बुटवल ,भदौ २१।
पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये २८९ पुगेको छ। यीमध्ये काठमाडौंका तीन जना पुरुष छन्। देशभर २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
महिलाहरूमध्ये झापा र मोरङका हुन्। झापाकी ४५ वर्षीया र मोरङकी ६४ वर्षीया हुन्। यस्तै काठमाडौंका ७४, ८५ र ६८ वर्षीय पुरुषहरू छन्। यस्तै चितवनका ७० वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय र धनुषाका ३५ वर्षीय पुरुष समेत छन्।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २८ हजार ९४१ जना निको भएर घर फर्किएका छन्। यो कुल संक्रमितको ६३ प्रतिशत हाे ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४६ हजार २५७ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ५५ पुगेको छ।
हाल १७ हजार २७ जना संक्रिय संक्रमित छन् भने ९ हजार २०१ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहनेहरूको संख्या ७ हजार ८२६ छ।
१० हजार ३८२ जनाको पिसिआर परिक्षण भएको छ। हाल ४ हजार ७०३ जना क्वारेन्टाइनमा छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)