-तीर्थराज जोशी
देख्दा यो देशको हाल जनमानस दिक्क छ ।
कार्यकर्ता अझै मख्ख जे गरे पनि ठिक्क छ ।।
जोकतन्त्र यहाँ देख्छु लोकतन्त्र कहाँ छ र ?
संविधान मिची आफै बन्न थाले धुरन्धर ।।
दम्भ,उन्मादको यात्रा अहङ्कार बढेपछि ।
सत्ताको मातमा नेता कुर्सीमाथि चढेपछि ।।
देशको दुर्दशा हुन्छ राष्ट्र बन्दछ जर्जर ।
भ्रष्ट नेता रहेसम्म देश बन्दैन सुन्दर ।।
जनता भोकले मर्ने भोकतन्त्र भने भयो ।
शोकमा जिन्दगी जिउँछन् शोकतन्त्र भने भयो ।।
सत्तामा छन् मनोरोगी रोगतन्त्र भने भयो ।
जे गरे पनि क्यै हुन्न ठोकतन्त्र भने भयो ।।
झोकमा योजना बन्छन् झोकतन्त्र भने भयो ।
जनताले भार बोक्दैछन् बोकतन्त्र भने भयो ।।
लोकतन्त्र भनी दङ्ग शब्दमा मात्र के छ र ?
व्यवस्था पो हुनु पर्छ सुनौलो अनि सुन्दर ।।
काठमाडौ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)
-
शनिवार, जेठ १ २०७८०२:३८:३४
-