बुटवल,भदौ २ ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले छानविनको नाममा सत्ताको आयु लम्ब्याईरहेको आरोप लगाएका छ्न ।प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा परेको पत्रकार भेटघाटमा बर्तौलाले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना मागहरु राख्दा प्रतिपक्षले संसद अवरोध गर्यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको बताए । संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने भन्दै बर्तौलाले संसद खुलाउने जिम्मेवारी र दायित्व सरकारको हुने बताए ।
संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको बताए । उनले सुन तस्करी,ललिता निवास,भुटानी शरणार्थी,गौर हत्याकाण्ड लगायतका प्रकरणहरुमा प्रधानमन्त्रीले सत्ता साझेदार दलका नेताहरुलाई पालैपालो फाइल खोल्छु भनेर धम्काएर सत्ताको आयू लम्बाउने काम गरिरहेको आरोप लगाए ।
‘प्रधानमन्त्रीले फाइल खोल्छु भन्दै स्टन्ट गरेर शेरबहादुर देउवा,माधव नेपाल,उपेन्द्र यादव र बाबुराम भट्टराईसम्मलाई धम्काउंदै अघि बढेका छन्’–बर्तौलाले भने–‘सत्ताको आयू लम्बाउन पुर्वाग्रह सांधेर स्टन्ट गर्ने र धम्काउने हैन, सबै फाइल खोलेर निष्पक्ष छानवीन गर्न एमालेको चुनौति छ ।’
‘प्रतिपक्षी दलले उठाएका मागहरुमा सरकार जवाफदेही र जिम्मेवार हुनैपर्छ तर सरकार संविधानले नचिनेको गठबन्धनलाई अघि सारेर प्रतिपक्षका माग पूरा गर्न सकिन्न भनेर दादागिरी गरिरहेको छ’–बर्तौलाले भने–‘सरकारले संविधान, संसदीय मुल्यमान्यतामाथि लज्जास्पद आक्रमण गरिरहेको छ,यसै कारण संसद अवरोध हुन पुगेको हो तर प्रतिपक्षले संसद अवरोध गरेको भ्रम फैलाएको छ ।’
संसदमा प्रतिपक्षको विशेष अधिकार हुने तर प्रतिपक्षी दलका सांसदहरु बोल्दा सत्ता पक्षले दादागिरी गरेर संसदीय मुल्य मान्यताको धज्जी उडाएको बर्तौलाले आरोप लगाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)