बुटवल,कार्तिक २७ ।
तिहारको अवसरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको सक्रियतामा बुटवलमा आयोजित देउसीभैलो कार्यक्रममा एसियन ब्यूटी जोनले ४४ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
शुक्रबार साँझ बुटवल राजमार्ग चौराहा कालिकानगरमा आयोजित देउसीभैलो कार्यक्रममा एसियन ब्यूटी जोनको राजमार्ग चौराहा शाखाले उक्त रकम सहयोगस्वरूप प्रदान गरेको हो। एसियन ब्यूटी जोनकी सञ्चालिका धनु गुरुङले समुदायको कार्यक्रममा ४४ हजार रुपैयाँ सहयोग गरिएको नागरिक अनलाइनलाई जानकारी दिनुभयो।
लामो समयदेखि बुटवलमा स्थापित सौन्दर्य तथा शृङ्गार सेवासम्बन्धी व्यवसायका रूपमा परिचित एसियन ब्यूटी जोनले मेकअप आर्ट, ब्राइडल मेकअपलगायत विभिन्न सौन्दर्य तथा शृङ्गारसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ। यसको केन्द्रीय कार्यालय बुटवलको अमरपथमा रहेको छ भने राजमार्ग चौराहामा नयाँ शाखा सञ्चालनको अन्तिम तयारी भइरहेको सञ्चालिका गुरुङले बताउनुभयो।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको सक्रिय आयोजनामा भएको देउसीभैलो कार्यक्रममा रुपन्देही जिल्लामा रहेका समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। उनीहरूले विभिन्न गीतमा नृत्य तथा सांगीतिक प्रस्तुति दिँदै आफ्नो कला, प्रतिभा र सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए।
बेलुका ६ बजेदेखि सुरु भएको देउसीभैलो कार्यक्रम राति १२ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा हजारौँ स्थानीयको उपस्थिति रहेको थियो। समुदायका सदस्यहरूले प्रस्तुत गरेका नृत्य तथा सांगीतिक कार्यक्रमले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।
कार्यक्रमले तिहारको सांस्कृतिक रौनकसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको कला, प्रतिभा र सामाजिक सहभागितालाई समेत उजागर गरेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)