बुटवल,भदौ १६ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेभित्र अझैपनि अवसरबादी र अन्तरघातीहरूको रहेको बताएका छन्। उनले गएको स्थानीय र संसद्को निर्वाचनमा एमालेभित्रैबाट अन्तरघात भएको बताउँदै अधिवेशनमा त्यसको हेक्का राख्न कार्यकर्तालाई आग्रह गरे ।
उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ संकेत गर्दै दक्षिणपन्थीहरू किनारा लगाएको भएपनि एमालेभित्रै अझै त्यस्ता शक्तिहरू रहेको बताए। ‘विष्णु पौडेल ४५ वर्षको राजनीतिमा गुटका विरुद्व जेहात छेडेको व्यक्ति हो, मेरो नाम जोडेर जेजस्तो चर्चा भएको छ, त्यो गलत छ, म भन्छु गुटबन्दी मुर्दावाद।’ उनले भने। उनले गुटबन्दी कायरहरूले मात्रै गर्ने बताए । उनले नेताको फेरो समात्नेहरू दास भएको समेत टिप्पणी गरे।
‘आन्तरिक जीवनमा भएका कमजोरीका विरुद्ध निर्मताका साथ सुधार गर्नुपर्छ, सुधार नभए, त्यस अन्तरघात गर्नेलाई किनारा लगाउनुपर्छ,’ शनिबारदेखि बुटवलमा सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले निर्वाचनमा जित्नुपर्ने ठाउँमा जित्न नसकिएको र कतिपय ठाउँमा झिनो मतान्तर भएको बताउँदै यसमा समीक्षा जरूरी रहेको बताए।
लुम्बिनी अधिवेशनमा निर्णय गर्ने प्रतिनिधिहरूमा सर्वोच्चता रहेको बताउँदै यो अधिवेशनलाई एकताको अधिवेशन हुने बताए। उनले नीति र विचारको हिसाबले विमति नरहेको बताए। ‘नेतृत्वको विषयमा विवाद छैन, जसरी विवाद छ भनेर कोसिस गरिएको छ, त्यो पानीको फोका जसरी फुट्छ,’ उनले भने।
‘पार्टी र गुट विपरीत विशेषता हो, तपाईं गुट बनाउनुहुन्छ भने पार्टी कमजोर बन्छ,’ उनले भने। पार्टीमा गुट हुर्कन नदिने गरी अगाडि बढने बताए।
महासचिव शंकर पोखरेल र आफ्नो विषयमा नेतृत्वलाई लिएर चर्चाका आएको समाचारतर्फ संकेत गदै उनले भने, ‘एमालेमा गुटका रूपमा गरिएको रंगिन समाचारमा नअलमलिनुहोला, त्यसलाइ खण्डित गरेर नेतृत्व चयन हुनेछ।’ उनले महासचिव शंकर पोखरेल र आफ्नो नाम जोडेर गुटबन्दी गरेको भन्दै आफूले गुटबन्दी गर्न आवश्यक नरहेको बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)