बुटवल,भदौ ८ ।
नेवाः समुदायको पर्वहरुमा एकरुपता ल्याउन नेवाः अगुवाहरुले आग्रह गरेका छन् । नेवाः अगुवाहरुको कमजोर अडानका कारण नेवाः समुदायमा विभाजन आउने गरि षडयन्त्र भएको उनीहरुको ठहर छ । विगत केहीवर्षबाट नेवाः पर्वहरुको विवादीत तिथिमिति राखेर पात्रो सार्वजनिक गर्ने र एउटै समुदाय भित्र फरक फरक मितिमा चाड पर्व मनाउनुपर्ने गरि भ्रम सृजना हुने गरेको उहाँहरुको गुनासो छ ।
नेवाः दयु दबु लुम्बिनी प्रदेश समितिले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेवाः समुदायको पर्वहरुमा एकरुपता ल्याउन नेवाः अगुवाहरुलाई आग्रह गरेको छ । नेवाः दय् दबु लुम्बिनीका वरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठले काठमाडोंमा बस्ने नेवाः अगुवाहरुले स्पष्ट अडान नलिदिएका कारण समुदायमा भ्रम सृजना हुने गरेको बताउनुभयो ।
उहाँले यसै वर्षपनि जनैपुर्णिमा र गाईजात्रा एकदिन पर्नेगरि सार्वजनिक गरिएको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले पञ्चाङ्ग समितिमा बहुमत नेवाः सदस्यहरुको प्रतिनिधित्व रहेर पनि नेवाः पर्वहरुलाई विवादमा पार्ने गरिएको टिप्पणी गर्नुभयो ।
उहाँले परम्परादेखि जनैपुर्णिमा अर्थात गुन्हीपुन्ही (क्वाँटी पुन्ही)को भोलिपल्ट मात्र गाईजात्रा (सापारु) मनाउने चलन हुँदा हुँदै एकैदिन पुर्णिमा र गाइजात्रा पर्व रहेको पात्रो सार्वजनिक भएका कारण समुदायमा भ्रम उत्पन्न भएको बताउनुभयो । अघिल्लो वर्ष म्ह पुजा, न्हु दयाः भिन्तुना र लक्ष्मी पुजा जुधेका कारण भ्रम उत्पन्न भएको बताउँदै यसवर्ष गाईजात्रालाई पुर्णिमाका दिन राखेर भ्रम सृजना गरिएको बताउनुभयो ।
प्रेस विज्ञप्ति जारी गर्दै नेवाः दय् दबुका प्रदेश सचिव तथा नेवाः सेवा समिति रुपन्देहीका अध्यक्ष चिरन्जिवी श्रेष्ठले सापारुलाई विवादस्पद बनाउने र समुदायमा विभाजन ल्याउन लगातार गरिएको प्रयत्न प्रति आपत्ति जनाउनुभयो ।
नेपाल सम्वत् अनुसार यो वर्ष भाद्र १३ गते अपरान्हबाट सुरु भएको पूर्णिमा तिथी १४ गते अपरान्हसम्म रहने भएकाले १४ गते गुन्ही पुन्ही, क्वाती पुन्ही (जनैपूर्णिमा) मनाउने र भदौ १५ गते सापारु जात्रा मनाउने निर्णय भएको उहाँको भनाइ छ ।
नेवाः समुदायको चन्द्रमाका आधारमा आफ्नै पात्रो र तिथि रहेको दाबी गर्दै उनले नेवाः पात्रो अनुसार निर्धारण गरिएको पर्व बैज्ञानिक रहेको स्मरण गराउनुभयो । आफ्नै सभ्यता, भाषा, लिपी र मान्यता बोकेको नेवाः समुदायमा भ्रम हुने गरि पन्चाङ्ग पात्रोलाई आधार मानेर एकै दिन मान्नुपर्ने पर्वलाई दुईदिन पार्ने, दुईदिन मान्नु पर्ने पर्वलाई एकै दिन पार्ने जस्ता कार्यहरु भइरहेकाले नेवाः दय् दबुले सम्पूर्ण समुदायलाई एकताबद्ध तरीकाले नेवाः पात्रोका आधारमा पर्व निर्धारण गर्न उहाँको आग्रह छ ।
यसवर्ष पनि बजारमा वितरण भएको पात्रोमा जनै पुर्णिमा र गाईजात्रा एकैदिन रहेको भ्रमपूर्ण सूचना संप्रेषण भएको जनाउँदै उहाँले परम्परादेखि पुर्णिमाको भोलिपल्ट मात्र गाईजात्रा (सापारु) मनाउने चलन अनुसार भाद्र १५ गते सापारु मनाउने दय् दबुले निर्णय गरेको जानकारी दिनुभयो ।
नेवाः दय् दबुले नेपाल भरी भाद्र १४ गते गुन्हीपुन्ही, क्वाटी पुन्ही (जनैपुर्णिमा) मनाउने र २०८० भदौ १५ गते सापारु जात्रा मनाउने निर्णय गरेको छ । नेपालीहरुको मौलिक सम्बत नेपाः सम्बतलाई राष्ट्रिय सम्बतकारुपमा मान्यता दिँदै नेवाः पात्रोका आधारमा नेवाः समुदायको पर्व निर्धारण तथा सार्वजनिक बिदाको ब्यवस्था गर्न समेत माग गरिएको छ ।
सेवा समितिका अध्यक्ष चिरञ्जिबी श्रेष्ठले गाईजात्राका दिन काठमाडौं उपत्यकामा मात्र होईन देशैभरका नेवाः समुदायलाई सार्वजनिक विदा दिन माग गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)