Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमामा नौ महिनामै तयार भयो ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’

तिलोत्तमामा नौ महिनामै तयार भयो ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’

  • 1.9K
    SHARES

  • तिलोत्तमामा नौ महिनामै तयार भयो ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’

    बुटवल,फागुन २६ ।

    रुपन्देहीमा निजी लगानीमा ९ महिनामै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको संरचना सकिएसँगै फागुन २८ गते उद्घाटन गरेर खेल पनि सञ्चालन गरिदैछ ।

    हाल अष्ट्रेलियामा बस्दै आउनुभएका गुल्मीका विनोद कुँवरले आफ्नी श्रीमती सदीक्षाको सहयोगमा तिलोत्तमा नगरपालिका–१७ मा ४० करोड रुपियाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रङ्गशाला निर्माण गर्नुभएको हो । रङ्गशाला खेल्न तयार भएपनि अझै केही भौतिक निर्माण भने बाँकी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले बताउनुभयो । गुल्मीका कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गरेको बताउनुभयो । 

    ‘‘मैदानमा प्याराफिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने छ, अहिलेसम्म मैदानका लागि ७ करोड खर्च भैसकेको छ, प्याराफिट बनाउने काम जारी छ,यसमा लागि करिब १८ करोड खर्च हुनेछ’’, उहाँले भन्नुभयो । अष्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने कुँवरले निजी स्रोतबाट बनाएको रङ्गशालालाई व्यावसायिक रूपमा अघि बढाएर नमुना योजना बनाउने बताउनुहुन्छ ।binod_sudiksha.jpg

    उहाँले अगाडि भन्नुभयो-‘‘पाँच फेजमा मास्टर प्लानको काम हुनेछ,एक फेस सय प्रतिशत नै पूरा भयो,अहिले ६ हजार जनाले बसेर गेम हेर्न मिल्ने भैसको छ । देशमा रंगशाला कम छन् । क्रिकेटको क्रेज बढ्दो छ, म मेरो योजनामा ढुक्क छु । पूर्वघोषित समयमै यसलाई पूर्ण सञ्चालनमा ल्याउँछु, यो मेरो संकल्प हो ।’’

    गएको जेठ ३० गते शिलान्यास गरिएको यस रंगशालामा २८ फागुनमा लिजेण्ड्स कप क्रिकेट आयोजना हुन लागेको निर्देशक कुँवरको भनाइ छ । मैदान उद्घाटनको दिन चार टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुनेछ । 

    प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबिच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गर्नुहुनेछ । सन् १९९६ को कप्तानी एलबी क्षेत्री, रेस्ट अफ नेपालको कप्तानी कलाम अली तथा रुपन्देही लेजेन्ड्सको कप्तानी हरिबहादुर थापादे गर्नुहुनेछ ।

    हाललाई प्रतियोगिता आयोजनाको लागि तयार पारिएको मैदानमा थप भौतिक पूर्वाधार थप्दै लाने योजना रहेको कुँवरले बताउनुभयो । यसै साता प्याराफिट तथा एकेडेमी भवनको शिलान्यास हुने समेत उहाँले जानकारी दिनुभयो ।

    नेपालका पूर्वक्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बेसडर हुनुहुन्छ । उहाँले यो क्रिकेट रंगशाला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने बताउनुभयो ।रंगशाला कम्पाउन्डमा एकेडेमीको चार तले भवन बन्नेछ, जसमा १०० जनालाई आवासीय प्रशिक्षण दिइने बताइएको छ ।

    यूएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा हुनुहुन्छ ।गौचनले भन्नुभयो–‘‘यो मैदानमा जुनसुकै अन्तर्राष्ट्रिय तहको खेल खेल्न मिल्छ, २५ हजार दर्शक क्षमताको रङ्गशाल हुन्छ ।’’

    रुपन्देहीमा धेरै राष्ट्रिय खेलाडी जन्मिएका छन् । शक्ति गौचन, राजु खड्का, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, देव खनाल, अमृत भट्टराइ ,ईन्दु वर्मा रुपन्देही जिल्लाकै उत्पादन हुन् । मैदान बनेर खेल सुुरु हुने खबरले खेल प्रेमीहरु निकै उत्साहित भएका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology