बुटवल,माघ २८।
दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शवहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
उनीहरु घरमा सुतिरहेको बेला आज बिहान २ बजेतिर आगलागी सुरु भएको थियो । पाँचै जनाको धुवाँमा निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ ।
मृतकहरु ६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् ।
आगो कम भएपछि साढे ७ बजेतिर शव बाहिर निकालिएको थियो । घरको तेस्रो तलाबाट ३ र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । आगलागीमा एकजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।
विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको छ । आगो पूर्णरूपमा नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)