बुटवल,साउन १९ ।
आधुनिक विश्वमा ज्योतिष विद्याको महत्व र आकर्षण बढ्दै गएको सरोकारवालाले बताएका छन् । आधुनिक अध्ययनका धेरै विषयमध्ये यो युवाहरुमाझ आकर्षण बढेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले दाबी गरेका छन् । अन्य जुनसुकै विषयको मूल विद्याको श्रोतका रुपमा ज्योतिष विद्या भएको हुदा यसको महत्व र आकर्षण बढेको उनीहरुको दाबी गरेका हुन् ।
हिन्दु धर्मावलम्बीहरुले मान्ने आसौच, ज्योतिषशास्त्र र वास्तुशास्त्रका विषयमा देखिएका विविध अन्यौलतालाई चिर्न भन्दै बुटवलमा पहिलोपटक धर्म, ज्योतिष तथा वास्तु सम्मेलन २०८० मा बोल्ने वक्ताहरुले सो कुरा जोड दिएका हुन् । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी पुजा सामग्री भण्डार सहआयोजनामा शुक्रबार र शनिबार दुई दिने सम्मेलन चल्नेछ ।
कार्यक्रमको उद्घाटन गर्दै नयाँ गाउँ मुक्तिनाथ धामका संरक्षक ब्रह्मनिष्ठ सन्तशिरोमणी १००८ स्वामी लोकानन्द महाराजले ज्ञानको सागरमा दर्शन र स्नान हुने अवसरका रुपमा कार्यक्रम महत्वपूर्ण भएको बताए । धर्म सभा आफैमा पूर्ण हुने भन्दै उनले ज्योतिषलाई चिन्न र मनन गर्न ब्यवहारमा लागु गर्न सुझाव दिए । ज्योतिष विद्या महत्वपूर्ण विषय भएको दाबी गर्दै उनले विश्वमा नै यो विद्या अहिले मुख्य आकर्षणको विषय भएको बताए ।
कार्यक्रममा चैतन्य कृष्ण, प्रमुख वक्ता देवमणी भट्टराई, विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष लोकराज पौडेल, समाजसेवी टंक पराजुलीले विश्वमा नै फलित ज्योतिषले मानिसहरुको भूत, वर्तमान र भविष्य बताउने हुँदा त्रिकालदर्शी मानिने दाबी गरे ।
कार्यक्रममा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले आयातित धर्महरु हाम्रो परापुर्वको धर्ममाथि प्रहार गरेको दुःखेसो गरे । जनभाषाका रुपमा हाम्रो बेद र पुराणलाई लैजान नसक्दा पछि परेको उनले बताए । कार्यक्रममा प्रमुख वक्ता देवमणी भट्टराईले ज्योतिष परामर्श केन्द्र वास्तवमा रिसर्च सेन्टर भएको दाबी गरे ।
धर्मशास्त्र अन्तर्गत आशौच परिचय र निर्णयहरु प्रा. डा. देवमणि भट्टराई, ज्योतिश शास्त्र अन्तर्गत बैदेशिक यात्रा उप प्राध्यापक लक्ष्मीप्रसाद बराल तथा वास्तु र जीवनको बारेमा डा. माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
कार्यक्रम निष्कर्ष निकालेर घोषणापत्र समेत जारी गरिने र मुखपत्रका रुपमा पुस्तक प्रकाशन गरिने विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बताए ।
हिन्दु धर्मावलम्बीहरुले मान्ने आशौच, ज्योतिषशास्त्र र वास्तुका विषयमा देखिएका विविध अन्यौलतालाई चिर्ने र निचोड निकाल्ने गरी कार्यक्रम गरिएको नेपाल ज्योतिष परिषद केन्द्रीय सदस्य एवं सम्मेलन ब्यवस्थापक सुन्दर भण्डारीले बताए । कार्यक्रममा ५ सय सहभागी रहेको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)