Logo बिहिवार, आश्विन १ गते २०८३
images

भाेलिदेखि तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लेजेण्ड्स कप हुँदै

भाेलिदेखि तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लेजेण्ड्स कप हुँदै

  • 1.1K
    SHARES

  • भाेलिदेखि तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लेजेण्ड्स कप हुँदै

    बुटवल,फागुन २६ । 

    रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा एक्स्ट्राटेक लिजेन्ड कप हुने भएको छ ।गैर-आवासीय नेपाली विनोद कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन्। उनले पहिलो चरणको संरचना फागुन २८ गते उद्घाटन गरी खेल सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन‍्।

    एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरुप उक्त प्रतियोगिताका लागि जर्सी प्रदान गरिएको छ । टी १० संरचनामा हुने एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिष्पर्धा गर्दैछन् ।

    नेपालले सन् ११९६मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडी लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिनेछन् ।tshirt.jpg

    यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन् । पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।

    नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन हो, रेस्ट अफ नेपाल । विनोद दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु रहेका छन् । हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरु रहेका छन् ।

    नेपाली महिला टोलीले २००७ मा मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेको थियो । सो टोलीका चार खेलाडीले यस तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४ नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्ने छिन् । त्यस्तै गायक प्रमोद खरेलले रेष्ट अफ नेपाल, बढी पंगेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट खेल्नेछन् ।

    तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यति एयरलायन्सले सहयोग गरेको छ । एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले ९ महिनामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट निर्माण गरी प्रतियोगिता गर्न लागिएको जानकारी दिए । उनले छोटो समयमा पनि खेलकुद मैदान बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरिएको बताए ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले संघकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।संघका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्लले रुपन्देहीमा अर्को क्रिकेट खेलमैदान थपिएको भन्दै खुसी व्यक्त गरे ।लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले केही महिनामै क्रिकेट खेलमैदान तयार भएको बताए ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रुपन्देहीलाई क्रिकेट हब बनाउन यो खेलमैदानले सहयोग गर्ने बताए । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले नेपालमा खेलकुदको दायरा फराकिलो छ भनेर बुझ्नुपर्ने बताए ।जर्सी पाटर्नर निभियाका राजन महर्जनले रुपन्देहीका धेरै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा योगदान पुर्याएको चर्चा गरे ।

    तिलोत्तमामा नौ महिनामै तयार भयो ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology