Logo बिहिवार, आश्विन १ गते २०८३
images

कविता : सरकार,चिताको बन्दोबस्तमा छ  !

कविता : सरकार,चिताको बन्दोबस्तमा छ  !

  • 3.0K
    SHARES

  • कविता :  सरकार,चिताको बन्दोबस्तमा छ  !

    -तीर्थराज जोशी  

    कसले भन्छ यहाँ सरकार छैन भनेर ?
    सरकार हुनलाई के अस्पताल अस्पताल धाउनुपर्ने ?
    कि म यहाँ छु भनेर गीत गाउनुपर्ने ?
    सरकार खोइ ? भनेर अनावश्यक प्रश्न किन ?
    किन छैन सरकार ?

    सरकार त मञ्चमा व्यस्त हुन्छ 
    बालुवाटारमा मस्त हुन्छ
    बुझक्कड मानिएका युवाहरुको बोलीमा हुन्छ
    कार्यकर्ताहरुको झोलीमा हुन्छ 
    अनि 
    हा हा हि हि र हु हु गर्ने
    थपडीमारहरुको तालीमा हुन्छ
    किन छैन सरकार ?

    सरकार जनता खोज्दै 
    दैलो दैलोमा पुग्ने होइन
    सरकारले जनताको दैलो ढुक्ने होइन
    जनता सरकारको खोजीमा आउनु पर्छ 
    एकपटक मात्र होइन
    पटक पटक धाउनु पर्छ
    किन छैन सरकार ?

    चुनाबताका टोलटोलमा थियो सरकार
    समृद्धिको नारा लगाउँदाको बखत
    बिजुलीका पोलपोलमा थियो सरकार
    सरकार आएको थाहै नपाउनेहरु 
    आफू सुतिरहन्छन् 
    अनि 
    सरकार खोइ भनेर प्रश्न गर्छन् 
    किन छैन सरकार ?

    कोही अस्पतालमा रोइरहेछन्
    अक्सिजन खोजीरहेछन् 
    कोही सडकमा रुन्छन् 
    खाना खोजीरहेछन्
    कोही घरभित्र लुकिरहेछन्
    जाबो खाना र अक्सिजनको पछि लाग्छन् 
    सरकार भेट्न सक्दैनन्
    अनि भन्छन् सरकार खोइ ?
    किन छैन सरकार ?


    मान्छेहरु रोगले मरिरहेछन्
    कोही थला परिरहेछन्
    जाबो श्रद्धाञ्जली र स्वास्थ्यलाभमा भुलेकाहरु
    न सरकारलाई बधाई दिन्छन्
    न सरकारको दीर्घजीवनको कामना गर्छन्
    तर भनिरहन्छन् सरकार खोई ?
    किन छैन सरकार ?

    सरकार चिताको बन्दोबस्तमा छ 
    शववाहनको खोजीमा छ
    अस्पतालको बाहिर व्यस्त सरकारलाई
    अस्पतालभित्र खोजेर भन्छन्, सरकार खोई ?
    किन छैन सरकार ?

    सरकारलाई अस्पतालमा खोज्ने होइन
    सरकारलाई सडकमा खोज्ने होइन
    सरकार अहिले पत्रिकामा छ
    टेलिभिजनमा छ 
    यसको असली रुप त अझ 
    संविधानमा छ 
    सरकार खोज्न नजान्नेहरु
    सरकार खोज्न नसक्नेहरु
    भन्छन् सरकार खोइ ?
    किन छैन सरकार ?

    सरकार हेर्न दिव्य शक्ति चाहिन्छ
    सरकार देख्न कठोर भक्ति चाहिन्छ 
    न भक्ति न भजन
    बिना परिश्रम
    बिना लगाव
    सरकार हेर्न कहाँ पाइन्छ ?
    किन छैन सरकार ?

    काठमाडाैँ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology