Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : वेश्या !

कविता : वेश्या !

  • 14.1K
    SHARES

  • कविता : वेश्या !

    -नवराज लम्साल

    ‘कस्ले भन्छ म राम्री छैन
    कस्ले भन्छ ममा रङ, यौवन र जवानी छैन
    भो छोड अनुहार, रुप र शरीरका कुरा
    अलिकति मासु, हड्डी र रगतको त्रिकोण हुँ म
    सजीवता फालेर एकछिन
    र बिर्सेर जीवनका सारा बोझहरू
    डुब चरम आनन्द र अन्तरमोक्षको रसातलमा
    आखिर पानी फोहोर भए पछि कुन टुकुचा, कुन वागमती र कुन गङ्गा ?

    पहिलेपहिले त म पनि लजाउँथे एकछिन
    नखरामा सतीत्व उकासेर चोखिन पनि खोज्थेँ
    शब्द गंगामा नुहाएर सावित्री हुन खोज्थेँ
    बिहेको पहिलो रात हल्का मदिरामा आएका श्रीमान् भन्थे –
    तँ चोखी छेस् भन्ने के प्रमाण ?
    त्यो सम्झन्छु र शुरु गर्छु आफ्नै भाउ र मोलतोल
    शरीर खोल्नुअघि मन थुन्नुपर्छ
    मेरो मन टेकेर ममा समाधिस्थ हुन चाहन्छौ भने भन
    तिमीसँग कति पैसा छ रु
    र कति पैसाको कुन गहिराइमा डुब्न चाहन्छौ यो रति–सागरमा ?

    चाँडो भन –
    मलाई हतार छ
    छ महिना अस्पतालमा थलिएर मरेकी
    मेरी सासूको तेह्र दिने शुद्धशान्ति छ भोलि
    छिट्टै अर्को क्रियाको निम्तो दिँदैछन् दमका रोगी ससुरा
    ठूली छोरी फर्की सकी होली स्कूलबाट
    किताब नलिई नआउनू भनकी छे
    सानी छोरीको घाँटी सुक्यो होला दूध पर्खेर
    छिटो गर महोदय
    छोरी, बुहारी, आमा, कसैकी स्वास्नी र नगरबधू
    सब थोक हुँ म
    वर्ष २८ गाउँ र ठाउँ नसोध,नाउँ फूलमाया
    तर तिमीले खोजेको जम्मै चीज र सीप छन् मसँग
    सम्झ म पसल हुँ –
    तिमी मसँग कुन कुन सामान किन्न चाहन्छौ ?

    मेरो आवश्यता ?
    त्यो तिम्रो सवाल हैन,
    ससुरालाई एक सिलिण्डर अक्सिजन,
    छोरीको स्कुल फि र किताब
    भोलिलाई शुद्धशान्तिको सिधा र पुरेतलाई दक्षिणा
    निम्तालु अफन्त र मलामीलाई खुवाउने भोजन
    र भोलि सासूको पिण्डपूजा गर्दा लगाउने एउटा चोखो फरिया ।

    पोई त ज्युँदै मर्या,
    उसैले बिहेको दिन दिएको तिलहरी चोरेर भागेदेखि फर्केको छैन
    कहाँ छ पत्तो छैन र आमाको क्रियै गर्न पनि आएन
    ऊ मरेकै भए पनि मलाई पीर छैन
    ऊ बाँचोस् मरोस् उसको जीवन उसको कुरा
    जीवित हुँदा जीवन नदेख्ने मान्छे के मान्छे
    आज मलाई एउटा रातो फरिया पनि किन्नु छ ।

    हो, म स्वस्थ छु,
    शँका नगरे हुन्छ –
    तिम्रो सुरक्षा पनि मेरो पेशाकै धर्म हो,
    यत्ति हो–
    किड्नीमा अलिकति समस्या छ
    नियमित औषधीमा छु
    आखिर एउटै किड्नीले पनि त बाँच्छ मान्छे
    महोदय
    तिमीलाई मेरो किड्नीको के अर्थ
    मेरो मुटुको के हिसाब
    म रोऊँ या हासूँ
    तिमीले खोजेको न त मेरो मुस्कान हो न त आँसुको मूल्य
    कामको कुरा गर महासय
    अग्नि टेकेर खाएको कसम त बअर्थ भो
    साक्षी बसेको जून निदायो
    मङ्गल पढेको खोलो सुक्यो
    वैलायो दूवो र छिटको गुन्युँमा पोखिएको पहिलो सिन्दुर उडायो हावाले
    तिम्रा प्रेमका दुई शब्द त निमेषभरका खहरे हुन् –
    एक भुल्का बग्यो, सकियो
    के तिमीले आफूलाई मसंगको पहिलो पुरुष सम्झेका छौ ?

    म मेरो शुद्धताको अर्थ बुझ्दिनँ
    शुद्ध छ मेरो रगत
    मलाई पैसा चाहिएको छ र तिमीलाई मेरो शरीर
    आवश्यकताको लेनदेन
    यो मेरो व्यवसाय हो तर जसरी पनि गरिने व्यापार हैन
    सचेत छु ग्राहकप्रतिको उत्तरदायित्वमा
    तिमी यो प्लाष्टिकले छेक आफूलाई
    म शरीर धोएर फर्कन्छु –
    सम्बन्धको छोटो करार हो तिम्रो र मेरो समय !’

    मलाई यो कथा सुनाएर उसले भन्यो –
    ‘कविजी
    म अब कहिल्यै बिहे गर्दिनँ,
    किन गर्नु बिहे, बिहेपछि झन् बिग्रन सक्छ विशाल यो जिन्दगी
    फूलमाया बहिनीले घर हेरेकी छे,
    दुई भान्जीहरू आँगनमा रमाइरहेछन्
    तिनको आँखामा देखेको छु
    सुनौलो भविष्यको नीलो आकाश
    बहिनीको आँखामा भर्खर देख्न थालेको छु – खुसीको मखमली
    आज बिहान एक्लै गुन्गुनाउँदै थिई मान्छेको गीत
    तर मलाई यत्ति चिन्ता छ –
    ठूली भएपछि यी भान्जीहरूले
    महिला अधिकार माग्ने नाममा मलाई गाली नगरून्
    पुरुषलाई गाली नगरून् ।

    mrsukhadukha@gmail.com

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology