Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सुचिकृतका लागि अन्तिम मनोनयन पेश

तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सुचिकृतका लागि अन्तिम मनोनयन पेश

  • 1.4K
    SHARES

  • तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सुचिकृतका लागि अन्तिम मनोनयन पेश

    बुटवल,माघ १८ । 

    प्राचिन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ ।

    फ्रान्सका लागि नेपाली राजदुत एंव यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारीक रुपमा मनोनयन दस्तावेज पेश गरेका हुन ।

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै फ्रान्सको राजधानी पेरिस स्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेज पेश हुनु निकै खुशीको कुरा भएको बताएका छन ।

    ‘संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग सहित विज्ञका रुपमा दुर्हाम विश्व विद्यालयका प्रोफेसरहरुको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाउनु हाम्रो लागि मात्रै होईन सम्पदाप्रेमि सबैका लागि खुशीको कुरा हो ’ विज्ञप्तीमा भनिएको छ। तिलौराकोट सन् २०२५ सम्ममा विश्वसम्पदा सूचीमा सुचिकृत गर्ने तयारी सहित कोषका तर्फबाट आवश्यक प्रक्रिया शुरु भएकाले सबैको सकरात्मक साथ र सहयोग हुने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले विज्ञप्ती मार्फत भनेका छन ।

    यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो । तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरुबाट चाहिने आवश्यक सहयोग साधन, श्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि निर्देशक समिति समेत समेत गठन गरिएको थियो ।

    उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ ।  सरकारले २०७८÷७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो । विश्व सम्पदा समितिको ४५ औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम गरिएको थियो ।  

    अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारीक रुपमा पेश भएसँगै कपिलबस्तु तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ताका लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढेको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक राईले जानकारी दिए ।kapilvastu _tilaurakot.jpg

    सिद्धार्थ गौतमले २९ वर्ष विताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधारहरु अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुले रणनितिक दस्तावेजमा सामेल गरिसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ।  यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology