बुटवल,कात्तिक १५ ।
रुपन्देहीका ईट्टा उद्योगीले बैंकको ब्याजदरलाई एकल अंकमा राखी कर्जाको सांवा र ब्याजको किस्ता बुझाउने अवधि थप गर्न माग गरेका छन् ।
उनीहरुले कर्जाको सांवा र ब्याजको किस्ता बुझाउने अवधि २०८२ साल असार मसान्तसम्म कायम गर्ने गरी ईट्टा उद्योगीहरुको निर्विकल्पीय माग कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाउँदै यस संकटपूर्ण अवस्थाको गम्भिर्यतालाई हृदयंगम गरी तत्कालको लागि चालू आर्थिक वर्ष ०८०।८१ मा ईट्टा उद्योगहरुलाई विशेष राहतका लागि तिर्नुपर्ने आयकरमा ६० प्रतिशत छुटको व्यवस्था आगामी बजेटमा गरिदिन समेत आग्रह गरेको छ ।
उद्योग परिसरमा नै ठूलो परिमाणमा ईट्टा स्टक रहँदा ईट्टा उद्योगी व्यवसायीहरुमा चरम वित्तीय संकट सिर्जना भएको र यस्तो अवस्थामा उद्योगीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तोकिएको भाखामा नै बुझाउन नसकेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका महासचिव दिपक पौडेलले बताए ।
२०७६ सालको कोभिड–१९ संक्रमणको समयदेखि नै ईट्टा उद्योग सञ्चालनको अवस्था दयनीय रहेको उनले बताए ।।ज्ञापनपत्र बुझ्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले नेपालका अधिकांश ठूला तथा साना सबै उद्योगहरु आर्थिक संकटमा रहेको बताए ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका कार्यवाहक अध्यक्ष सुनिल कुमार सिन्धी नेतृत्वको टोलीले बुधबार भैरहवास्थित जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)