Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सूर्यको आराधना गरी छठ मनाइँदै, आज सार्वजनिक बिदा

सूर्यको आराधना गरी छठ मनाइँदै, आज सार्वजनिक बिदा

  • 2.7K
    SHARES

  • सूर्यको आराधना गरी छठ मनाइँदै, आज सार्वजनिक बिदा

    काठमाडौं,कार्तिक ३ ।

    सूर्योपासनाको महापर्व छठको मुख्य दिन आज जलाशय किनारमा व्रत, पूजा र कीर्तन गरी मनाइँदैछ।आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ। अस्ताचलगामी सूर्यको उपसाना गरिने पर्व यो मात्रै हो।

    छठमा ब्रत बसी ऊर्जाको अक्षय स्रोत सूर्यको उपासना गर्दा सुख-समृद्धि र मनोकामना पूर्ण हुने जनविश्वास छ। यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् शुक्रबारदेखि शुरु भएको थियो। 

    अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने ब्रतालुले कात्तिक शुक्ल चतुर्थी तिथिमा शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरवा अरुवाइन खाने गर्छन्।

    पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन्। त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा ब्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ। यस विधिलाई खरना भनिन्छ।

    सूर्यलाई अर्घ्य अर्पण गर्ने ब्रतालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन्। त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ। 

    षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरिन्छ। भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ।

    यस पर्वमा  सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ। यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ। खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु गर्ने गरिन्छ। 

    आरोग्य भास्करदिच्छेत मूल उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा कतिपय ब्रतालुले परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व शुरु गरेका हुन्छन्।

    पर्व मनाउने परिवारका कुनै व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही ब्रतालुले तिनीहरुको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने समेत सुविधा रहेको छ।

    छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology