बुटवल,कार्तिक २-
सरकारले सबै अस्पताललाई कम्तिमा ५० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी, सामुदायिक, सरकारी अस्पताल र मेडिकल कलेजहरूले कम्तिमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउनुपर्ने बताएका हुन्।
यसअघि सरकारले निजी र सामुदायिक अस्पतालहरूलाई २० र मेडिकल कलेजलाई ३३ प्रतिशत बेड संक्रमितका लागि छुट्याउन भनेको थियो।
तर पछिल्लो समय संक्रमितहरूको उपचारका लागि बेड अभाव हुन थालेपछि सरकारले सबै किसिमका अस्पतालहरूलाई आइसियूसहित सबै बेडमध्ये कम्तिमा ५० प्रतिशत संक्रमितको उपचारका लागि छुट्याउन भनेको हो।
यसअघि सरकारले निर्देशन दिए पनि सबै अस्पतालहरूले तोकेको अनुसार बेड छुट्याएका थिएनन्।पछि मन्त्रालयले त्यसरी बेड नछुट्याउने अस्पताल र मेडिकल कलेजहरूको पिसिआर परीक्षण अनुमति खारेज गर्ने र नयाँलाई अनुमति दिँदा पनि अनिवार्य तोकेको बेड छुट्याउनुपर्ने बताएको थियो।

होम आइसोलेसनमा मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्दै यो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार कुनै व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ ।
तर शव व्यवस्थापनको काम भने मृतकका आफन्तहरुले नै गर्नुपर्नेछ । पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पुर्याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने संशोधित मापदण्डमा उल्लेख छ ।
यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।
यी समाचार पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)