Logo बिहिवार, आश्विन १ गते २०८३
images

निर्माणमा भएको ढिलाइ र लापरबाहीकै कारण बाढीले बगायो पुल

निर्माणमा भएको ढिलाइ र लापरबाहीकै कारण बाढीले बगायो पुल

  • 954
    SHARES

  • निर्माणमा भएको ढिलाइ र लापरबाहीकै कारण बाढीले बगायो  पुल

    बुटवल, साउन २० ।

    रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१०, पानबारीमा बन्दै गरेको कञ्चन पुलको आधा भाग बाढीले बगाएको छ। सैनामैना रिङरोड अन्तर्गत पर्ने उक्त पुल बनाउन थालेको दुई वर्ष पूरा भएको छ। तीन वर्षभित्रैमा निर्माण सम्पन्न हुने भनिएको पुलको आधा भाग हालै आएको बाढीले भत्काएको हो। 

    स्थानीयवासी पुल बाढीले भत्काएपछि अब यहाँ पुल नबन्ने हो कि भन्ने चिन्ता लागेको बताउँछन्। पुलको आधा भाग ढलाइ हुने क्रममा रहे पनि विगत लामो समयदेखि काम नहुँदा गत साता आएको बाढीले पुलको निर्माणाधीन आधा भाग नै भत्काएको स्थानीयको भनाइ छ।

    पानबारी टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद पाण्डेले निर्माण व्यवसायीको लापरबाहीका कारण पुल निर्माणको चरणमै पुल बाढीले बगाएको बताउनुभयो। उहाँले पुल निर्माणमा भएको ढिलाइ र लापरबाहीकै कारण बाढीले पुल बगाएको गुनासो गर्नुभयो। पानबारीको उक्त क्षेत्र वर्षौंदेखि पिछडिएको र कुनै पनि सरकारले उक्त क्षेत्रको विकासमा ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन्। 

    पुल निर्माणको पहिलो वर्ष छिटो छिटो काम भए पनि त्यसपछि भने पुल निर्माणको काम अलपत्र परेको पाण्डेको गुनासो छ। बाढीले ढलान गर्न लगाइएको टेका र बिछ्याइएको स्ल्याप सबै बगाएको स्थानीयले बताएका छन्। टोल विकास संस्थाका अध्यक्ष पाण्डेका अनुसार पहिलो बाढीले नै पुललाई धेरै क्षति गरेको र पूरै वर्षा बाँकी रहेकाले पुल बनिसकेको भागसमेत बगाउने हो कि भन्ने जोखिम रहेको बताउनुभयो। 

    सैनामैना नगरपालिका–१० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले पुल बाढीले भत्काएको बताउँदै सङ्घीय बजेट अन्तर्गत पुल बनेकाले आफूहरूलाई त्यस विषयमा थप जानकारी नभएको बताउनुभयो। 

    उक्त पुलको ठेक्का रमन ओम इन्फोटेक जेभी काठमाडौँले लिएको छ। पुल निर्माण कम्पनीका साइट मेनेजर टेकबहादुर भट्टराईले वर्षाको समय भएकाले उक्त पुलको भत्किएको बाँकी भागको पुनर्निर्माण र पुलको सबै निर्माणको काम दसैँपछि मात्रै सुरु हुने र अर्को वर्ष तयार हुने दाबी गर्नुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, श्रावण २० २०८००८:३०:४४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology