Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : भ्यालेन्टाइन डे !

कविता : भ्यालेन्टाइन डे !

  • 3.3K
    SHARES

  • कविता : भ्यालेन्टाइन डे !

    -भानुभक्त आचार्य
    प्रियतम
    एउटा गुलाफको 
    पासो थापेर
    मनमती, रुपमती,
    सकेसम्म धनमती
    बैसालु युवती
    सिंगै लपेट्न खोज्दैछ । 
    अर्थात् ऊ,
    सय रुपैयाको बल्छीमा
    सर्लक्क हुर्किएको
    फक्रिएको, 
    उम्लिएको
    मदमत्त बैंसालु
    मत्स्यगन्धा
    फसाउन खोज्दैछ । 

    उकासेर, 
    फूक्र्याएर, 
    फकाएर, 
    पल्काएर
    गीत गाएर,
    सडमै रमिता देखाएर
    नसा काटेर
    रगतले चिट्ठी लेखेर
    इमेलमा, 
    जिमेलमा
    फेसबुकमा, 
    ट्विटरमा
    स्न्यापच्याटमा
    हाटमा, घाटमा
    एकोहोरो धाइरहेछ,
    निरन्तर पछ्याइरहन्छ, 
    फगत 
    फसाउँनका लागि । 

    भ्यालेन्टाइन डे त
    बहाना मात्रै हो, 
    आफ्नी स्वप्न सुन्दरीले 
    ‘ग्रिन सिग्नल’ नदिउन्जेल
    आँखाले इसारा नगरुन्जेल
    दोधारै दोधारमा भए’नि 
    “घरमा सोध्नु पर्छ”,
    “मलाई के था”,
    “आफैं कुरा बुझ्नु नि”
    नभनुन्जेल 
    अर्थात्
    सोझो अर्थमा नफसुन्जेल, 
    हरेक दिन उसभित्र 
    एउटा ज्यूँदो गुलाफ 
    फक्रिरहेछ ।  
    उसका लागि हरेक दिन
    भ्यालेन्टाइन डे । 

    बिहे गरेर, 
    सिंदूर पोतेले रंगिएर
    उसको घरमा भित्रिएपछि, 
    अर्थात् फँसेपछि, 
    ऊ गमक्क, गजक्क, ठसक्क । 
    अब प्रेयसीको पालो, 
    ऊ हरेक दिन,
    हरेक साँझ,
    हरेक बिहान,
    बिहेअघि उसले गरेका 
    हरेक चर्तिकला 
    दोहोर्याउछे, 
    नाच्छे, गाउँछे
    जिन्दगीभर ।
    डराउँदै सोच्छे,
    कतै ख्वामितले
    अर्को गुलाफ 
    अन्तै त दिएन ?

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology