बुटवल,असोज ५-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् ।
पौडेलले तोकिएकै मितिमा महाधिवेशन गर्न यस्तो प्रस्ताव अघि सारेका हुन् ।क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद सुरु नहुँदै प्रभावित भएपछि वरिष्ठ नेता पौडेलले सो प्रस्ताव केन्द्रीय समिति बैठकमा समेत लैजाने तयारी गरेका छन् ।
‘महाधिवेशन नहुने अवस्था सिर्जना हुँदै छ, म्याद सकिएपछि पार्टीमा को सभापति ? कसलाई मान्ने ? त्यो अवस्था आउन दिनुहुन्न । बरु १३औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर भए पनि महाधिवेशन समयमा नै गरौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले आइतबार एक भर्चुअल कार्यक्रममा भने ।
पौडेलले विधि र विधानलाई बचाउन पनि निर्धारित मितिमा नै महाधिवेशन गरिनुपर्नेमा जोड दिए । उनले सभापति शेरबहादुर देउवा कुनै हालतमा तोकिएको मितिमा महाधिवेशन नगर्ने पक्षमा उभिएको बताए ।
‘विधि र विधान बचाउन पनि निर्धारित मितिमा महाधिवेशन गरौं भन्ने मेरो चाहना हो तर सभापति नै निर्धारित मितिमा महाधिवेशन होस् भन्ने पक्षमा हुनुहुन्न,’ पौडेलले थपे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)