बुटवल,भदाै १९।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समाजमा भ्रष्टाचार गर्नेहरूको रवाफ सकिएको बताएका छन्। माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीलाई जेल पठाएर दुर्गन्धित भएको नेपाली राजनीतिमा सफाई गरेको जिकिर गदै अध्यक्ष बरालले सबै दलभित्रका भ्रष्टहरूको निद्रा खलबलिएको बताए।
सोमबार पार्टीले सुरुवात गरेको विशेष रुपान्तरण अभियानको कार्यक्रमलाई देवदहमा सम्बोधन गर्दै बरालले भ्रष्टाचारलाई समाजले नै प्रश्रय दिएको बताए। 'सरकारको एक्सनले नेपाली राजनीतिमा शुद्धिकरण हुने देखिएको छ' उनले भने, 'अब समाज शुद्धिकरण गर्न जरुरी छ ।' पार्टीको विशेष रुपान्तरण अभियानले समाजलाई शुद्धिकरण गर्ने र त्यसको सुरुवात माओवादी नेता कार्यकर्ताबाट गर्नुपर्ने उल्लेख गर्दै नेता बरालले माओवादी नेता कार्यकर्ता पनि अरु जस्तै भ्रष्ट हुने हो भने उनीहरू समाज विकास र समाजवादी आन्दोलनका पहिला सत्रु ठहरिने र प्रहार त्यहींबाट सुरु हुने दावी गरे।
भ्रष्टाचार गरेर कमाएको पैसाले चन्दा दिने, सामाजिक काम गरे जस्तो देखाउने र निर्वाचनमा पैसा बाडेर चुनाब जितेपनि भ्रष्टाचारी ढिलोचाडो जेल जान्छन भन्नेमा अहिले नेपाली जनतामा विश्वास पलाएको धारणा राख्दै उनले ठूला भनिने पार्टीका ठुला नेताहरू नै अहिले जेलको सिढिमा रहेकोले केही माओवादी नेताहरूको समेत निद्रा खलबलिएको हुनसक्ने बताए।
सोहि कार्यक्रममा बोल्दै पार्टी जिल्ला संयोजक नारायण जिसी 'निर्मल'ले रुपान्तरण अभियान नेपाली राजनीतिको दोस्रो क्रान्ति हुने दावी गरे। विशेष रुपान्तरण अभियान माओवादी नेता सुध्रिने अभियान समेत भएको जिकिर गर्दै संयोजक जिसीले विगतका कमजोरी सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।
'विगतमा हामी कहीं न कहीं बिग्रिएका थियौं, जनताबाट कुनै न कुनै रूपमा हामी काटेका थियौं र हाम्रो जनमत कमजोर भएको हो भन्ने स्वीकार गरौँ' उनले भने, 'हामीमाथि प्रतिगामी र प्रतिक्रियावादीहरूले षड्यन्त्र गर्छन, हाम्रो बाटोमा उनीहरूले अनेक व्यवधान खडा गर्छन तर हामीले ती जालझेल र षडयन्त्रमा नफसी अगाडि बढ्ने हिम्मत गरेनौं भने हामी निरन्तर कमजोर हुँदै जान्छौं। अहिले भएको यहि हो।'
मार्क्सवादीहरूले आन्तरिक पक्षलाई प्रधान र बाह्य पक्षलाई गौण मान्ने हुनाले पनि माओवादीहरूले अरुलाई दोष लगायर नभई आफुलाई रुपान्तरण गरेर क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने उनको भनाई छ। कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ७ का नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)