बुटवल,कार्तिक २८ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या र चुनौतीबारे आफू जानकार रहेको बताउनुभएको छ ।
उहाले व्यवसायीका सुझाव तथा परिकल्पनालाई कार्यान्वयन गर्न उपमहानगरपालिका सकारात्मक रहेको बताउनुभयो। रूपन्देही मिष्ठान्न क्याटरिङ तथा तथा पार्टी प्यालेस व्यवसायी संघको २२औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनमा बोल्दै उहाले व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि बुटवल उपमहानगरपालिकाले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले व्यवसायीका संस्थागत हितका विषयमा उपमहानगरपालिका सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो।
उहाँले जग्गा प्राप्तिजस्ता विषयमा संघीय सरकारका कानुनी प्रावधानका कारण स्थानीय तहलाई समेत कठिनाइ हुने गरेको बताउनुभयो। वडा कार्यालय निर्माणका लागि समेत जग्गा प्राप्त गर्न कठिन भइरहेको उदाहरण दिँदै उहाँले जग्गा प्राप्तिसम्बन्धी झन्झटिला कानुनी प्रक्रियालाई सहज बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष तेविन्द्ररत्न शाक्यले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायको प्रतिष्ठा जोगाउन व्यवसायीहरूले गुणस्तर, सरसफाइ, कर प्रणाली र खाद्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “एउटा जिल्लामा कुनै व्यवसायीको कमजोरीका कारण हुने बदनामीले देशभरिका व्यवसायलाई असर पुर्याउन सक्छ। त्यसैले सबै जिल्लाका व्यवसायी तथा सम्बन्धित संस्थाहरूले आपसी समन्वय गरेर व्यवसायको गुणस्तर कायम गर्नुपर्छ।”
उहाँले भान्छाको व्यवस्थापनमा फ्रिजको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै खाद्य सामग्रीको सुरक्षित भण्डारण र स्वच्छतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
विशिष्ट अतिथि उपप्रमुख सावित्रादेवी अर्यालले गुणस्तर र शुद्धतामा ध्यान दिन आग्रह गर्नुभयो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले व्यवसायीहरूका दैनिक समस्या, व्यवसाय सञ्चालनमा देखिएका कठिनाइ तथा कानुनी झन्झटहरूको समाधानका लागि हामी निरन्तर पहल गर्ने बताउनुभयो।
उहालेस्थानीय सरकारसँग हातेमालो र सहकार्य गर्दै प्रदेश सरकार तथा संघीय सरकारसम्म आवश्यक पहल गर्नेछौँ। व्यवसायीका हकहितका विषयमा नीतिगत सुधार वा पैरवी गर्नुपर्ने अवस्था आएमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशसहित सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संघका पूर्व अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष लक्ष्मण पोखरेलले राज्यको नितिनियमलाई पालना गरि ब्यवसाय गर्दै आएको बताउनुभयो। सेवाग्राहीको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै सेवा दिएको उनले दाबी गर्नुभयो ।
९० प्रतिशत कृषिजन्य कच्चा पदार्थ उपयोग गर्ने ब्यवसायीहरुलाई भ्याटबिलको समस्या तथा महङो घरभाडा पनि चुनौतिका रुपमा देखिएको उहाँको भनाइ छ ।
बक्ताहरूले कोरोना संक्रमण, आर्थिक मन्दी, जेनजी आन्दोलन तथा भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिजस्ता घटनाले व्यवसायिक क्षेत्रमा चुनौती थपेको उल्लेख गरे ।
संघको २२औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनमा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटा र संचालन सचिव केशव कडेलले गर्नुभएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)