बुटवल,असार १-
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
सार्बजनिक गरिएको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
प्रस्तुत बजेटमा कोभिड नियन्त्रण, उपचार,कृषि र पूर्वाधारमा निर्माणलाई प्राथमिकतामा राखिएको छ।
प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका क्षेत्रमा राजधानीको गुरुयोजना, जग्गा प्राप्ति, ल्याण्ड पुलिङ, पूर्वाधार निर्माण लगायतका काम गर्न पनि बजेट विनियोजन गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । ‘निःशुल्क रक्तसञ्चार प्रदान, लुम्बिनी प्रदेशको पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै प्रदेशका सरकारी अस्पतालमा निःशुल्क रक्तसञ्चार सेवा प्रदान गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
५० शैयामा स्तरोन्नति भएका सबै अस्पतालमा विशेषज्ञ सेवा शुरु गर्न रकम विनियोजन गरिएको छ । प्रदेशको जनस्वास्थ्य प्रयोगशालालाई दोस्रो लेभलमा स्तरोन्नति गर्नका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
दाङको लमहीमा बनाउने भनिएको ट्रमा सेन्टरका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । दाङ प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति र लुम्बिनी आयुर्वेद अस्पताललाई १५ शैयाको आयुर्वेद अस्पतालको रुपमा विकास गर्न दुई करोड र नवलपरासी पश्चिम र रुकुम पूर्वमा आयुर्वेद अस्पताल सञ्चालन गर्न एक करोड रुपैयाँ छुट्याइएको छ ।
प्रदेश सरकारले अघि बढाएको एक घर एक धारा कार्यक्रमका लागि १ अर्ब ६७ करोड विनियोजन भएको छ । एक घर एक धाराका ५५० योजनामध्ये २०० योजना चालु आर्थिक वर्षभित्र पूरा हुने र बाकी निरन्तरताका लागि उक्त बजेट विनियोजन गरिएको हो ।
बजेटमा प्रदेशका १०९ वटै स्थानीय तहमा स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरताका लागि ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षामा सुधार एवं सामुदायिक विद्यालयको भौतिक सुधार गर्न तथा गणित र विज्ञानको नतिजा सुधार गर्न ४४ करोड ५८ लाख विनियोजन भएको बजेटमा प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालनका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यी पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)