बुटवल,साउन १४ ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भ्रष्टाचारको विरोधमा कांग्रेस सशक्त भएर लाग्ने बताएका छन् । उनले देशमा भएका सबैप्रकारका काण्डदेखि पछिल्लोपटकको सुन काण्डको समेत जरैदेखि अनुसन्धान नभए कांग्रेसले सरकारका मन्त्रीहरुको राजीनामा माग्ने बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक-एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए ।
‘सरकारको उपस्थिति भन्सार र एयरपोर्टमै राम्रोसित हुन नसके कहाँ हुन्छ, तल्लो तहको मजदुर र कर्मचारीलाई देखाएर दोषी नउम्काइयोस्,‘ उनले भने, ‘नत्र हाम्रा अर्थमन्त्रीको पनि राजीनामा माग्छौं ,गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’
नेता पौडेलले कांग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए । सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे ।
नेता पौडेलले संघीयता बोझिलो र खर्चिलो हुँदै गएको बताउँदै अब संघ र प्रदेशमा मन्त्रिपरिषद् र सांसद संख्या घटाउनुपर्ने बताए । संघीयताविरोधीहरु मैलाउन लागेको र आन्तरिक आयले प्रशासनिक खर्चसमेत चलाउन नसक्ने भएकाले विकल्प खोज्नुपरेको उनको भनाइ थियो ।
राजनीतिक नेतृत्व मन्त्रिपरिषद् र सांसद संख्या घटाउन राजीभए अनावश्यक बोझिलो कर्मचारीतन्त्र घटाउनसमेत सकिने उनले बताए । ठूलो संख्या भए पनि उपलब्धिमूलक काम नभएको र नागरिकको मन जित्न नसकेकाले कांग्रेसमार्फत संघीयतालाई छरितो बनाउन राजनीतिक बहस चलाउनुपर्ने उनको भनाइ थियो ।
कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पौडेलले कांग्रेसले छवि सुधारेर राजनीति गर्नुपर्ने बेला आएको बताए ।
पत्रकार सम्मेलन अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)