्माण भएपछि कास्की जिल्लाको समग्र विकासको लागी कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)