बुटवल,असाेज ५-
चारदिनदेखि बुटवलबाट बेपत्ता सिनियर अहेब विष्णुप्रसाद नेपाल मृत अवस्थामा फेला परेका छन्। तिलोत्तमा नगरपालिका वडा नं १५ बिहुलीमा नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ।
स्थानीयले मृत पुरुषको शव फेला पारेपछि प्रहरी बोलाइएको र उक्त शव विष्णु नेपालकै भएको सनाखत भइसकेको प्रहरीले जनाएकाे छ। शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत थिए।उनले सोही ठाउँमा भावना मेडिकल हल समेत सञ्चालन गर्दै आएका थिए।
उनी बिहीबार राति सवा १२ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं. को मोटरसाइकलमा निस्केको यता उनी बेपत्ता थिए।
खोजतलासका क्रममा नेपालको मोटरसाइकल बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला परेको थियो। नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुनसक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर तिनदिन देखि खोजी गरेको भएपनि फेला परेका थिएनन्।
उनका एक श्रीमती र एक छोरा छन् । उनका दाजु छवि नेपालको आइतबार काठमाण्डौमा निधन भएको थियो।
याे पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)