काठमाडौं,साउन ९ ।
त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।त्रिभवुन विमानस्थल स्रोतका अनुसार उक्त जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । उक्त जहाज काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको जानकारी आएको छ ।
दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ । दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार जहाजमा रहेका १५ जनाको मृत्यु भएको हो। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो।
दुर्घटनास्थलबाट प्रहरीले चार जनाको उद्धार गरेको छ।
दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान २१ वर्ष ४ महिनाअघि निर्माण भएको पाइएको छ ।५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)